राजनीति

निजी मेडिकल कलेज राष्ट्रियकरण गर्न माग

काठमाडौं– सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (ने क पा) निकट भातृ संगठनहरुले हाल सञ्चालनमा रहेका निजी मेडिकल कलेजलाई राष्ट्रियकरण गर्न माग गरेका छन्।

संसदमा पेश भएको चिकित्सा चिकित्सा शिक्षा विद्येयक र डा. गोविन्द केसीको आन्दोलनको बीचको समस्या समाधानको सेतुको रुपमा निजी मेडिकल कलेजको राष्ट्रियकरण गर्नुपर्ने माग राखेको हो।

नेकपानिकट युवा संघ, योङ कम्युनिष्ट लिग, अखिल र अखिल क्रान्तिकारीको संयुक्त बैठकले संविधानलाई अनुसार जानलाई राष्ट्रियकरण उत्तम विकल्प भएको जनाएका छन्। ‘नेपालको संविधानको प्रस्तावनामा उल्लेखित समाजवाद उन्मुख व्यवस्थाको मर्म एवम शिक्षा र स्वास्थ्यलाई नागरिकको मौलिक हकको रुपमा गरिएको संवैधानिक ग्यारेन्टीको प्रावधान अनुसार निजी क्षेत्रबाट सञ्चालित सम्पूर्ण मेडिकल कलेजलाई अविलम्ब राष्ट्रियकरण वा गैर नाफामुखी ट्रष्टमा रुपान्तरण गरियोस।’ सबै ७ प्रदेशमा सुविधासम्पन्न शिक्षण अस्पताल हुनुपर्ने ४ संगठनको माग छ।

चिकित्सा शिक्षाभित्रको छात्रवृतिलाई न्युन आय, गरिब र लक्षित समुदाय आधारित बनाई पारदर्शी ढंगले वितरण गर्नुपर्ने, अस्पतालमा बन्द हड्ताल पूर्ण रुपमा प्रतिबन्ध लगाउनु पर्ने माग पनि अघि सारेको छ। ‘जनताले तिरेको करबाट तलब भत्ता खाई स्वास्थ्य जस्तो संवेदनशील पेशामा रहेर जनतालाई निर्वाध सेवा नदिने अधिकारीलाई तत्काल कारवाही गरियोस’ भन्ने माग पनि अघि सारिएको छ।

चिकित्सा शिक्षामा देखिएका समस्यालाई सम्बोधन गर्न उच्चस्तरीय चिकित्सा शिक्षा आयोग गठन गर्नुपर्ने र सो सम्बन्धमा बहस व्यवस्थापिका संसदभित्र गराउन पनि माग गरेको छ। ‘डा. गोविन्द केसीको आन्दोलमा भएको राजनीतिक घुसपैठ, अराजकता र दण्डहिनताको तत्काल अन्त्य गरियोस’ जारी विज्ञप्तिमा भनिएको छ, ‘बिभिन्न प्रलोभनमा पारी मुलुकबाहिर विद्यार्थी बेच्न पल्किएका निजी इन्स्टिच्युटलाई छानविन गरी कडा कारवाही गरियोस।’ डा. केसी अनसनमा रहेको २३ औं दिनमा नेकपाका चार भातृ संगठनले सो माग अघि सारेको हो।

प्रकाशित: ६ श्रावण २०७५ १०:४४ आइतबार

निजी मेडिकल कलेज राष्ट्रियकरण गर्न माग