राजनीति

अध्यक्ष दाहाल भन्छन्: सरकारले जनतालाई दूषित पानी खुवाएको छ, जिउँदै मार्ने टाइपको

राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहालले सरकारले अधिकांश नागरिकलाई दुषित पानी खुवाउँदै आएको गम्भीर आरोप लगाएका छन्।

बुधबार सिंहदरबारमा बसेको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा बोल्दै अध्यक्ष दाहालले सरकारले खानेपानी वितरणमा मात्र जोड दिएको तर त्यसको गुणस्तरमा ध्यान नपुर्‍याएको बताए। ‘हामीले ९० प्रतिशत जनसंख्यालाई पानी पुर्‍यायौं भनिरहेका छौं, तर तीमध्ये करिब ८० प्रतिशत नागरिकलाई दुषित पानी खुवाइएको छ। यो त जिउँदै मार्ने 00जस्तै हो,’  उनले भने।

शिक्षा क्षेत्रमा सरकारको कार्यप्रति असन्तुष्टि व्यक्त गर्दै अध्यक्ष दाहालले दिवा खाजाको प्रलोभन देखाएर विद्यार्थी भर्ना गर्नेतर्फ मात्रै ध्यान दिइएको तर शिक्षाको गुणस्तर सुधारमा प्रयास नगरेको टिप्पणी गरे।

‘विद्यालयमा विद्यार्थी संख्या देखाएर तथ्यांकमा राम्रो देखिने प्रयास गरिन्छ, तर गुणस्तरमा सुधार देखिंदैन। प्रारम्भमा १०-१५ लाख विद्यार्थी भर्ना हुने तर माध्यामिक तहमा पुग्दा संख्या घटेर ५ लाखभन्दा कम हुने अवस्था छ,’  उनले भने।

उनले तथ्यांकका लागि मात्रै गरिएको यस्तो प्रयासले दीर्घकालीन प्रतिफल नदिने स्पष्ट पार्दै, शिक्षा र खानेपानीको गुणस्तर सुधारमा गम्भीर कदम चाल्न सरकारलाई आग्रह गरे।

अध्यक्ष दाहालले नेपाली जनताको समृद्धि मापन गर्ने सूचकको पुनर्विचार गर्नुपर्नेमा जोड दिए। ‘कति सडक, भवन वा उद्योग बने भन्ने मात्र पर्याप्त हुँदैन। नेपाली जनताको जीवनस्तरमा कति प्रगति भयो भन्ने नै मुख्य मापन हुनु जरुरी छ,’  उनले भने।

सरकारले आधारभूत सेवा र जनताप्रतिको उत्तरदायित्वमा गुणस्तरीय सुधार गर्न नसके दिगो विकासको लक्ष्य प्राप्त गर्न कठिन हुने उनको निष्कर्ष थियो।

प्रकाशित: २ माघ २०८१ १४:४८ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App