राजनीति

राजदूत भट्टराईलाई फिर्ता बोलाइयो

फाइल फाेटाे

काठमाडौं – सरकारले न्युर्योकस्थित राष्ट्रसंघीय नियोगका लागि नेपाली राजदूत तथा स्थायी प्रतिनिधि दुर्गाप्रसाद भट्टराईलाई फिर्ता बोलाएको छ।

आइतबार बसेको मन्त्रिपरिषद् बैठकले भट्टराईलाई साउन १५ को समयसीमा तोकेर फिर्ता बोलाएको हो। सरकारका प्रवक्तासमेत रहेका सूचना तथा सञ्चारमन्त्री गोकुलप्रसाद बास्कोटाले यस्तो जानकारी दिए।

राजदूत भट्टराईको समयसीमा यसअघि नै सकिएको भए पनि अर्को व्यक्ति सो स्थानमा नगएका कारण उनी राष्ट्रसंघमा सोही जिम्मेवारीमा बसेका थिए। भट्टराईको म्याद गत अगस्टमा सकिएको थियो।

मन्त्री बास्कोटाले राजदूत नियुक्ति मापदण्डसम्बन्धी व्यवस्था पनि बैठकले पारित गरेको जानकारी दिए।

बैठकले नेपाल र साउदी अरेबियाबीच सूचना प्रविधि, पर्यटन, ऊर्जा, खेलकुद क्षेत्रमा आपसी सहयोग बढाउने सम्झौतामा हस्ताक्षर गर्ने निर्णय पनि गरेको छ। त्यस्तै जन्म, मृत्युजस्ता घटना दर्तासम्बन्धी दोस्रो संशोधन नियमावली पनि बैठकबाट स्वीकृत गरेको छ। त्यस्तै स्थानीय निकाय वित्त आयोग खारेज गरी त्यसको सम्पत्ति राष्ट्रिय वित्त आयोगमा हस्तान्तरण गर्ने निर्णय पनि बैठकले गरेको छ।

प्रकाशित: २५ असार २०७५ ०२:२२ सोमबार

राजदूत भट्टराईलाई बोलाइयो