राजनीति

चीन भ्रमणमा लिपुलेकबारे कुरा उठाउन कांग्रेसको माग

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो चीन भ्रमणको क्रममा नेपालको लिपुलेकको बारेमा कुरा उठाउन सक्नुपर्ने धारणा राखेका छन्। 

विहीबार रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कारमा उनले भने, ‘चीनले नेपालको अहित हुने काम गर्न सक्दैन, त्यसैले प्रधानमन्त्रीले आफ्नो भ्रमणमा लिपुलेकबारे कुरा राख्नुपर्छ, अनिमात्रै भ्रमण सफल भएको मान्न सकिन्छ।’

तत्कालिन प्रधानमन्त्री विपी चीन भ्रमणमा जाँदा उनले माओसँग चीनबाट नेपाल जोड्ने दुईवटा सडक माँगेको स्मरण सुनाउँदै भण्डारीले भने, ‘यो कुरा भारतीय पक्षलाई मन परेन, पछि राजासँग मिलेर विपीको सरकार नै ढालियो, विपीसँग दुई तिहाई बहमुत हुँदापनि उहाँको सरकार १८ महिना पनि टिक्न दिइएन्।’

अहिले प्रधानमन्त्री ओलीले चीन भ्रमणमा जाँदा अनुदानमा चिनियाँ रेल नेपाल ल्याउन पहल गर्नुपर्ने उनले सुझाए। उनले भने, ‘यदि चीनले नेपालमा अनुदानमै रेल ल्याईदिओ भने प्रधानमन्त्रीको यो भ्रमण उपलब्धिपूर्ण हुन्छ।’ 

‘प्रधानमन्त्री ओलीको चीन भ्रमण सफल हुन्छ’ 

नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता दिनानाथ शर्माले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमण सफल हुने दाबी गरे। ‘प्रधानमन्त्रीको चीन भ्रमण विकास निर्माण र समृद्धिमा बढि केन्द्रित हुनुपर्छ, उहाँको भ्रमणले दुई देशबीचको सद्भाव बढाउने हो, नेपालको समृद्धिको लागि चीन र भारतबाट हामीले सहयोग लिन सक्नुपर्छ’, उनले भने। प्रधानमन्त्री ओलीको चीन भ्रमण राजनीतिकभन्दापनि सद्भावपूर्ण भ्रमण हुने उनको विश्वास छ।  

चीनको ‘वान बेल्ट वान रोड’को वेल्ट एण्ड रोड इनिसियसन र व्यापार तथा पारवाहनबाट पनि नेपालले फाईदा लिनुपर्ने शर्माको तर्क छ। उनले भने, ‘प्रधानमन्त्रीको यो भ्रमण पूर्ण रुपमा सफल हुन्छ भन्नेमा म विश्वस्त छु।’

प्रकाशित: ३१ जेष्ठ २०७५ ११:०४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App