जुम्ला - जुम्ला घटनाबारे कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका उपकुलपति राजेन्द्रराज वाग्लेले मात्रै बोल्ने कार्यकारी परिषद्को बैठकमा निर्णय भए पनि घटनाका बारेमा उनी कुनै प्रतिक्रिया दिने गरेको पाइएको छैन। घटना निकै संवेदनशील भएको र यसको असर दीर्घकालसम्म हुने भन्दै परिषद् बैठकमा उपकुलपति वाग्लेले मात्रै बोल्ने सहमति भएको थियो।
उपकुलपति वाग्ले जुम्ला घटनाको छानबिनप्रति संवेदनशील नभएको स्थानीय बताउँछन। शुक्रबार मोबाइलमा एसएमएस गर्दै वाग्लेले भनेका थिए, ‘म फोनबाट केही भन्दिनँ, रजिस्ट्रार सरसँग सोध्नुहोस्।’ उनको यो एसमएसले पनि उपकुलति कार्यकारी परिषद्मा भएको सहमतिलाई लत्याउँदै गरेको देखिन्छ। प्रतिष्ठानका रजिस्ट्रार विश्वराज काफ्ले कार्यकारी परिषद् बैठकमै जुम्ला घटनाका विषयमा उपकुलपतिबाहेक कसैले बोल्न नपाउने निर्णय भएकाले समस्या भएको बताउँछन्।
उनले भने, ‘कार्यकारी परिषद्मा जुम्ला घटनाबारे उपकुलपतिले मात्रै बोल्ने निर्णय भएको छ, उहाँले पनि म बोल्छु भन्नुभएको थियो। तर, अहिले के भनिरहनु भएको छ, थाहा छैन।’ काफ्लेका अनुसार बैठकमा उपकुलपतिले मात्र बोल्ने सहमति नभएको भए जुम्ला घटनाका विषयमा पदाधिकारी आआफ्ना किसिमले सूचना दिन सक्थे। ‘उपकुलपति वाग्लेले कसरी भन्नुभएको हो, किन सूचना दिन मान्नुभएको छैन, मलाई थाहा छैन,’ काफ्लेले भने, ‘उपकुलपतिले मात्रै बोल्ने कुरामा कार्यकारी परिषद् बैठकमा सबैको एकमत थियो।’
रजिस्ट्रार र उपकुलपतिका अभिव्यक्तिले पदाधिकारी नै छानबिन समिति अनुसन्धान प्रक्रियाबारे प्रस्ट नभएको देखिन्छ। तर, रजिस्ट्रार काफ्ले जुम्ला घटनाको छानबिन मसिनो ढंगबाट हुने बताउँछन्। उनले भने, ‘जुम्ला अस्पतालमा भएको कहालीलाग्दो घटनाबारे छानबिन हुनुपर्छ, यसका लागि छानबिन समितिलाई जस्तोसुकै सहयोग गर्न सक्छौं ।’ छानबिन समितिले भने प्रतिष्ठानले समिति गठन गरेको पत्र पठाएको भए पनि कार्यक्षेत्रका बारेमा उल्लेख नगर्दा अघि बढ्न नसकेको बताएको छ।
उच्चस्तरीय छानबिन समितीका सदस्यसचिव राजु कटुवालले उपकुलपति वाग्ले र रजिस्ट्रार काफ्लेलाई टिओआर लेखेर पठाउन भनिएको बताए। उनले भने, ‘दुवैजनासँग फोन गरेर टिओआर मागिसकेका छाैं, कार्यक्षेत्र निक्र्योल हुनेबित्तिकै अघि बढ्न सहज हुन्छ, नत्र केका आधारमा घटनाको छानबिन गर्ने ।’ प्रतिष्ठान पदाधिकारीबाट टिओआर उपलब्ध गराउन आफै तात्तिएको काफ्लेको भनाइ छ। उनले भने, ‘उपकुलपति र रजिस्ट्रारसँग सम्पर्क गरेर तताइरहेको छु। कार्यकारी परिषद् बैठकमै कार्यक्षेत्रका बारेमा यकिन भएको भए अहिलेसम्म छानबिनको आधा काम सकिन्थ्यो।’
