मकवानपुर– नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिस्ट शासनमा लोकतन्त्र कहिल्यै सुरक्षित हुन नसक्ने बताएका छन्। नेपाली काँग्रेसको जिल्ला सभापतिको राष्ट्रिय भेलाको हेटौंडामा उद्घाटनपछि उनले मुलुकमा कम्युनिस्ट शासनका कारण थप संकटमा परेको दाबी गरे।
‘कम्युनिष्टको हातमा लोकतन्त्र कदापी सुरक्षित हुन सक्दैन, कम्युनिष्ट लोकतन्त्रवादी हुन सक्दछन् भन्ने भ्रम बाघ शाकाहारी हुन्छ भन्ने जत्तिकै हो’, उनले भने, ‘सरकार सर्वसत्तावादी चरित्रतर्फ उन्मुख छ, गणतन्त्र, लोकतन्त्र र संघीयता जोखिममा परेका छन्, मूल्यबृद्धिले जनता आक्रान्त छन्।’
कम्युनिस्ट सरकारको व्यवहार भाषणमा संघीयता भएपनि काममा कम्युनिस्टको जनवादी केन्द्रीयतातर्फ उन्मुख भएको दाबी गर्दै उनले प्रधानमन्त्री केपी शर्मा ओलीको राष्ट्रवाद लम्पसारवादमा परिवर्तन भएको जिकिर गरे। ‘यस अवस्थामा संविधानको संरक्षण गर्ने, देशलाई कम्युनिष्टको अधिनायकवादवाट जोगाउने जिम्मेवारी पनि हाम्रो काँधमा आएको छ’, उनले भने।
‘यो संविधानको संरक्षण गरी देशलाई शान्ति र प्रगतिको बाटोमा लैजाने हाम्रो लक्ष्य हो,’ पूर्व प्रधानमन्त्री समेत रहेका देउवाले थपे ‘कांग्रेसले सबै ठाउँमा जिम्मेवार तथा प्रभावकारी प्रतिपक्षको भूमिका निर्वाह गर्नुपर्छ।’
‘पार्टी भित्र साथीहरुबाट केहि असन्तुष्टि अभिव्यक्त हुने गरेका छन्,’ पार्टीभित्र गुटबन्दीबारे नाम नलिई उनले भने ‘कतिपय कुराहरुलाई स्वभाविक रुपमा लिएको छु, तर कतिपय कुरा अतिरञ्जित र अशोभनीय ढंगले पनि उठ्ने गरेका छन्।’ एकताबद्ध, संगठित र व्यवस्थित कांग्रेसले मात्र जिम्मेवारी बहन गर्न सक्ने भन्दै उनले त्यसबारे आफु गम्भीर रहेको र सबै काँग्रेस नेतालाई पनि गम्भीर हुन आग्रह गरे।
पछिल्लो निर्वाचनमा पार्टीको हारको कारणबारे केन्द्रीय कार्यसमितिमा गम्भीर र सुक्ष्म रुपले छलफल भएको खुलासा गर्दै सभापति देउवाले दुई ठूला कम्युनिस्ट पार्टीको चुनावी गठबन्धन हारको प्रमुख कारण देखिएको तर्क गरे। स्थानीय तहको निर्वाचनमा तत्कालिन माओवादीलाई सहयोग गर्ने नीति लिँदा पार्टीभित्र र बाहिरबाट जटिलता समेत देखा परेका नै हुन्’, उनले थपे। चुनावमा कांग्रेसीबाटै अन्तरघात भएकोप्रति आक्रोश पोख्दै देउवाले भने, ‘ठाउँ–ठाउँमा अन्तरघातका गुनासा व्यापक छन्, अन्तरघात पनि पार्टी पराजयको कारण हुन् यस विषयलाई गम्भीरतापूर्वक हेर्न जरुरी छ।’
देशमा संघीयता कार्यान्वयन भईरहेकाले त्यसै अनुरुप पार्टी संरचना तयार गर्न बिधानमा समसामयिक परिवर्तन गर्न आवश्यक रहेको भन्दै सभापति देउवाले पार्टीको विधान संशोधनको विषय पनि सभापति भेलाको एजेण्डाको रुपमा रहेको खुलाए।
पार्टीको विभागहरु गठन र महासमितिको बैठकवाट बिधान संशोधन गर्ने काम चाँडै गरिने बताउँदै उनले भने, ‘हाम्रो पराजय र कम्युनिष्ट पार्टीहरुको एकिकरणले चुनौति थपिएको छ, तर म विचलित भएको छैन।’
