राजनीति

राज्यबाट धेरै बेपत्ता, पीडित असन्तुष्ट

काठमाडौं - सशस्त्र द्वन्द्वका क्रममा राज्यपक्षबाट धेरै व्यक्ति बेपत्ता पारिएका छन्। बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा परेका उजुरीका आधारमा ८५ प्रतिशत व्यक्ति राज्यले बेपत्ता पारेको हो। राज्यबाटै धेरै व्यक्ति बेपत्ता पारिएकाले तत्कालीन समयका देशका उच्चपदस्थ व्यक्तिहरू अनुसन्धानमा तानिने भएकाले राज्यले ध्यान नदिएको आयोगको दाबी छ।

आयोगका प्रवक्ता विष्णु पाठकका अनुसार उजुरीमध्ये ८५ प्रतिशत राज्यबाट र १५ प्रतिशत विद्रोही पक्षबाट बेपत्ता पारिएका घटना दर्ता भएका छन्। ‘द्वन्द्वको समयमा माथिल्लो तहका व्यक्ति पर्ने भएकाले आफू फस्ने गरी काम नहोस् भन्ने धारणाका कारण काममा ढिलाइ भएको छ,’ प्रवक्ता पाठकले भने, ‘आयोगमा काम गर्ने अधिकारीलाई देखाएर आफू बच्न खोजिँदैछ ।’ २०५२ साल फागुनदेखि २०६३ मंसिरसम्म सत्तामा आसीन प्रधानमन्त्री, गृहमन्त्री, रक्षामन्त्री, विद्रोही पक्षका नेता, प्रहरी, सेनाका प्रमुख, प्रमुख जिल्ला अधिकारी सबै उजुरीको किटानीमा छन्।

पीडितका माग र चाहनाबमोजिम आयोगले काम गर्न नसक्नुलाई स्वीकार गर्दै पाठककले केही दोष राज्यलाई पनि दिन्छन्। राज्यले व्यक्ति बेपत्ता पार्ने कुरालाई अपराधका रूपमा स्वीकार नगरिदिँदा काममा ढिलाइ भएको उनको दाबी छ। आयोगले २०७२ साल माघ १७ मा व्यक्ति बेपत्ता पार्ने कुरालाई अपराधीकरण गर्नेगरी मस्यौदा सरकारलाई बुझाएको थियो। तर, अहिलेसम्म त्यो आउन नसकेको प्रवक्ता पाठकले बताए।

पीडितहरूले आयोगले काम गर्न नसकेको गुनासो गर्छन् भने आयोगले राज्यले समयमै स्रोतसाधन नदिँदा काममा बाधा पुगेको बताउँदै आएको छ। कानुनको कमी, बजेट, दक्ष मानवस्रोत अभावका कारण आयोगले छिटो काम गर्न नसकेको जवाफ दिने गरिएको छ। पीडितहरूले बेपत्ता पार्नमा संलग्नको किटानीसहितको उजुरी गरेका छन्। किटानीसहितको उजुरी गर्दा पनि आयोगले काम गर्न नसकेको पीडितको गुनासो छ।

बाँकेकी चन्द्रकला उप्रेतीका पतिलाई कहाँ लगियो, कुन अवस्थामा कसरी राखिएको छ भन्ने कुरा जान्ने आसमै १४ वर्ष बितिसकेको छ। नेपालगन्जको धम्बोजी चोकमा हार्डवेयर पसल गरी बस्ने चन्द्रकलाका पति भूपेन्द्रराज उप्रेतीलाई तत्कालीन सेनाले सोधपुछका लागि भन्दै लगेको थियो। तर, उनी अहिलेसम्म फर्केर आएका छैनन्। भूपेन्द्रलाई २०६० मंसिर ३० देखि बेपत्ता बनाइएको थियो।

