राजनीति

महेन्द्रनगरमा अनिश्चितकालीन कर्फ्यू

कञ्चनपुर– जिल्ला प्रशासन कार्यालय कञ्चपुरले सदरमुकाम महेन्द्रनगरमा कर्फ्यू आदेश जारी गरेको छ। निर्मला पन्तका हत्यारालाई कारवाहीको माग राख्दै स्थानीयले गरेको आन्दोलनले उग्र रुप लिएपछि स्थितीलाई नियन्त्रणमा लिन प्रशासनले अर्काे आदेश नभएसम्म शुक्रबार साँझ ८ बजेदेखि कर्फ्यू लगाएको हो। 

प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले स्थानीय प्रशासन ऐन २०२८ को दफा ६क बमोजिम राति ८ बजेदेखि अनिश्चितकालीन कर्फ्यू जारी गरिएको बताएका छन्।

‘आन्दोलनले उग्ररुप लिई सरकारी सार्वजनिक सम्पत्तिमा क्षति पुर्याउन सक्ने तथा अराजक भीडका कारण शान्ति भंग हुन जाने परिस्थिति सिर्जना भएकोले अर्को आदेश नभएसम्म कसैले पनि घर बाहिर ननिस्कन, आवतजावत नगर्न, भेला जम्मा नहुन तथा कुनै प्रकारको गतिविधि नगर्न, नगराउन सर्वसाधारणको जानकारीको लागि कर्फ्यू आदेश जारी गरिएको छ,’ प्रजिअ अधिकारीद्वारा जारी विज्ञप्तिमा भनिएको छ।

प्रकाशित: ८ भाद्र २०७५ १४:४३ शुक्रबार

कर्फ्यू महेन्द्रनगर प्रशासन