राजनीति

अपुष्ट डायरी, बयान, टेलिफोन कल विवरण

काठमाडौं – प्रहरीले तल्लो तहका प्रहरी कर्मचारीको बयान, सुन तस्करीको व्यवस्थापक देखिएका चुडामणी उप्रोतीको डेरामा भेटिएको अपुष्ट डायरी, टेलिफोन कल विवरण र हत्या अनुसन्धानमा प्रहरीले अपनाएको अनुशन्धान प्रकृयाको आधारमा साढे ३३ किलो सुन तस्करीमा जोडिएका पूर्व र बहालवाला प्रहरी अधिकारीको भुमिका तय गरेको  देखिएको  छ।

बहालवाला एसएसपी, एसपी, डिएसपी, सई र प्रहरी जवान र अवकास पाएका डिआइजीसहित सुन तस्करीका लगानीकर्ता, योजानाकार र सहयोगी सहित ६३ जनालाई अभियुक्त बनाउँदै जिल्ला प्रहरी कार्यालय मोरङ मार्फत जिल्ला न्यायधिवक्ताको कार्यालय मार्फत जिल्ला अदालत मोरङमा बुधबार अभियोग पत्र दर्ता भएको थियो।

अभियोग पत्रमा अभियोगका आधार सुन तस्करीमा संलग्नता र शनम शाक्यको हत्यापछिको अनुसन्धान प्रकृयामा प्रहरी अपनाएको शैलीलाई लिएर २ भागमा राखिएको देखियो।

पूर्व डिआइजी गोविन्द निरौला, एसएसपी श्यामबहादुर खत्री, एसपी विकासराज खनाल, डिएसपी सञ्जयबहादुर राउत,हवल्दार अम्बरबहादुर थापा र प्रहरी जवान विष्णुबहादुर खड्कालाई सुन तस्करीमा संलग्न रहेको अभियोगमा अभियुक्त बनाइएको छ।

जिल्ला न्यायधिवक्ताको कार्यालयले दर्ता गरेको अभियोग पत्रको आधार जिल्ला प्रहरी कार्यालय मोरगंको प्रस्तावित राय सुझाव हो। राय सुझावमा प्रहरीको लेटर प्याडमा गए पनि यसको सम्पूर्ण अुनसन्धान भने मन्त्रिपरिषद्को निर्णय अनुसार गठन भएको गृह मन्त्रालयका सह–सचिव इश्वरराज पौडेल संयोजकत्वको समितिमा निर्भर देखिन्छ।

तर समितिको अनुसन्धान सकिएको छैन। अदालतमा अभियुक्त तोकेर अभियोग पत्र दर्ता भइसकेको छ तर समितिको अवधी भने अझै एक महिना बाँकी छ। सुनका मुख्य लगानीकर्ता, योजनाकार, सहयोगी र विमानस्थलमा थाई एयर र नेपाल एयरको कर्मचारीको रुपमा खटिएका सहयोगीमाथि अभियोग कायम गर्दा अभियोग पत्रमा बयानसँगै प्रमाणलाई समेत बलियो रुपमा प्रस्तुत गरिएको छ।

पक्राउ परेका २९ जनालाई उपस्थित गराउँदै दर्ता भएको अभियोग पत्रमा बहालवाला र पूर्व प्रहरी अधिकारीमाथि अभियोग कायमगर्दा आधार खुल्ने प्रमाण भन्दा बयान, अमुर्त प्रमाण र आफ्नै विश्लेषणको मात्रा धेरै देखियो।

अभियोग पत्र एक सय ५४ पृष्ठ लामो छ । पत्रमा अभियोग मागदावीका लागि शनम शाक्यको शबसँगै पक्राउ परेका २ अभियुक्तको बयान, ३३ किलो सुन हराएपछि सुन खोजीको क्रममा गोरे भनिने चुडामणी उप्रेतीले यातना दिएका सहयोगी र विमानका कर्मचारीको बयान, गोरेले तस्करीको सुन भण्डारण गर्न उपयोग गर्ने डेरामा फेला परेको डायरीको विवरण, अनुसन्धानमा संलग्न प्रहरी कर्मचारी र बहालवाला एसएसपी श्याम बहादुर खत्रीका चालकको बयान र घटनाक्रमको विश्लेषणलाई मुख्य आधार मानिएको छ।