‘जुनदेखि मेरा श्रीमान्लाई बेपत्ता बनाइयो, त्यस दिनदेखि हाम्रो मान्छे कहाँ छन् भन्ने प्रश्न बोकेर हिँड्दैछु । अझैसम्म पत्तो पाउन सकिएन,’ चन्द्रकलाले नागरिकसँग टेलिफोनमा भनिन्, ‘साथी सुनिल क्षेत्रीसँग गफ गरिरहेका बेला दुवैलाई लगिएको थियो। सुनिल भने १७ दिनपछि फर्केर आउनुभएको थियो । मेरो श्रीमान् अहिलेसम्म आउनु भएन।’

बेपत्ता पारिएका व्यक्तिको छानबिनका लागि आयोग बनाउन आफूहरूले धेरै संघर्ष गर्नुपरेको उनले बताइन् । ‘आयोगले सत्यतथ्य बाहिर ल्याउँछ भन्ने निकै आस थियो। पीडितको तथ्यांक संकलन गरी पोको पारेर राख्यो। सबै पीडितलाई अन्तरिम राहतसम्म दिन सकेन।’ आयोगले काम गर्न नसकेकाले विघटन भएर पीडितमैत्री आयोग गठन हुनुपर्नेमा उनको जोड छ। बाँकेबाट मात्रै २३० जनाले बेपत्ता परिवारले उजुरी दिएका छन्।

‘जे सत्य हो, थाहा दिनुप-यो’
दिनभरि खेतमा काम गरेर बिस्तारामा सुतिरहेकी धादिङकी गोमा कोइरालालाई तत्कालीन विद्रोही पक्षले सोधपुछका लागि भन्दै लगेको थियो । २०६० पुस २८ मा विद्रोही पक्षले उनलाई लगेको थियो। ३७ वर्षे कोइराला अहिलेसम्म घरमा फर्केर आइनन् । आफ्नी पत्नीका बारेमा सत्यतथ्य जान्नका लागि पति परशुराम कोइरालाले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगमा उजुरी दिए । तर, उनले अहिलेसम्म कुनै खबर पाउन सकेका छैनन्।

‘आयोगको कामबाट सन्तुष्ट छैन । छानबिन आयोग कतिपटक धाइरहेको छु,’ उनले भने, ‘मेरो गाउँमा अहिलेसम्म आयोग आएको छैन । सोधपुछ गर्न नआईकन के छानबिन होला ? आयोगमा दिएको उजुरी त्यसै थन्केर बसेको छ । सास छउन्जेल आस हुन्छ।’

कोइरालाको चाहना पत्नीका विषयमा सत्यतथ्य छानबिन होस् भन्ने छ। उनले भने, ‘दोषीलाई कारबाही होस् । म मरे पनि मेरा छोरानातिले भए पनि सत्य खोज्नेछन्,’ उनले भने, ‘सत्यतथ्य छानबिन होस् ।’ उनले छिटोभन्दा छिटो सत्य बाहिर ल्याउन माग गरे।

बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन आयोगमा देशभरबाट ३ हजार १९७ उजुरी परेका छन् । मनाङ र मुस्ताङबाहेक ७५ वटा जिल्लाबाट आयोगमा उजुरी परेका छन्। आयोगले प्रारम्भिक अनुसन्धान सकेर विस्तृत अनुसन्धान सुरु गरेको बताएको छ। बेपत्ता पारिएका छानबिन आयोगका अनुसार ४३ जिल्लामा पुगेर विस्तृत अनुसन्धानमा थालिएको छ।

सशस्त्र द्वन्द्वको समयमा २८ दिनदेखि २८ महिनासम्म बेपत्ता भएका ३६ जनाको उजुरी परेको छ । बाँकी सबै पूर्ण रूपमा बेपत्ता भएका छन् । आज अन्तर्राष्ट्रिय बेपत्ता दिवस मनाइँदैछ। नेपालमा पनि आयोगले औपचारिक रूपमा चौथोपटक यो दिवस मनाउन लागेको छ। पीडितहरूले पनि बेपत्ता भएका परिवारका सदस्यको सम्झना गरी दिवस मनाउँदैछन्।

प्रकाशित: १४ भाद्र २०७५ ०४:३६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App