राजनीति

‘विश्वविद्यालय शिक्षा सुधार्छु’

काठमाडौं – शिक्षा विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले मुलुकविद्यालयभित्र रहेका भद्रगोल अन्त्य गर्न आफू सक्रिय रहेको बताएका छन्।

नेपाल प्राध्यापक संघका पदाधिकारीसँग मंगलबार आफ्नै कार्यकक्षमा भएको भेटमा शिक्षामन्त्री पोखरेलले भने, ‘भद्रगोल भएका कुनै क्षेत्र छ भने त्यो विश्वविद्यालय नै छ । म मुलुकका सबै विश्वविद्यालयको सुधार र पुनर्गठन प्रक्रियामा छु । त्यसमा प्राध्यापकहरूको महत्वपूर्ण सहयोग आवश्यक छ।’

उनले आफू मन्त्रालय नीति निर्माणका क्रममा विश्वविद्यालयका प्राध्यापकहरूसँग छलफल र अन्तरक्रिया गरेर अघि बढ्न तयार रहेको बताए।

सो अवसरमा संघका पदाधिकारीहरूले विश्वविद्यालयहरूलाई प्राज्ञिक केन्द्रका रूपमा विकास गर्न, विद्यमान ऐनमा रहेका कमीकमजोरी समयानुकूल संशोधन गर्न, अहिले सञ्चालनमा रहेका सबै विश्वविद्यालयलाई केन्द्रीय विश्वविद्यालयका रूपमै राख्न, सैब प्रदेशमा कम्तीमा एउटा विश्वविद्यालय स्थापना गर्न, प्राध्यापकहरूको मर्यादाक्रम कार्यान्वयन गर्न, विश्वविद्यालय र सरकारबीच रहेका असझदारीका अन्त्य गर्न शिक्षामन्त्रीसँग माग गरेको संघका अध्यक्ष रामेश्वर उपाध्यायले जानकारी दिए।

अध्यक्ष उपाध्यायले विश्वविद्यालय र सरकारबीच रहेका असझदारी हटाउन संघ समन्वयकारी भूमिका खेल्न तयार रहेको बताएका थिए।

प्रकाशित: २३ श्रावण २०७५ ०२:४५ बुधबार

#मन्त्री #गिरिराजमणि पोखरेल #विद्यालय