पूर्व डिआइजी गोविन्द निरौला, बहालावाला तर फरार एसएसपी श्यामबहादुर खत्री, एसपी विकासराज खनाल र डिएसपी सञ्जय बहादुर राउत विमानस्थलमा रहँदा सुन तस्करीमा संलग्न रहेको अभियोग पुष्टीका लागि एसएसपी खत्रीको चालकको रुपमा कार्यरत प्रहरी जवान विष्णुबहादुर खड्काको बयानलाई मुख्य आधार बनाएको देखिन्छ।

शाक्य हत्या अनुसन्धानकोक्रममा सो घटनामा गोरे जोडिएपछि उसको डेरामा छापा मार्दा १४ वटा रजिष्टर र कपि फेला पारेको थियो । डायरीमा रकम लेखिएको छ तर कसैको पूर्ण नाम छैन।

अभियोग पत्रमा उल्लेख गरिए अनुसार त्यसमा डिआइजी मामा, एसएसपी मामा, एसपी मामा र डिएसपी मामा उल्लेख गरिएको छ। मामा भनेर जो जसको नाम लेखिएको छ ती को हुन् भन्ने आधार प्रहरी जवानको बयानलाई बनाइएको छ।

‘विवरणमा उल्लेखीत डिआइजी मामा भन्ने व्यक्ती तत्कालिन समयमा विमानस्थलको सुरक्षा प्रमुखको रुपमा कार्यरत डिआईजी गोविन्द प्रसाद निरौला सर हो।

एसएसपी मामा भन्ने मानिस एसएसपी श्याम बहादुर खत्री सर, एसपी मामा भन्ने व्यक्ती एसपी.विकासराज खनाल सर र डिएसपी मामा भन्ने व्यक्ती डिएसपी संजय बहादुर राउत सर हो’ अभियोग पत्रमा उल्लेख प्रहरी जवान खड्काको बयानको सारमा उल्लेख छ। डायरीमा लेखिएको कोड नाम पक्राउ अभियुक्तहरु नै हुन् भन्ने आधार यही बयान मात्र देखियो।

डायरीमा एसएसपी मामाको ड्राइभर भनेर लेखिएको छ । त्यो नाम आफ्नै भएको खड्काले दावी गरेका छन्। डायरी परिक्षणका लागि प्रहरीको विधि विज्ञान प्रयोगशालामा पठाइएको तर प्रतिवेदन नआएकाले प्रतिवेदन आइसकेपछि पेश गर्ने अभियोग पत्रमै उल्लेख भएकाले त्यसको बैज्ञानिक परिक्षण नै नभई अभियोग पत्र दर्ता भएको आफैं पुष्टी गर्छ।

बयानमा उनले तस्करीमा एसएसपी खत्रीको भुमिका के थियो भन्ने सविस्तार उल्लेख गरेका छन्। पक्राउ परेका खड्का फरार रहेका एसएसपी खत्रीका चालक रहेको र खत्री विमानस्थलमा कार्यरतरहँदा उनी पनि त्यतै भएकाले खत्रीको हकमा भने उनको बयान बलियो नै देखिन्छ।

उनको बयान अनुसार उनी २०७२ को असोजबाट खत्रीको चालकको रुपमा काम गरे। त्यो बेला उनी विमानस्थलमा थिए । केन्द्रीय अनुसन्धान ब्युरोले फेला पारेको ३३ किलो सुनमा उनी निलम्बनमा परे र फुकुवा भयो। त्यसपछि पनि उनी खत्रीकै चालकका रुपमा खटिएका थिए।

उनले रजिष्टरमा उल्लेख भएको कोड नामको विवरण खुलाउँदै खत्रीको निर्देशनमा सुन तस्करीमा संलग्न रहेको स्विकारेका छन्। अभियोगपत्रमा समावेश उनको बयानमा उल्लेख छ।

