राजनीति

डा. केसीले फेरि मानेनन् जुम्ला छोड्न

जुम्ला– जुम्लामा अनशनरत डा. गोविन्द केसीलाई काठमाडौँ लैजाने सरकारको प्रयास फेरी बिफल बनेको छ। सरकारले बुधवार हेलिकोप्टरको ब्यवस्था गरेर डा. केसीलाई जुम्लाबाट काठमाडौँ लैजाने अन्तिम तयारी गरेको थियो। बुधवार दिउँसो ३ बजे डा. केसीलाई लैजान काठमाडौँबाट हेलिकोप्टर उड्ने तयारी गरिएको थियो। तर डा. केसीले जुम्ला अनशन नछोड्ने पुरानै अडान दोहोर्याएपछि सरकारको यो रणनीति बिफल बनेको छ। डा. केसीले आफ्ना माग कार्यान्वयनलाई पहिलो तथा अन्तिम सर्तका रुपमा प्रस्तुत गर्दै अन्यथा जुम्लामै मर्न तयार रहेको बताउँदै आएका छन्। 

सरकारले नेपाल चिकित्सकसंघका पदाधिकारीहरुको समन्वयमा डा. केसीलाई काठमाडौं लैजाने तयारी गरेको थियो। यसका लागि चिकित्सक संघका पदाधिकारीहरु सहित जुम्ला आउन आग्रह गरिएको थियो। तर चिकित्सक संघले डा. केसीसंग समन्वय गर्न खोजेपनि उनले नमानेपछि चिकित्सक संघले जुम्ला यात्रा स्थगित गरेको थियो। ‘प्रधानमन्त्रीका नीजि चिकित्सकले डा. केसीलाई काठमाडौँमा ल्याउनु पर्ने र त्यसका लागि चिकित्सक संघका तर्फबाट मलाई पनि जुम्ला जानु भन्नु भएको थियो,’ नेपाल चिकित्सक संघका कोषाध्यक्ष डा. प्रकाश बुढाथोकीले भने ‘यो प्रस्ताव आएपछि मैले डा. केसीसंग समन्वय गर्दा उहाँका सहयोगीले काठमाडौं जान नमान्ने बताएपछि हामी रोकियौं।’ 

यसअघि पनि डा. केसीको स्वास्थ्य अवस्था बुझ्न आएका चिकित्सक संघका कोषाध्यक्ष बुढाथोकीले डा. केसीलाई काठमाडौँ जान आग्रह गर्दा समेत केसीले मानेका थिएनन्। ‘म पहिले पनि डा. केसीको अवस्था बारे बुझेर काठमाडौँ फर्किएको छु, उहाँले मान्नु हुन्न, त्यसैले घुम्नका लागि मात्रै जुम्ला जाने कुरा हुन्न भन्ने जवाफ सरकारलाई दिएको छु,’ उनले भने। हाल डा. केसीसंगै रहेका उनका सहयोगी जीवन क्षेत्रीले डा. केसीसंग भेटघाटका लागि जुम्ला आउन सकिने भएपनि उनलाई लैजाने प्रयास सफल बन्न नसक्ने जवाफ दिएका थिए। ‘सर (डा. केसी) लाई काठमाडौँ लैजानका लागि म कहाँ प्रस्ताव आएको थियो,’ डा. क्षेत्रीले भने ‘सर कुनै पनि हालतमा काठमाडौँ जान मान्नु हुन्न भनेर जवाफ दिएको छु।’

यसैबीच सरकारले डा. केसी संग वार्ता भन्दा पनि डा. केसीलाई जुम्लाबाट काठमाडौँ लैजान उद्धत देखिएको छ। डा. केसीको अनशनको १२ औं दिन बितिसक्दा समेत सरकारले वार्ता समिति निर्माण गर्न नसकेको डा. बुढाथोकीले जानकारी दिए। ‘सरकारको प्रयास खाली डा. केसीलाई कसरी काठमाडौं ल्याउने भन्नेमा मात्रै छ,’ उनले भने, ‘अहिलेसम्म सरकारले डा. केसीसंग वार्ता गर्नका लागि समिति निर्माण गर्न सकेको छैन, अनि कसरी वार्ता हुन्छ?’ उनले डा. केसीका तर्फबाट भने वार्ताका लागि तयार रहेको आफूले जानकारी पाएको पनि बताए।

प्रकाशित: २७ असार २०७५ ११:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App