राजनीति

संसद भवनमा ईश्वरको खोजी

काठमाडौं -प्रतिनिधिसभा बैठकमा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले ईश्वर देखाउन सरकारसँग माग गरेका छन् । बुधवार सरकारले पेश गरेका तीनवटा अध्यादेशलाई अस्वीकृत गर्ने प्रस्ताव पेश गरेका नेमकिपाका सांसद सुवालले संसद्मा ईश्वरको खोजी गरेका हुन।

मुख्यतः सपथको भाषामा ‘ईश्वरका नाममा सपथ खानेछु’ भन्ने प्रावधानप्रति आपत्ति जनाउँदै सरकारले ईश्वर खोजिदिनुपर्ने माग गरेका हुन् । ‘जब सपथमा देश र जनताको नाममा भनिसकेपछि ‘ईश्वर’को नाममा किन खानुप¥यो, जसलाई इश्वर छ भन्ने विश्वास छ, त्यसले यहाँ छन भनेर देखाउनु प¥यो, नत्र त्यो प्रावधान हटाउनु प¥यो,’ सुवालले संसद्मा भने, ‘नत्र सरकारले ईश्वर खोजेर ल्याइदिनु पर्यो ।’

सांसद सुवालले सरकारसँग ईश्वरको खोजी गरेपछि कानुन, न्याय तथा संसदीय मामिलामन्त्री शेरवहादुर तामाङले जवाफ दिएका थिए । ‘ईश्वरका नाममा सपथ खानै पर्ने अनिवार्य छैन, देश र जनताको नाममा सपथ खान पनि सकिन्छ, त्यसैले त त्यहाँ देश, जनता÷इश्वरको व्यवस्था गरिएको हो, त्यसैले अब माननीयज्यूले आफ्नो प्रस्ताव फिर्ता लिन आग्रह गर्दछु ।’ मन्त्री तामाङले उक्त आग्रह गरे तापनि सांसद सुवालले चित्त बुझाएनन् र भने, ‘मन्त्रीज्यूको अन्य कुरा ठीकै होला तर ईश्वर कहाँ छन् ? त्यो देखाउन सक्नुभएन, त्यसैले म मेरो प्रस्ताव फिर्ता लिन्न ।’

मन्त्रीको आग्रह अस्वीकार गर्दै सुवालले प्रस्ताव फिर्ता नलिएपछि बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरूपण तथा मेलमिलाप आयोगलगायत तीनवटा अध्यादेश बहुमतले पारित गरिएका छन् । यसरी पारित भएका अन्य दुई अध्यादेशमा राष्ट्रिय चिकित्सा शिक्षा अध्यादेश र संघीय संसदका महासचिव, सचिव र राष्ट्रियसभाका सचिवको पारिश्रमिक सेवाको सर्त र सुविधासबन्धी अध्यादेश छन् ।

यसअघि भने विशेष समयमा बोल्दै आधा दर्जन सांसदले विभिन्न समसामायिक विषयमा सरकासँग जवाफ माग गरेका थिए । जसअनुसार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दोस्रो भ्रमणताका र भूकम्पपछि लगानी सम्मेलनका क्रममा नेपाललाई सहुलियत ऋणमा दिने भनि प्रतिबद्धता जनाएको २ खर्ब रुपैयाँको उनै सुवालले थप खोजी गरे ।

‘भारतीय प्रधानमन्त्रीले यही संसद्वाट १ खर्ब र भूकम्प पछाडि अर्को १ खर्ब सहुलियत दरमा ऋण उपलब्ध गराउने भनिएको थियो, त्यो आएको छैन, त्यो रकम किन आएन ?,’ सुवालले दोस्रो प्रश्न पनि संसद्समक्ष राखेका थिए ।

यस्तै सांसद पवित्रा निरौलाले ७० वर्षीया वृद्धामाथि भएको जघन्य बलात्कारको घटनामा संलग्न दोषीलाई कारबाही गर्न माग गरेकी छिन् । ‘इलाममा एक ७० वर्षीया वृद्धालाई बलात्कारपछि जिब्रो थुत्ने काम भएको छ, यस्ता अपराधीलाई तत्काल पक्राउ गरी कारबाही गरियोस् र पीडितलाई क्षतिपूर्ति दिइयोस्’ निरौलाले भनिन् ।

