राजनीति

वामदेव फेरि ‘पेन्डुलम’ !

वामदेव गौतमलाई नजिकबाट चिन्नेहरू भन्छन्- वामदेव कमरेडको कम्पासमा शून्यपछि सिधै १८० छ, बिचका अङ्कहरू छैनन्। हुन पनि गौतमले यो भनाइलाई दर्जनौं पटक चरितार्थ गरिसकेका छन्। यसैलाई कतिपयले  ‘ढुलमुले’ शब्दले पनि सम्बोधन गर्ने गर्दछन्। 

जे होस्, समग्रतामा गौतम छचल्किरहन्छन्, बटुलिएर बस्दैनन्। अहिले आएर उनी फेरि एक पटक छचल्किएका छन्, निर्धारित निर्णयलाई ‘बाइपास’ गरेका छन्। 

यसबिचमा उनले माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी)सँग एकता गर्ने पक्कापक्की गरिसकेका थिए। आफू वरिष्ठ उपाध्यक्ष बनेर तेस्रो वरीयताका नेता बन्ने र आफू नेतृत्वको नेकपा एकता अभियानका अरू नेताहरूलाई राजनीतिक हैसियत र सहजताअनुरूप व्यवस्थापन गर्ने मोडालिटी तयार भइसकेको थियो। 

एकीकृत समाजवादका नेताहरूसँग छलफल गर्दै गौतम।

तर, उनी ढुल्मुलिएर नेकपा (एमाले)सँग नजिक हुन पुगे। यसपछि गौतमले गत माघ ५ गते प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेटे। त्यसपछि ओलीले माघ ८ गते पार्टीको सचिवालय बैठक बसाएर गौतमसँग सहकार्य गर्ने निर्णय त गरे तर, कसरी ? यसबारे भने स्वयम् ओली र एमाले अहिले पनि अनिर्णीत छन्। 

कसरी सहकार्य हुन्छ ? भन्ने नागरिकको जिज्ञासामा एमाले उपाध्यक्ष अष्टलक्ष्मी शाक्यको छोटो जवाफ छ, ‘थाहा छैन, अहिलेसम्म केही भएको छैन।’

गौतम र ओली। (पुरानो तस्बिर)

त्यसो त गौतम सशङ्कित बनिसकेका छन्। उनले नेकपा एकता अभियानका नेताहरूसँग ‘एमालेले अलमल्याउन मात्रै खोजेको त होइन’ भनेर ब्रिफिङ गरेका छन्। एक नेताले नागरिकसँग भने, ‘एमालेले अलमल्याउन मात्रै खोजेको त होइन भनेर उहाँले आशङ्का व्यक्त गर्नुभएको छ। तर, यदि एमालेले त्यसै गरेको हो भने एमाले पार्टी सकिन्छ, हामी मात्रै होइन, भीम रावल, एकीकृत समाजवादीदेखि सबै नै विरुद्धमा लाग्नेछन्।’ 

यो आशङ्कासँगै उनले एकीकृत समाजवादीसँगको एकताको वार्ता 'क्लोज' भइनसकेको बताएका छन्। गौतमलाई उद्धृत गर्दै अभियानका महासचिव डीबी कार्कीले भने, ‘एकीकृत समाजवादीसँगको एकता वार्ता पनि क्लोज भइसकेको छैन। हामीले मुख्य रूपमा नेकपा एकता नै भनेका छौँ। त्यसमा पनि हाम्रो पहिलो प्राथमिकता एमाले, दोस्रो एकीकृत समाजवादी र तेस्रो माओवादी केन्द्र हो। त्यसअनुसार हामी अगाडि बढ्ने हो।’ 

न यता, न उता

एकीकृत समाजवादीसँगको एकता प्रक्रियालाई बिचमा नै अलपत्र पारेर हिँडेका गौतम एमालेले उल्टै अलपत्र पार्ने सम्भावना देखेपछि झस्किएका छन्। एमालेसँग मिल्ने कि एकीकृत समाजवादीसँग भन्ने सन्दर्भमा छिटो निर्णय नलिएका गौतमलाई अहिले एमालेले 'धोका' दिने हो कि भन्ने डर छ।