छानबिन समितिलाई उपलब्ध गराउने सबै कागजात उपलब्ध नगराउनु पदाधिकारीको गैरजिम्मेवारीपन भएको टीकाटिप्पणी हुन थालेको छ। छानबिन समिति र अस्पताल घटनाका बारेमा प्रतिष्ठान पदाधिकारी आफै अन्यौलमा भएको जस्तो देखिएको छ। कार्यकारी परिषद्ले टिओआर दिन नसकेकै कारण गठन भएको दुई साता बित्न लाग्दासमेत छानबिन प्रक्रिया अघि बढ्न सकेको छैन।
कार्यकारी परिषद्को बैठकको अध्यक्षता उपकुलपतिले गर्ने व्यवस्था छ । यसमा रजिस्ट्रार सदस्यसचिव रहने र सदस्यहरूमा अस्पताल निर्देशक, शिक्षाध्यक्ष, डिन र शिक्षक प्रतिनिधि एकजना रहने व्यवस्था छ। प्रतिष्ठानका कर्मचारीले पदाधिकारी उम्किनका लागि छानबिन समिति गठन गरेको आरोप लगाउँदै आएका छन्। उनीहरूले अहिलेसम्म पनि छानबिन समितिलाई पूर्ण अधिकारक्षेत्र नतोकेर गैरजिम्मेवारी काम गरेको बताएका हुन्। उनीहरूले अस्पतालभित्र र बाहिरको मात्रै छानबिन नभई डा. गोविन्द केसीको अनशन सुरु भएदेखिको छानबिनका लागि माग गरेका छन्। ‘डा. केसीको मनसाय जुम्ला अस्पतालको तोडफोड गराउने नभई अस्पतालका शैक्षिक कार्यक्रम प्रभावकारी बनाउनेतर्फ लक्षित छ,’ प्रतिष्ठानको कर्मचारी कल्याणकारी समाजका अध्यक्ष रामाकान्त उपाध्यायले भने, ‘तर, विद्यार्थी, कर्मचारी र चिकित्सक परिचालन गरेर ठूलो घटना निम्त्याउने सबै कारबाहीको भागीदार हुनुपर्छ।’
छानबिनका नाममा घटनालाई त्यतिकै मत्थर पार्न खोजिएको उनले दाबी गरे। ‘प्रतिष्ठानको केन्द्रीय कार्यालय जुम्लामै बसेर छानबिन गर्नुपर्छ, दोषी किटान गरेर कारबाहीको दायरामा ल्याउनुपर्छ, पदाधिकारी उम्कन मिल्दैन।’ घटनाबारे गम्भीर छानबिन माग गर्दा उल्दै कारबाही गर्ने धम्की आइरहेको समेत उनले बताए। ‘अस्पतालजस्तो संवेदनशील क्षेत्रमा भइरहेको कहालीलाग्दो घटनाको छानबिन कमजोर हुनु हुँदैन, पदाधिकारी जिम्मेवार बन्नैपर्छ, नत्र दोषीलाई कारबाही नहुँदासम्म कर्मचारीले अडान छाड्दैनन्।’
चिकित्सा शिक्षा सुधारको मागसहित प्राध्यापक डा. केसी जुम्लामा सत्याग्रह बसिरहेका बेला सरकारले बलजफ्ती काठमाडौं लैजान खोज्दा अस्पतालमा ठूलो दुर्घटना भएको थियो। घटनाबाट अस्पतालको झन्डै ८ लाख रुपैयाँबराबरको भौतिक संरचनामा क्षति पुगेको छ। घटनामा प्रहरीको लाठी प्रहारबाट चिकित्सक, नर्स, विद्यार्थी घाइते भएका थिए। घटनामा प्रहरीसमेत घाइते भएका थिए।
प्रकाशित: २० श्रावण २०७५ ०१:४४ आइतबार