राजनीति

प्रसाईंविरुद्ध मानव अधिकार र महिला आयोगमा उजुरी

काठमाडौं– झापास्थित बि एण्ड सी अस्पतालका प्रबन्ध निर्देशक दुर्गा प्रसाईं विरुद्ध राष्ट्रिय मानव अधिकार आयोगमा उजुरी परेको छ। 

बंगलादेशमा मेडिकल शिक्षा अध्ययन गर्ने छात्राहरूका बारेमा अपमानजनक अभिव्यक्ति दिएका प्रसाईंलाई कानुनी कारवाहीको दायरामा ल्याउन माग गर्दै तीन महिलाले आयोगमा उजुरी दिएका हुन्। जमुना सुवेदी, अम्बिका कार्की र राज्यलक्ष्मी श्रेष्ठले प्रसाईको अभिब्यक्तिले नेपाली महिलाको मर्यादामाथि प्रहार गरेको भन्दै गाली व्यइज्जति ऐन २०१६ र सार्वजनिक अपराध र सजाय ऐनबमोजिम कारबाहीको माग गर्दै उजुरी गरेका हुन्।

यस्तै, प्रसाईंले पत्रकार सम्मेलनमै ‘चिकित्सा शिक्षामा उच्च शिक्षा हासिल गर्न विदेश जाने छात्राहरूलाई त्यहाँका प्रोफेसरले करणी गरी राख्ने’ भन्ने गलत अभिव्यक्ति दिएको भन्दै  उनलार्ई कारबाहीको माग गर्दै नेपाल विद्यार्थी संघले पनि राष्ट्रिय महिला आयोगमा उजुरी दिएको छ।  

महिलाहरूको अस्मितामा धावा बोल्नेलाई कारबाही गर्नुपर्ने माग गर्दै नेविसंघकी केन्द्रीय सदस्य जानुका पन्तले बिहीबार आयोगमा उजुरी दिएकी हुन्। 

प्रकाशित: १० श्रावण २०७५ ११:२९ बिहीबार

प्रसाईंविरुद्ध मानव अधिकार महिला आयोगमा उजुरी