राजनीति

चिकित्सक संघलाई वार्तामा आउन आह्वान

काठमाडौं– स्वास्थ्य राज्यमन्त्री डा. सुरेन्द्र यादवले चिकित्सक तथा स्वास्थ्यकर्मीहरु आफूहरुसँग कुनै छलफलनै नगरी आन्दोलनमा उत्रिएकोमा दुःखेसो पोखेका छन्। 

आइतबार रिपोर्टर्स क्लबले आयोजना गरेको साक्षात्कारमा बोल्दै मन्त्री यादवले भने, ‘चिकित्सकहरुको माग भनेको त स्वास्थ्य मन्त्रालयसँग प्रत्यक्ष असर पर्ने कुरा हो, उहाँहरुले हामीसँग छलफल गर्नुपर्ने थियो। तर, त्यसो गर्नुभएन्। हामीले नेपाल चिकित्सक संघका अध्यक्षलाई वार्ता तथा छलफलको लागि पनि आह्वान गरेका थियौं। तर, उहाँ छलफलमा आउनुभएन्।’

उनले आजबाट आन्दोलनमा उत्रिएका चिकित्सकहरुलाई तत्काल आन्दोलन फिर्ता गरी वार्ता तथा छलफलमा आउन आग्रह समेत गरे। उनले भने, ‘चिकित्सकहरुले आन्दोलन फिर्ता लिनुपर्छ। हामी उहाँहरुसँग वार्ता तथा छलफलको लागि सहजीकरण गर्न तयार छौं।’

चिकित्सकहरुले अघि सारेका माग बमोजिम कानुनमा त्रुटि भए त्यसलाई सच्याउन पनिसरकार तयार रहेको मन्त्री यादवको भनाई छ। 

उनले भने, ‘उहाँहरुले अहिले आन्दोलन नै गर्नुपर्ने अवस्था थिएन। मन्त्रालयले अहिले जनस्वास्थ्य सेवा सम्बन्धमा व्यवस्था गर्न विद्येयक बनाएको छ। यदि उहाँहरुले यो विद्येयक हेरेको भए आन्दोलनमा जानु हुनेथिएन्। विद्येयकमा प्रस्टसँग कसुर र सजायको बारेमा लेखिएको छ। विद्येयकको ४७ नम्बरमा कसुरको बारेमा लेखिएको छ भने ४८ मा सजाय के हुने भन्नेबारे स्पष्ट लेखिएको छ।’ उक्त विद्येयक संसद पेश गरिसकेको पनि उनले जनाए। 

सत्तारुढ दल नेकपाका सांसद कृष्णभक्त पोखरेलले चिकित्सकहरुको समस्या समाधान गर्नको लागि वर्तमान सरकार तयार रहेको बताए। उनले भने, ‘चिकित्सकहरु आन्दोलन छोडेर वार्तामा आउनुपर्छ। उहाँहरुको समस्या सुल्झाउन सरकार र सदन दुवै तयार छ।’

प्रकाशित: १७ भाद्र २०७५ १२:२३ आइतबार

चिकित्सक_संघ अान्दाेलन वार्ता