‘एसएसपी  श्याम बहादुर खत्री सरको निर्देशनमा मैले तस्करीको सुन गाडीमा पु¥याई दिए वापत दाह्रीवाला पछि नाम थाहा पाएको मोहन काफ्लेले मलाई एक पटक .५ हजार र अर्को पटक १० हजार दिएका थिए,’ उनको बयानमा छ‘ अबैध रुपमा नेपाल भित्रिने सुनको तस्करीमा एयरपोर्टमा तत्काल कार्यरत डिआइजि.गोविन्द निरौला, एएसपी खत्री, एसपि विकासराज खनाल, डिएसपी सञ्जय राउत, एसएसपि. खत्री सरको बडिगार्ड प्रहरी हवल्दार अमर बहादुर थापा मगर र म समेत संलग्न रहेका थियौ।’

उनले बयानमा विमानस्थलका सुन तस्करीमा प्रहरी कसरी मिलेका हुन्छन् भन्ने पनि खुलाएका छन्। उनको बयानमा ‘मोहन काफ्ले लगायतले त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थलबाट सुन तस्करी गर्ने क्रममा निजहरुले बिदेशबाट सुन लिएर ईमिग्रेसनसम्म आउने र निजहरुको पासपोर्टमा ईमिग्रेसनको छाप लागे पश्चात कहिले डिएसपी राउत सरले र कहिले एसपी.खनाल सरले उनीहरुलाई ईस्कर्ट गरेर सिधै एसएसपी खत्री र डिआईजी निरौलाको विमानस्थलभित्रको कार्यालयमा लैजाने गरेको’ उल्लेख छ।

‘सुन आउने समयमा निरौला सर र खत्री सर आफ्नो कार्यकक्षमा कुरेर बस्ने गर्नुहुन्थ्यो,’ उनको बयानमा छ‘ पछि एसपी खनाल सरलाई कारवाही स्वरुप हेडक्वाटर तानेपछि त्यो काम डिएसपी राउत र एसएसपी खत्री सरले गर्न थाल्नु भयो।’

अभियोग पुष्टीका लागि गोरे र पक्राउ परेका प्रहरी अधिकारीविचको फोन सम्पर्क विवरणलाई समेत आधार बनाइएको छ। कल विवरण सम्पर्क भएको समय र कुरा गरेको समय मात्र खुल्छ तर के कुरा भएको हो सो भने खुल्दैन। अनुसन्धानस्रोतका अनुसार शाक्यको हत्यापछि पूर्व डिआइजी निरौला, एसपी खनाल र डिएसपी राउतविच फोन सम्पर्क भएको थियो।

काठमाडौंबाट अपराध महाशाखाको टोली हिडिसकेपछि उनीहरुविच फोन सम्पर्क भएको थियो। त्यसपछि नै गोरे सम्पर्कविहिन भए र भारत पुगे।

अनुसन्धान अधिकारीले यीनै आधारमा टेक्दै ‘प्रहरी अधिकृतहरुले सरकारी कार्यकक्ष, साधन, श्रोत, जनशक्ति र अन्य फोर्सको लजिष्टिक्स समेत अधिकृतहरुका ड्राइभर, व्यक्तिगत सुरक्षागार्डहरुलाई आपराधिक समुहको गतिविधिमा उपयोग गर्न दिएको’ निष्कर्ष निकालेको छ।

साथै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्थित नागरिक उड्ड्यन कार्यालयबाट सुरक्षा शक्तिको आडमा पास झिकी झिकाई आपराधिक समुहलाई उपलब्ध गराएको तथ्य सुरक्षा अधिकृतहरुले बरामद रजिष्टरबाट प्राप्त गरेको देखिने आर्थिक लाभको विवरण, सुरक्षा अधिकृत र आपराधिक समुहका नाईके गोरे भन्ने चुडामणी उप्रेती एवं निजका सदस्यहरु बीचका कल डिटेलको प्रमाणबाट पुष्टी भएको उनीहरुको जिकिर छ।

पूर्व डिआइजी निरौलाले गोरेको बुबा नेत्रप्रसाद उप्रेती साथी भएकाले गोरेसँग चिनजान भएको। गोरेले सुन कारोबारमा सघाउन आग्रह गरेको तर आफुले ‘तिमी गलत बाटोमा हिडेको हुँनाले तिमिलाई सम्झाई सुधार गरिदिनु भनेका छन म तिमिलाई कुनै सहयोग गर्न सक्दिन तिमि पनि गलत बाटो छाडेर सहि बाटोमा हिड भनेर सम्झाएको’ दावी गरेका छन्। एसपी खनाल र डिएसपी राउतले आफु विमानस्थलमा खटिदा तस्करी नियन्त्रणमा टाइट गरेको र यो घटना पत्रिकाबाट मात्र जानकारी पाएको दावी गरेका छन्।

