राजनीति

किम–मुन भेटवार्ताले त्रासपूर्ण वातावरण हट्यो : नेता नेपाल

रुकुम– नेकपा एमालेका वरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले उत्तर कोरियाका नेता किम जोङ उन र दक्षिण कोरियाका राष्ट्रपति मून जाई इनको भेटवार्ताले दुबै देशबीच सम्बन्ध सुधार संगै शान्ति र समृद्धिको मार्गचित्र भएको बताएका छन्।

सोमबार मुसीकोट खलंगामा प्रेस चौतारी र प्रेस सेन्टरले संयुक्त आयोजना गरेको पत्रकार सम्मलेनमा यस भेटले त्रासपूर्ण वातावरण हटाएको बताए। नेपालका नेता जान डराउने कोरियामा आफू गएर स्थायी शान्ति र दुई देशबीचको द्वन्द्व अन्त्यका लागि दक्षिण कोरियाका राष्ट्रिपति मुनलाई सुझाव दिएको स्मरण गर्दै नेता नेपालले उक्त भेटघाटको प्रशंसा गरे। दुई मुलुक एक आपसमा मिल्नुको बिकल्प नभएको भन्दै उनले अब भाई–भाईको सम्बन्ध स्थापित हुनुपर्नेमा जोड दिए।

यसअघि उत्तर कोरियाली नेता किम जोङ उन र दक्षिण कोरियाली राष्ट्रपति मून जाई इनले कोरियाली प्रायद्वीपलाई पारमाणविक अस्त्रमुक्त पार्न र सन् १९५३ मा युद्धविराममा टुङ्गिएको कोरियाली युद्धको औपचारिक अन्त्यका लागि मिलेर काम गर्ने सहमति गरेका थिए। केही महिनाअघिको वाकयुद्धको स्थितिपछि दुई कोरियाबीच भएको शिखर बैठकमा त्यस्तो सहमति गरिएको थियो।

फरक प्रसंगमा नेता नेपालले दुई पार्टीबीच हुने एकता मिल्नका लागि मात्र नभई देशमा स्थायी शान्ति र समृद्धिका लागि पार्टी एकता हुन लागेका बताए। पार्टी एकताको प्रयास अन्तिम चरणमा पुगेको भन्दै उनले कुनै शक्तिले पनि पार्टी एकता रोक्न नसक्ने उद्घोष गरे।

प्रकाशित: १७ वैशाख २०७५ ०९:१२ सोमबार

किम–मुन भेटवार्ताले त्रासपूर्ण वातावरण हट्यो नेता नेपाल