काठमाडौं– उत्तरी छिमेकी चीनका गैरसरकारी संस्था (एनजीओ) पहिलोपटक नेपाल भित्रिएका छन्। शिक्षा, स्वास्थ्य, विपद व्यवस्थापन, स्वरोजगार, सीपमा आधारित तालिम, सामुदायिक विकास लगायत क्षेत्रमा लगानी गर्ने उद्देश्यसहित चीनका ३२ वटा एनजीओ विधिवत रुपमा नेपाल भित्रिएका हुन्।
आइतबार समाज कल्याण परिषद् र चाइना एनजीओ नेटवर्क फर इन्टरनेशनल एक्सचेञ्जबीच (सिएनआई)बीच समझदारी पत्रमा हस्ताक्षर भएको छ। महिला बालबालिका तथा समाज कल्याण मन्त्री थममाया थापा र चीनका उप मन्त्री वाङ याजुनको उपस्थितीमा समाज कल्याण परिषदका सदस्य सचिव डिल्ली प्रसाद भट्ट र (सिएनआई)का सदस्य सचिव जु रुईले तीन वर्षे समझदारी पत्रमा हस्ताक्षर गरे।
उनले युवा, महिला बालबालिका तथा जनस्तरमा शिक्षा, स्वास्थ्य, रोजगारी लगायत सबै क्षेत्रमा सहकार्य गर्ने बताउँदै एनजीओमा ५० लाख डलरको लगानी भएको बताए। भर्खरै नेपालका प्रधानमन्त्रीले चीन भ्रमण गरेर मित्रता बलियो बनाएको भन्दै उनले द्विपक्षीय सहयोगले जनस्तरमा सम्बन्ध प्रगाढ हुने विश्वास व्यक्त गरे।
यो सम्झौताले सरकार मात्र होइन जनताको बीचमा एकआपसमा विश्वासको सम्बन्ध कायम गर्न एनजीओ र आइएनजीओले भुमिका खेल्ने उनको भनाई छ। ‘दुई देशको जनताको बीचमा फराकिलो ढंगले सम्बन्ध विस्तार हुनेछ’, उनले भनिन्।
एनजीओको स्वास्थ्य, शिक्षा, स्वरोजगार कार्यक्रमबाट नेपालीको जीवनस्तरमा मद्दत पुग्ने बताउँदै मन्त्री थापाले देशलाई समृद्ध बनाउने अभियानमा सघाउने पुग्ने विश्वास गरिन्। उनले चिनियाँ एनजीओसँग सहकार्य गरेर अघि बढ्ने विश्वास समेत दिलाइन। ‘जनताबीको सम्बन्ध अझै गाढा बनोस’, उनले भनिन्।
चिनियाँ उपमन्त्रीको प्रधानमन्त्रीसँग भेट
भेटमा मन्त्री वाङले नेपाल–चीन सम्बन्ध विस्तारका लागि अहिले एकदमै उपयुक्त समय भएको बताउँदै गत महिना प्रधानमन्त्री ओलीको चीन भ्रमणका बेला नेपालको विकास र नेपाल–चीन सम्बन्धका थुप्रै आयामका बारेमा सहमति भएकाले त्यसलाई कार्यान्वयन गर्नका लागि चीन आतुर रहेको जानकारी गराए। ‘सरकार सरकारबीच र जनस्तरबाट पनि नेपाल र चीनबीचको सम्बन्ध समुधुर बनाएर दुई देशको हितमा त्यसलाई उपयोग गर्नुपर्छ,’ वाङले भने।
प्रकाशित: १३ श्रावण २०७५ १५:४६ आइतबार