राजनीति

दाहालको अभिव्यक्तिमाथि सत्तासीन दलका खण्डन

सत्तासीन दलहरू नेपाली कांग्रेस र नेकपा (एमाले) ले प्रमुख प्रतिपक्ष दल नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालको अभिव्यक्तिमाथि संयुक्त खण्डन गरेका छन्।

कांग्रेस-एमालेले सरकार फेरिन सक्ने दाहालको अभिव्यक्तिलाई उनको 'सत्ता-मोह'का रूपमा अर्थ्याएका छन्।

यसअघि दाहालले सरकार जुनसुकै बेला परिवर्तन हुन सक्ने अभिव्यक्ति दिएका थिए। आफूलाई प्राप्त सूचनाहरूका आधारमा आफूले त्यो विषय बोलेको उल्लेख गर्दै दाहालले भनेका थिए, 'यो सरकारलाई धेरै उता जान सहज छैन, नयाँ वर्षमा नयाँ सरकार बन्न सक्छ।'

तर, सत्तासीन दलहरू कांग्रेस-एमालेले भने त्यो हल्ला मात्रै भएको भन्दै खण्डन गरेका छन्।

एमाले उपमहासचिव प्रदीप ज्ञवालीले दाहालको उक्त अभिव्यक्तिलाई उनको 'सत्ता-मोह' भनेका छन्। 

'प्रचण्डले फेरि सरकार परिवर्तनको हल्ला गरिरहनुभएको छ। यो सरकार बाहिर हुँदाको कुण्ठा र पीडाबोध प्रकट हुन्छ। अहिले सरकार परिवर्तन न कतैबाट सम्भव र सान्दर्भिकता छ, न औचित्य छ। राष्ट्रिय राजनीतिको यावत् कुरा छाडेर सरकार परिवर्तनको कुरा मात्र गर्नु भनेको सत्ता मोहबाहेक केही होइन। भ्रम सिर्जना गर्ने कोसिस भएको छ, त्यसलाई हामीले खण्डन गरेका छौँ,' सोमबार (आज) बसेको पार्टीको सचिवालय बैठकपछि ज्ञवालीले भनेका छन्।

यस्तै कांग्रेस नेता मीन विश्वकर्माले पनि दाहालले भनेको विषय हल्लाभन्दा अरु केही नभएको बताएका छन्।

'सरकार परिवर्तनका बारेमा प्रचण्डजीले जे-जे भन्नुभयो, ती हल्ला मात्रै हुन्। ओलीजी प्रधानमन्त्री हुँदा अशान्त जस्तो भयो भन्ने उहाँको कुरा हो। त्यसैले कांग्रेसको नेतृत्वमा सरकार बनाउँदा हुन्छ भन्ने उहाँको बुझाइ हो। त्यो पनि एक अर्थमा ठीकै हो, त्यो हामीले बुझेका छौँ। तर, हामी स्थायित्वको पक्षमा छौँ। त्यसैले असार १७ को समझदारीमा कांग्रेस अडिग छ,' उनले भने।

यो पनि पढ्नुहोस्

भेटेर संवाद गर्ने दाहालको प्रस्तावमा देउवाले भने- तपाईंसँग हुँदा ओलीसँग भेटिनँ, अहिले ओलीसँग छु, तपाईंसँग भेट्दिनँ

प्रकाशित: १ वैशाख २०८२ १६:३० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App