नेकपा एमालेका नेता विष्णु रिजालले प्रधानमन्त्री केपी शर्मा ओलमा छिटो परिणाममुखी काम गर्ने हुटहुटी भएकाले अध्यादेश ल्याइएको बताएका छन् । सरकारले शुक्रवार राति तीन वटा अध्यादेश ल्याएको थियो । त्यसैको पक्ष–विपक्षमा अहिले मतमतान्तर भइरहेको छ ।
यसै प्रसङ्गमा एमाले नेता रिजालले फेसबुकमा एक स्टाटस राख्दै ‘संसद् छल्यो’ भन्नु पूर्वाग्रह मात्रै भएको लेखेका छन् ।
‘सांसदबाट कानुन बनाउन लामो प्रक्रिया लाग्ने भएकाले सरकारले तत्कालै गर्नुपर्ने कामका लागि संविधानमा अध्यादेशको व्यवस्था गरिएको छ । प्रधानमन्त्रीमा छिटो परिणाममुखी काम गर्ने हुटहुटी छ,’ रिजालले लेखेका छन्, ‘त्यसैले सरकारले जनसरोकारका काममा छिटो–छरितो सेवा प्रवाह, सुशासनको अनुभूति र आर्थिक गतिविधिमा बढावा दिन अध्यादेश ल्याउने उचित निर्णय गरेको छ।’
यसका लागि सरकारलाई धन्यवाद दिनुपर्ने उनले अगाडी लेखेका छन् । ‘यसका लागि सरकारलाई धन्यवाद दिनुपर्नेमा उल्टै ‘संसद् छल्यो’ भन्नु हद दर्जाको पूर्वाग्रह मात्र हुन्छ,’ उनले लेखेका छन् ।
संसद् बैठक बस्नासाथ अध्यादेश पेस हुने र दीर्घकालीन कानुन बनाउने संसद्को अधिकार सुरक्षित रहेको पनि रिजालले लेखेका छन् । उनले अगाडी थपेका छन्, ‘अनावश्यक रोइलो किन ? के यी अध्यादेश गलत छन् ?’
प्रकाशित: २७ पुस २०८१ ११:५५ शनिबार