नियत असल देखिएन
एसएसपी दिवेश लोहनी, डिएसपी प्रजित केसी र सई बालकृष्ण सञ्जेललाई शाक्यको हत्याको अनुसन्धानमा अपनाएको प्रकृयाको आधारमा अभियुक्त बनाइएको छ। एसएसपी लोहनी, डिएसपी केसी र सई सञ्जेल २०७४ फागुन १८ को प्रकरणपछि यो घटनामा जोडिएका थिए।

अभियोग पत्रमा उल्लेख बयानहरु अनुसार घटनाको दिन गोरेले सई सञ्जेललाई ‘भारतीय आएर शाक्यको हत्या गरेको’ भन्दै वचाउन आएको फोनबाट अनुसन्धान शुरु भएको थियो। महाशाखाबाट मोरङग पुगेको टोलीले शाक्यको शब र २ जना आरोपी पक्राउ गरे पनि गोरे फरार भए।

सई सञ्जेलबारे अभियोगपत्रमा उल्लेख विवरणका आधार बलियो देखिए पनि एसएसपी लोहनी र डिएसपी केसीको हकमा भने विश्लेषणको मात्रा र आशंका हावी देखियो।

सञ्जेलले बयानमा आफुलाई जोगाउँदै गोरेसँगको रकम डिलमा केसीलाई बढी संकेत गरेका छन्। लोहनी रकम डिलमा जोडिएका छैनन्। तर कार्यक्षेत्र बाहिर टोली पठाउँदा गोरे लगायतकाहरु भाग्नु, शब फेला परेको स्थान परिर्वतन गर्नु, एउटा सवारीसाधनमा रहेको प्रमाण अर्को सवारीसाधनमा राख्ने गतिविधी उनको निर्देशनमा भएको विश्लेशण गरेको छ।

गोरेसँग पैसाको मोलमोलाई उसलाई पक्राउ गर्ने मनसायले गरेको डिएसपी केसीको बयानमाथि अनुसन्धान टोलीले पत्यार गरेको देखिएन। प्रहरीले गम्भिर अप्रेशनमा आरोपी पक्राउ गर्न यस्तो शैली नअपनाउने भने हैन।  तर अनुसन्धान समितिले यसलाई स्विकार गरेको देखिएन।

काठमाडौं, ललितपुर र भक्तपुर कार्यक्षेत्र भएको महाशाखाका प्रहरी मोरङग जानु, शब फेला परेको स्थान गलत बताउनु, गोरेसँग निरन्तर सम्पर्कमा रहनु र पैसा लेनदेनको कुरा गर्नु दण्डनिय काम भएको अभियोग पत्रमा उल्लेख छ । प्रहरी अधिकारीहरुले ‘असल नियतले आरोपी गोरे पक्राउ गर्न उसले राखेको पैसाको प्रस्ताव स्विकार गरेको’ बयान दिएका छन् । तर अभियोगपत्रमा प्रहरी अधिकारीको नियत असल नदेखिएको उल्लेख छ।

यसका लागि अभियोग पत्रमा केही आधार उल्लेख गर्दै मोरगंमा गएका महाशाखाका प्रहरी अधिकारी र उनीहरुलाई खटाउने इन्चार्जले कानुन विपरित काम गरेको दावी गरेको छ।

अभियोग पत्रमा एसएसपी लोहनीको बयान छैन। डिएसपी केसी र सई सञ्जेल, उनीहरुसँगै गएका २ प्रहरी जवानको बयान छ। त्यसैको आधारमा अभियोग लगाइएको छ।

अभियोग पत्रमा शाक्यको हत्या भएको दिन उनी मारिनुभन्दा अगाडिदेखि नै सई सञ्जेल र गोरेविच टेलिफोन सम्पर्क भएको उल्लेख गर्दै सञ्जेलको दावी अनुसार शाक्यको हत्यापछि गोरेले फोन गरेर ‘ईन्डीयनहरु आएर गोली हानेर मेरो साथी मारे, अरु भागे, लास र निजलाई मार्ने घटनामा सम्लग्न १ जना मानिस यहि छ उसले घट्नाको जिम्मा लिन्छ, घटना स्वीकार गर्छ, मलाई बचाउनु प¥यो। कती खर्च लाग्छ ? म ५ (पाँच ) करोड सम्म खर्च गर्छृ’ भनेको पत्याएको देखिएन।’

