राजनीति

नेपालमा चीन विरोधी गतिविधि हुँदैन : सभामुख महरा

काठमाडौं- सभामुख कृष्णबहादुर महरा र तिब्बत स्वशासित प्रदेशका कम्युनिष्ट पार्टीका सचिव यु यिंग्जेबीच भेटवार्ता भएको छ। चीन भ्रमणमा रहेका सभामुख महराले ल्हासामा सचिव यु यिंग्जेसँग शिष्टाचार भेटवार्ता गरेका हुन्।

भेटका क्रममा सभामुख कृष्णबहादुर महराले नेपाल–चीन सम्बन्ध निकै पुरानो भएको बताउँदै तिब्बत र नेपालबीचको ऐतिहासिक, साँस्कृतिक, सामाजिक सम्बन्धले नेपाल–चीन सम्बन्ध थप सुदृढ भएको बताए।

‘नेपाल–चीन सम्बन्धको इतिहास आफैमा निकै पुरानो छ, सभामुख महराले भने, ‘त्यसमा तिब्बत र नेपालको ऐतिहासिक, साँस्कृतिक, सामाजिक सम्बन्धले दुई देशबीचको सम्बन्ध मजबुत र प्रगाढ बनाउन थप मद्त पुगेको छ।’

नेपालले लिएको विकास र समृद्धिको लक्ष्यमा चीन सरकारको तर्फबाट सहयोग गर्न आग्रह गरे। ‘नेपालको विकास र समृद्धिका लागि चीनको ठूलो सहयोग रहेको छ’ सभामुख महराले भने, ‘नेपालको विकास र सफलताले चीनलाई पनि सहयोग पुग्नेछ।’

नेपाल एक चीन नीतिप्रति प्रतिबद्ध रहेको उल्लेख गर्दै सभामुख महराले नेपालमा कुनै पनि चीनविरोधी गतिविधि नहुने बताए।

नेपालमा लामो राजनीतिक संघर्षपछि शान्ति, स्थिरता र स्थायित्वतर्फ देश अघि बढिरहेको भन्दै सभामुख महराले नयाँ संविधान कार्यान्वयनको चरणमा रहेको बताए। आफूहरुले संघीय शासन प्रणालीको भर्खरै अभ्यास गरिरहेको भन्दै महराले संघीय पद्धति र प्रक्रियाको लामो अभ्यास गरिरहेको चीनबाट आफूहरुले धेरै कुरा सिक्ने बताए।

प्रकाशित: २३ भाद्र २०७५ ०५:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App