राजनीति

दलहरूले काम नगरेकाले जनता रिसाए: गगन थापा

नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले दलहरूले काम नगरेका कारण जनता रिसाएको बताएका छन् । आज विराटनगर विमानस्थलमा पत्रकारसँग कुरा गर्दै महामन्त्री थापाले जनता दलहरूले काम नगरेका कारण रिसाएको बताएका हुन् ।

उनले यतिवेला अरूका बारेका टीकाटिप्पणी गर्ने भन्दा पनि जनतालाई मन नपर्ने काम गर्नेतर्फ दलहरूको ध्यान जान आवश्यक रहेको बताए । ‘जनता हामीले काम गरेको हेर्न चाहन्छन् ’ थापाले भने,‘हामीले काम नगरेकै कारण जनता रिसाएकाले जनतालाई मन नपर्ने काम नगर्ने र जनभावना अनुसार काम गर्ने हो भने सबै ठिकठाक हुँदै जान्छ।’

पूर्व राजाका बारेमा भइरहेका टिकाटिप्प्णीलाई संकेत गर्दै थापाले यो वेला अरूका विषयमा टिका टिप्पणी गर्ने नभई आफ्नै कामलाई ध्यान दिने बेला भएको बताए । उनले भने,‘यो बेला अरुको बारेमा टीकाटिप्पणी गर्ने  हैन,आफ्नो काममा ध्यान दिनु पर्छ ।’  यो संविधान मान्ने व्यवस्था मान्ने, संसदमा भएका र सरकारमा भएकाहरूले यतिवेला अरूतिर ध्यान दिने अलमलिने नभई  ध्यान आफैँमा केन्द्रित गर्नु पर्ने थापाले स्पष्ट पारे । उनले दलहरूकै गतिविधिले अहिलेको अवस्था सृजना भएको बताए  ।

जनता किन असन्तुष्ट भए भन्ने विषयमा ध्यान केन्द्रित नगरी अरूतिर ध्यान दिन थाले समस्या जटिल हुँदै जाने थापाको भनाई छ । थापाले निर्धारित समयमै महाअधिवेशन हुन्छ ? भन्ने प्रश्नमा महाअधिवेशनको प्रकृया अगाडि बढिसकेको दाबी गरे । 

प्रकाशित: १ चैत्र २०८१ १८:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App