‘मैले आगामी निर्वाचनमा नेपाली कांग्रेसलाई पहिलो पार्टी स्थापित गर्ने प्रण गरेको छु,’ लामो समय कांग्रेसको इतिहास र योगदानको चर्चा गरेका उनले नेता–कार्यकर्तालाई आग्रह गर्दै भने ‘यसका लागि सबै साथीहरुलाई एकजुट भई सहयोग गर्न म आह्वान गर्दछु।’
पार्टी एकता मनैबाट हुनुपर्छ : बरिष्ठ नेता पौडेल
‘एकताको आधार र फर्मुला के हो ?,’ प्रतिप्रश्न गर्दै उनले भने ‘तपाई सभापतिहरुले भन्न सक्नुहुन्छ, भन्नुपर्छ, के कारणले बैमनश्य छ, के कारणले हट्छ, तपाईहरु डाक्टरहरु जस्तै हो, तपाईहरुमा त्यो सामथ्र्य छ भन्ने मलाई विश्वास छ।’
कमजोरी सामान्य ढाकछोप गरी हात उठाएर मात्र एकता नहुने भन्दै उनले कांग्रेसको सिद्धान्तप्रति प्रतिबद्धता हुँदै पार्टी एकता हुनुपर्ने बताए । ‘मन मिल्नु प¥यो, दिल मिल्नु प¥यो, भित्रैबाट श्रद्धा हुनुप¥यो एक–अर्काप्रति,’ उनले एकताबारे धारणा राख्दै भने ‘म माथि भएको अन्याय मेटियो भनेर मैले मान्न प¥यो नि, तपाईले पनि मान्नु प¥यो नि।’
कम्युनिस्ट सरकारप्रति आक्रोश पोख्दै नेता पौडेलले कम्युनिस्ट शासन, साम्यवाद, वर्गविहिन समाज हेर्न मन लागेको भन्दै चाँडै ल्याएर देखाउन चुनौती दिए। साम्यवाद र वर्गविहिन समाज निर्माण होइन, घनघोर पक्षपातीपूर्ण समाजको निर्माणको तयारी भइरहेको जिकिर गर्दै उनले कम्युनिस्ट सरकारले कर्मचारीतन्त्र, न्यायलय, संबैधानिक निकाय, मिडियालाई समेत धम्क्याएर त्रास देखाएको बताए।
त्यस्तै, कांग्रेसका उपसभापति विमलेन्द्र निधिले कम्युनिस्ट सरकारबाट सर्वसत्तावादको खतरा बढेर गएको बताए। प्रधानमन्त्री ओलीले अन्य मन्त्रालयको अधिकार खोसेर केन्द्रिकृत गरेको आरोप लगाउँदै उनले सरकारले सय दिनमा सरकारी काम नगरी लोकतन्त्र, संघीयता, समावेशी, संविधानको विरोधमा काम गरेको जिकिर गरे। सरकार सर्वसत्तावादी, तानाशाही बन्दै गएको उल्लेख गर्दै उनले कम्युनिस्टको एजेण्डा बहुदवाद हुनै नसक्ने ठोकुवा गरे। ‘राजनीतिक सिण्डिकेट’ खडा गर्न वर्तमान सरकार लागेको आरोप लगाउँदै उनले कम्यूनिष्ट पार्टी एकता नै शंकास्पद रहेको बताए।
कांग्रेसका महामन्त्री शशांक कोइरालाले कांग्रेस सरकारले गरेका राम्रा कामको प्रचार नगरेका कारण पनि चुनावमा हारेको बताए। पार्टी भित्रको गुट–उपगुटको अन्त्य गरेर अघि बढ्न सकेमात्र कांग्रेसले जनमत पाउने बताउँदै त्यसका लागि नेतृत्वले तत्काल भुमिका खेल्नुपर्ने बताए।
कांग्रेस संसदीय दलका उपनेता विजयकुमार गच्छदारले कम्युनिस्टको एकता हुकुमी र तजविजी शैलीमा परिणत भएको बताए। कम्युनिस्टहरुको २ पार्टी एउटै बनाए पनि २ टाउको(अध्यक्ष) बनाएको व्यङ्ग्य गर्दै उनले कांग्रेस एउटै पार्टी भएपनि पूर्ण एकता नहुनु दुःखद भएको बताए। एकताबद्ध कम्युनिस्ट पार्टी संगठित र साँगठनिक रुपले बलियो रहेको भन्दै उनले पार्टीलाई संगठित र बलियो बनाउन कांग्रेस नेताले एकताका लागि संकल्प गर्नुपर्ने बताए। जिल्ला सभापतिको हेटौंडा भेलाबाट जिल्ला–जिल्ला फर्किदा एकताको सन्देश लिएर जाने वातावरण बनाईनुपर्नेमा उनले नेतृत्व र कार्यकर्तालाई खबरदारी गरे।
देशैभरका सभापति हेटौंडामा
प्रकाशित: ५ असार २०७५ १५:०९ मंगलबार