गोरेले सञ्जेललाई शाक्यको शबको तस्विर समेत पठाएको अवस्थामा घटनास्थलबाट २–३ किलोमिटरको दुरीमा रहेको प्रहरी कार्यालयलाई खवर नगरी काठमाडौंबाट पक्राउ गर्न जानेकामलाई अभियुक्त पक्राउको प्रयासको रुपमा स्विकार गरेको देखिएन।

हत्यापछि शव गोरे इलाका प्रहरी कार्यालय उर्लावारी देखि २ सय मिटरको दुरीबाछ धरान गएको र उर्लाबारीदेखि धरानसम्म आधा दर्जन इलाका प्रहरी कार्यालय रहेकोमा महाशाखाका अधिकारीले कुनै पनि कार्यालयलाई जानकारी नदिँदा गोरे भाग्न सफल भएको अभियोग पत्रको निष्कर्ष छ।

काठमाण्डौबाट मोरङ उर्लावारीको घट्नामा हस्तक्षेप गर्नु सरकारी मुद्दा सम्वन्धी ऐन, २०४९ को दफा ४ को उपदफा (१) र दफा ५ का कानूनी प्रावधान विपरीत देखिएको उसको ठहर छ।

सो ऐनमा कुनै प्रहरी कर्मचारीले कुनै अपराध भएको वा भइरहेको वा हुन लागेको जानकारी पाएमा निजले यथाशिघ्र अपराधलाई रोक्ने, अपराधसँग सम्बन्धीत कुनै प्रमाण लोप वा नाश हुन नदिने र अपराधी भाग्न, उम्कन नपाउने व्यवस्था गर्नु पर्ने ’ उल्लेख छ।

उपदफा १ मा तत्कालै कारवाही नगरेमा अपराध हुने वा अपराधसँग सम्बन्धित कुनै प्रमाण लोप वा नाश हुने वा अपराधी भाग्ने, उम्कने सम्भावना भएमा सो प्रहरी कर्मचारीले आवश्यकता अनुसार अर्को प्रहरी कार्यालयको क्षेत्रमा समेत गाई त्यस सम्बन्धमा आवश्यक कारवाही गर्न सक्ने’ उल्लेख छ।

उसले ‘काठमाण्डौँका प्रहरी कर्मचारीले मोरङ्गमा भएको घटनामा कुनै प्रमाण लोप नाश हुन नदिने, अपराधि भाग्ने उम्कन नदिने कार्य गर्न सक्नु तर सो कार्य मोरङ्ग सुनसरीकै प्रहरी कर्मचारीबाट हुन नसक्ने भन्ने तर्क कुनै दृष्टिले पनि विश्वास लायत नदेखिएको’ निष्कर्ष छ।

दफा ५ मा अन्य प्रहरी कार्यालय क्षेत्र भित्र अपराध भएमा सोको सुचना यथाशिघ्र सम्बन्धीत प्रहरी कार्यालयलाई दिनु पर्नेमा बाध्यात्मक कानुनी प्रावधानको पालना नभएको, अन्य क्षेत्रमा संगठित अपराधबाट कर्तव्य ज्यान जस्तो गम्भीर अपराध भएको स्पष्ट रुपमा थाहा हुँदाहुँदै सो क्षेत्रको प्रहरी कार्यालयमा सुइको सम्म नदिई आफ्नै कार्यालयबाट प्रहरी अधिकृत खटाउने र खटिने कार्य प्रथम दृष्टि मै कानून सम्मत नदेखिएको, वारदातको सम्बन्धमा थाहा हुनासाथ सम्बन्धीत प्रहरी कार्यालयमा सो कुराको जानकारी दिएको भए प्रायः सवै प्रतिवादीहरु पक्राउ पर्न सक्ने अवस्था रहेको समेत अभियोग पत्रमा दावी गरिएको छ।