एमाले अध्यक्ष ओली (बायाँ) र एकीकृत समाजवादी अध्यक्ष नेपाल (दायाँ), बीचमा गौतम।

 ‘नेतृत्व’का आकाङ्क्षी गौतमले ७० वर्षे उमेर हदको प्रावधान हटाएसँगै एमाले-मोह पलाएका थिए। पटक पटक सार्वजनिक रूपमै एमाले अध्यक्ष ओलीलाई पार्टी भित्र्याउन आह्वान गर्दै आएका गौतम एकीकृत समाजवादीसँगको एकता प्रक्रियालाई छाडेर एमालेको साथमा पुगेका थिए। कतिपयले गौतमले एमाले अध्यक्ष हुने सपना देखेको व्याख्या गरेका छन्। एमालेमा ७० वर्षे उमेर हद हटाउनुपर्ने माग गर्दै आएका गौतम प्रधानमन्त्रीका रहरेसमेत हुन्। 

अध्यक्ष हुँदै प्रधानमन्त्री बन्ने सपनाले पनि वामदेवलाई बिगारेको एकीकृत समाजवादीका एक नेता बताउँछन्। ती नेता गौतमलाई एमालेले ‘भाउ’ नदिने बताउँछन्। ‘उहाँलाई एमालेले भाउ देला जस्तो लाग्दैन। उहाँलाई गाह्रो पर्ने देखिन्छ,’ ती नेता भन्छन्, ‘बढी महत्त्वाकाङ्क्षी पनि हुनुहुन्न।’ 

एमालेलाई चाहियो फेरि पार्टी नछोड्ने सुनिश्चितता

एमालेले भने फेरि पार्टी नत्याग्ने सुनिश्चितता खोजेको छ। दोस्रो पटक पार्टी त्यागेर फेरि फर्किन चाहेका गौतमले पुनः पार्टी त्याग्ने हो कि भन्ने आशङ्का एमालेलाई छ। एमालेका एक पदाधिकारी भन्छन्, ‘पार्टीमा आइसकेपछि फेरि हिँड्ने हो कि के थाहा! उहाँले विगतमा पनि त्यही गर्नुभएको हो, फेरि त्यही गर्नुहुन्न भन्ने के छ र। त्यसको पनि एमालेलाई सुनिश्चितता चाहिएको हो।’

त्यसो त अहिले गौतम दोस्रो पटक एमालेमा फर्किन चाहेका हुन्। पहिलो पटक २०५४ सालमा त्यागेर २०५८ सालमा पुनः एमाले फर्किएका गौतमले २०७८ भदौ १८ गते दोस्रो पटक एमाले त्यागेका थिए। जसै कतिपय एमाले नेताहरू गौतमलाई पार्टीमा फर्काउन नहुने विचार व्यक्त गरेका छन्।

एमाले सचिवालय बैठक।

गत ८ गते बसेको सचिवालय बैठकमा वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेललगायतका नेताहरूले गौतम भित्र्याउने विषयको विरोध गरेको एक नेताले बताए। विरोध गर्ने सबै नेताको नाम उद्धृत नगरेर ती नेताले भने, ‘उहाँहरूले उहाँ (वामदेव गौतम) जस्तो नेता पार्टीमा ल्याएर केही हुँदैन, फेरि दोस्रो वरीयतामै आउन खोज्नुहुन्छ भनेर भन्नुभयो ।'

तर, यसबारे थप छलफल हुने ती नेताको भनाइ छ। ‘अध्यक्ष कमरेडबाट आएको प्रस्ताव हो यो। के हुन्छ, हेरौँला। छलफल होला नि,’ उनले भने। 

यो पनि पढ्नुहोस्

वामदेवले भने- एकीकृत समाजवादीसँगको एकता वार्ता पनि 'क्लोज' भइसकेको छैन

प्रकाशित: १० माघ २०८१ १९:५८ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App