अरुण–३ जलविद्युत् आयोजना शिलान्यासको तयारी भइरहेका बेला सांसद सुदन किराँतीले भोजपुरका तटीय क्षेत्रले पाउने अधिकारबारे सचेत हुनुपर्नेमा ध्यानाकषर्ण गराएका छन् । सो तटीय क्षेत्रका जनतालाई सेयर पनि दिनुपर्ने किराँतीको माग छ ।

सांसद देवेन्द्र कँडेलले गण्डक नहरबाट पाउनुपर्ने पानीको सुविधा अझै नेपालले नपाएकोप्रति सरकारको ध्यानाकषर्ण गराए । ‘गण्डक नहरबाट पाउनुपर्ने पानी अझै नेपालीले पाएका छैनन्, भारतले सो सम्झौता कार्यान्वयन गरेको पनि छैन,’ कँडेलले भने, ‘भारतीय प्रधानमन्त्री नेपाल आउने बेला सो विषय उठाउन माग पनि गर्दछु, यसमा पानीको न्यायपूर्ण बाँडफाट गरिनुपर्छ ।’

अर्का सांसद नरबहादुर धामीले कञ्चनपुरको पुनर्वास क्षेत्रमा भएको भारतीय ज्यादतीको विरोध गर्दै यस विषयमा भारतीय प्रधानमन्त्रीसँग छलफल गर्न जोड दिए । ‘पिलर नम्बर १९४–१९५ सम्म दशगजाको ३–४ सय मिटरभित्र पसेर नेपालीले लगाएको तारबारलाई भारतीय सुरक्षाकर्मीले तोडफोड गरेका छन्,’ धामीले भने, ‘आनन्दबजारको प्यारा तालको माछाका लागि ०५८ सालसम्म नेपालले टेन्डर गर्दै आएको थियो, अहिले त्यसमा भारतले दाबी गरेकाले ताल विवादमा परेको छ, स्थानियलाई निरन्तर अभद्र व्यावहार गरिएको छ, यसलाई रोक्नु प¥यो ।’ चादँनी दोधाराका भू–भागभित्र छिरेर भारतीय सुरक्षाकर्मीले निरन्तर नेपालीमाथि प्रहार गरेको जनाउँदै भारतीय प्रधानमन्त्रीसँग सो विषयमा कुराकानी गर्न धामीले आग्रह पनि गरेका छन् ।

उता, मंगलबार राति मुख्यतः प्रदेश २ मा आएको हुरीबतासका कारण धनजनको क्षति भएको उल्लेख गर्दै राजकिशोर यादव, उमाशंकर अगरगरिया र प्रेम सुवालले पीडितलाई क्षतिपूर्ति दिन माग गरेका छन् । ‘आँधीहुरीका कारण मिर्चैया–१० रघुवीर महतोको निधन हुनका साथै दर्जनाै घर उजाड भएका छन्, फल्न लागेका आँपसहित वगैँचा पनि उजाड भएका छन्, खेतीपाती नष्ट भएका छन्,’ यादवले भने, ‘तत्काल पीडितलाई क्षतिपूर्ति दिई घाइतेको उपचारको व्यवस्था गर्न माग गर्दछु ।’ यादवको भनाइप्रति सहमत जनाउँदै अर्का सांसद अरगरियाले आँधीहुरीबाट पीडितलाई राहत दिन तथा कमला किनारामा जंगली निल गाई, बदेँलबाट किसान पीडित भएको भन्दै सो नियन्त्रण गर्न सरकारसमक्ष माग गरेका छन् । नेमकिपा सांसद सुवालले तराई मधेसमा आँधीहुरीबाट घाइते भएकाको तत्काल उपचार र राहत उपलब्ध गराउन तथा धनजनको क्षतिपूर्ति दिलाउन माग गरेका छन् ।


 

प्रकाशित: २७ वैशाख २०७५ ००:५० बिहीबार

संसद भवनमा ईश्वरको खोजी