गोरेसँग सञ्जेलका दुई वर्ष अगाडि देखि सँगत रहेको, दुबैविच मामा–भाञ्जाको व्यबहार गर्ने गरेको र गोरे सुन तस्करीको मुद्धामा फरार अभियुक्त भन्ने थाहाहुँदाहुँदै सामान्य ब्यवहार गरेको उल्लेख छ।

सञ्जेलसँगै एसएसपी लोहानी र डिएसपी केसीको अभियोग पुष्टीका लागि यी दुई र गोरेविच हत्या भएको दिन निकै पटक फोन सम्पर्क भएको, लाश वेपत्ता पारी केश मिलाए वापत शुरुमा पाँच करोडको प्रस्ताव भएपनि डिल दुई करोडमा भएको प्रतिवादीले स्वीकारेको, यो एसएसपी लोहनीलाई समेत थाहा भएको उल्लेख छ।

डिएसपी केसीले बयानमा गोरेले केस मिलाउन पैसाको प्रस्ताव राखेको र उ नभागोस् र केस मिलाउन भेट्न आउँदा पक्राउ गर्ने असल नियतले हुन्छ भनेको दावी गरेका छन्। तर अभियोग पत्रमा ‘उक्त डिल अभियुक्तलाई पक्राउ गर्न गरिएको भन्ने जिकिर अन्य कुनै प्रमाण परिस्थितिले पुष्टि भएको नदेखिएको’ उल्लेख छ।

अभियुक्त टेकराज मल्ल ठकुरी लगायतले बयानमा केसी र सञ्जेलबीच पटक पटक बाटोमा फोनबाट सनम हत्यामा सम्लग्न प्रतिवादीहरुलाई संरक्षण दिने, रकम जम्मा गरी राख्न लगाउने,सम्लग्न प्रतिवादीहरुलाई भाग्न उम्कन र देश बाहिर फरार हुन उपाय र तरिका समेत सुझाई आपराधिक समुहलाई सहयोग पु-याएको बताएको र यो मल्ल, गोरे, केसी र सञ्जेलविचको टेलिफोन कल रेकर्डले समेत पुष्टी गरेको दावी गरिएको छ।

अघिल्लो दिनै शव सहितको गाडि पृथ्वी चोक नजिक फेला परे पनि बरामद भोलिपल्ट विराटनगरमा भेटिएको मुचुल्का बनाइएको थियो। शव भेटिएको स्थान परिर्वतन गरी मोरङको जिल्ला प्रहरी कार्यालय, नजिक बिराटनगरमा लाश भेटिएको भन्ने प्रतिवेदनलाई समेत प्रहरी अधिकारीको बदनियत पुष्टी गर्ने आधार बनाईको छ। केसीले शब बरामदको स्थान परिर्वतन हुनुको कारण शब फेला परेको इटहरी क्षेत्रका डिएसपी राउत र गोरेविच घनिष्ठ सम्बन्ध देखिएपछि अनुसन्धान प्रभावित हुन्छ भनेर अन्य क्षेत्रमा देखाएको दावी गरेका छन्। तर त्यही बयानलाई अभियोगपत्रमा अभियोग पुष्टीको प्रमाण बनाएको छ।

संगठित अपराध निवारण ऐन अनुसार ‘कसैले कुनै आपराधिक समूहलाई सङ्गठित अपराध गर्न वा सङ्गठित अपराध गर्न सघाउ पु-याउन कुनै काम जानी जानी गरी वा नगरी सो समूहको काम कारबाहीमा सहभागी हुने वा सघाउ पु-याउने वा सञ्चार साधन वा सूचना प्रविधि उपलब्ध गराउने वा आर्थिक सहयोग गर्ने वा कुनै साधन उपलब्ध गराउने वा सङ्गठित अपराध गर्ने व्यक्तिलाई आश्रय दिने, लुकाउने वा भगाउने कार्य गर्न वा गराउन हुँदैन’ भन्ने व्यवस्था उलंघन गरेको भन्दै लोहनी र केसीलाई पाँच वर्षसम्म कैद र पाँच लाख जरिवानाको कैद सजायको माग गरेको छ। सञ्जेलको हकमा भने सुन तस्करी समूहको सदस्यकै हैसियतमा सजाय माग दावी गरिएको छ।

प्रकाशित: २१ वैशाख २०७५ ०८:२६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App