राजनीति

प्रहरीले दिलीपलाई यातना दिएको परिवारको दाबी

उल्टाखाम(कञ्चनपुर)- निर्मला पन्तको हत्यामा प्रहरीद्वारा दोषी भनिएका भीमदत्त नगरपालिका १९ का ४१ वर्षीय दिलीप बिष्टलाई प्रहरीले चरम यातना दिएको उनका परिवारले बताएका छन् । शारीरिक र मानसिक यातना दिएर थप मानसिक सन्तुलन बिगार्ने काम भइरहेको उनका दाजु खड्कसिंह बिष्टले बताएका छन ।‘मानसिक सन्तुलत ठिक नभएको मेरो भाइलाई याताना दिएर राखेको छ,’ उनले भने, ‘मेरो भाइलाई मानवअधिकारको ठाडो उल्लंघन हुनेगरी दिइराखिएको यातनाको अवाज उठाइदिन मानव अधिकारवादी, पत्रकार सबैमा आग्रह गरेको छु ।’ दिलीपसिंह बिष्टलाई मानसिक सन्तुलनको जाँच गर्न भनेर गत साताको शुक्रबार काठमाडाैं शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको थियो।

शिक्षण अस्पतालको सुनसान कोठामा २४ सै घन्टा हत्कडी लगाएर राखिएको उनले बताए । ‘हत्कडीले हातमा पूरै निलडाम छ’उनले भने, ‘अस्पतालमा उपचार गराउने बेला हत्कडी लगाउनुको अर्थ के हो ?’ मंगलवार अस्पतालमा उनलाई भेट्न गएकी भतिजी रितु बिष्टले २४ सै घन्टा हत्कडी लगाउने गरेको र धेरै यातना दिएको बताएकी छन् । ‘पहिले जस्तो बोल्न पनि सकिराख्नु भएको थिएन, मैले रुपैयाँ दिँदा डराएर लिनुभएन,’उनले भनिन् । छातीमा पनि निलडाम रहेको उनले बताइन् । केही लेखेको पत्र दिलीपले भतिजी रितुलाई दिन खोजेका थिए । ‘मलाई केही लेखेको पत्र खल्तीबाट निकालेर दिन लागेका थिए, प्रहरीले दिन दिएन ।’ दाजु खड्कसिंह भाइले निर्दोष हु भनेर लेखेको पत्र दिन खाजेकाले प्रहरीले दिन नदिएको बताउँछन् ।

‘अस्पतालमा प्रहरीले ड्युटी गर्नुप-यो, उपचार गराउन लगिएको भनिएकालाई हत्कडी लगाएर किन याताना दिनुप¥यो,’ उनी भन्छन्, ‘काठमाडांै लगेको पनि परिवारलाई जानकारी दिइएन ।’ मानसिक यातना पनि दिइराखिएको उनले बताए । जिल्ला प्रहरी कार्यालय कञ्चनपुरमा भेट्दा मैले निर्मलाको हत्या गरेको होइन, जबरजस्ती भन्न लगाइरहेका छन् भनेर भाइले भनेको उनले बताए ।

साउन १० गते साथी रोशनी बमको घर गएका बेला हराएर दोस्रो दिन उखुबारीमा बलत्कार गरेर हत्या गरिएको अवस्थामा फेला परेपछि सुरु देखि नै अनुसन्धानमा लापरबाही गरेको प्रहरीले भदौ ४ गते दिलीपसिंह बिष्टलाई दोषी भनेर सार्वजनिक गरेको थियो । हराएकै दिन खोजी गर्न इन्कार गरेको प्रहरीले स्थानीयको आग्रह र दबाब हुँदाहुँदै पनि बम दिदीबहिनीलाई पनि नियन्त्रणमा लिएर अनुसन्धान गरेको थिएन । दिलीपलाई लुगा फुकालेर महिलालाई गोप्य अंग देखाउने, बलत्कार गर्न प्रयास गर्नेलगायतका झुठो अरोप लगाएर विवरण सार्वजनिक गरेपछि प्रहरीको भूमिकामा स्थानीयले थप शंका गरेका थिए । २५ दिनपछि कमिजको टुक्रा र कण्डमको खोल भेट्टाइएको भनेर निर्मलाका बुवालाई लगेर देखाउनुले स्थानीय थप आक्रोशित भएका थिए ।

मानसिक सन्तुलन गुमाएका दिलीपलाई दोषी करार गरेर वास्तविक दोषी बचाउन खाजेको भन्दै आक्रोशित स्थानीयले भदौ ५ गतेदेखि आन्दोलन चर्काएका थिए । प्रहरीले गोली चलाउदा १७ वर्षीय शनी खुनाको ज्यान गयो भने धेरै घाइते भएका थिए ।

आन्दोलन हिंसात्मक भएपछि भदौ ७ गते गृहमन्त्रालयले प्रमुख जिल्ला अधिकारी, एसपी र डिएसपी लाई बदलेर नयाँ टिम पठाएपछि शुन्यवाट अनुसन्धान सुरु गरिएको भनिए पनि दिलीप बिष्टमाथिको अनुसन्धान पनि जारी राखेको छ । दिलीप बिष्टले अदालतमा आफूले निर्मलाको हत्या नगरेको बयान दिएका छन । प्रहरीले भने हत्या गरेको भनेर स्वीकारेको भिडियो बनाएको श्रोतले बताएको छ । नयाँ प्रहरी टोलीले अनुसन्धान थालेको डेढ साता हुदाँ पनि नयाँ तथ्य खुल्न सकेको छैन ।

प्रधानमन्त्रीको पहलमा एसएसपी ठाकुरप्रसाद ज्ञवालीको नेतृत्वमा सिआइबीको अर्को टोली महेन्द्रनगर पुगेको छ । गृह मन्त्रालयका सहसचिव हरि प्रसाद मैनालीको नेतृत्वको उच्चस्तरिय छानबिन समितिले छानबिन गरिरहेको छ । बिभिन्न कुरालाई केलाउदै गहन रुपमा छानविन गरिरहेको मैनालीले बताएका छन । छानविनका वारेमा उनले केही कुरा खुलाएका छैनन् । एसपी बिष्टका छोराको साउन १० गते नै जन्म दिन रहेको स्थानीयले बताएका छन । संयोजक मैनालीले शंकास्पद र जोडिएका सबैलाई छानविन गरिरहेको बताएका छन । यो समितिलाई १५ दिनको म्याद दिइएको छ । बम दिदीबहिनीले सरकारी वकिल कार्यालयमा आफ्नौ संलग्नता इन्कार गरेका छन । निर्मला पन्तको हत्याको अहिलेसम्म कुनै तथ्य नुखुल्नु र दिलीपसिंह बिष्टलाई यातना दिइनुले प्रहरीले उनलाई नै दोषी देखाउँन्छ कि भनेर स्थानीय शसंकित भएका छन् ।

प्रकाशित: २० भाद्र २०७५ ०१:३८ बुधबार

निर्मला_पन्त हत्या यातना