नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) का अध्यक्ष डा. बाबुराम भट्टराईले चार दल सम्मिलित समाजवादी मोर्चाप्रति कटाक्ष गरेका छन्।
माओवादी केन्द्र, एकीकृत समाजवादी, नेपाल कम्युनिष्ट पार्टी र नेपाल समाजवादी पार्टी सम्मिलित मोर्चालाई 'जनता ठग्ने चाल' भन्दै कटाक्ष गरेका हुन्।
"कि 'कम्युनिष्ट' भनेर कार्यकर्तालाई ठग्ने, अनि 'समाजवादी' भनेर जनतालाई ठग्ने दोहोरो चाल हो? यसरी दुईवटा डुङ्गामा खुट्टा राखेर कता पुगिएला ?," उनले शुक्रबार (आज) साँझ फेसबूकमा लेखेका छन्।
उनले अगाडि लेखेका छन्, "केही पुराना 'कम्युनिष्ट' घटकहरूले मौसमी रूपमा एक ठाउँमा उभिएर आफूलाई 'समाजवादी मोर्चा' भन्ने गरेका छन्। 'कम्युनिष्ट' हरूको मात्र मोर्चा भएपछि त्यसलाई 'कम्युनिष्ट मोर्चा' भने भैहाल्थ्यो। यदि 'कम्युनिष्ट' भन्न लाज लागेको भए र 'समाजवादी' भन्नु उपयुक्त ठानेको भए पार्टीको नाम नै 'समाजवादी' राखे भैहाल्थ्यो!"
यो भयङ्कर वैचारिक र नैतिक विचलन भएको उनले बताएका छन्। 'यसको सट्टा विगतका कम्युनिष्ट आन्दोलनका अनुभव र नयाँ युगको नयाँ आवश्यकताअनुरूप उत्तर-पुँजीवादी र उत्तर-साम्यवादी वैचारिक-राजनीतिक विकल्प खोज्नेतिर लाग्ने हो कि?'
प्रकाशित: १ चैत्र २०८१ १९:२८ शुक्रबार