राजनीति

देशमा युवाहरू बस्नै चाहँदैनन् भनेर भाष्य बनाउनेहरूको काम सकियो: उपप्रधानमन्त्री सिंह

उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले व्यवस्थापनमा आधुनिकीकरण ल्याएर उद्योगहरु सञ्चालन गर्नुपर्ने बताएका छन्।

नेपाल उद्योग वाणिज्य संघको चौथो वार्षिक साधारण सभामा सम्बोधन गर्नुहुँदै उनले यस्तो बताएका हुन्। नेपालका उद्योगहरु जसरी सञ्चालन हुनुपर्ने हो हुन नसकेको पनि उपप्रधानमन्त्री सिंहले बताए।

‘नेपालको उद्योग क्षेत्र जुन रुपमा सञ्चालन हुनुपर्ने हो भइरहेको छैन भन्ने तथ्याङ्कले पनि देखाइरहेको छ । अब स्थापना भइसकेका उद्योगलाई पूर्ण रुपमा सञ्चालनमा ल्याउने । व्यवस्थापनमा आधुनिकीकरण ल्याएर उद्योगहरूलाई अगाडी बढाउनुपर्छ,’ उनले भने।

त्यस्तै उनले शिक्षा नीतिमा पनि मन्थन गरेर समयको माग बमोजिम संशोधन गर्नुपर्ने धारणा राखे। शैक्षिक बेरोजगारको संख्या बढिरहेकोमा अहिले चिन्ता व्यक्त भइरहेको भन्दै उपप्रधानमन्त्री सिंहले अब शैक्षिक प्रमाणपत्रसँगै सिपको सर्टिफिकेट दिने काममा लाग्नुपर्नेमा जोड दिए।

उनले अहिले देशमा युवाहरू बस्न चाहँदैनन् भनेर गलत भाष्य स्थापित गर्ने काम भइरहेको बताए।  ‘अहिले देशमा कोही युवाहरू बस्नै चाहँदैनन् भनेर एउटा भाष्य बनाइएको छ । बस्नै नचाहने भनेर भाष्य मात्र विकसित गर्नेहरूको काम त सकियो,’ उपप्रधानमन्त्री सिंहले भने,‘तर, समस्या समाधानका लागि सबैले जिम्मेवार भएर काम गर्न सक्नुपर्छ । यहाँ कस्तो छ भन्दा अधिकारको कुरा ठुलठुलो स्वरमा उठाउने अनि जिम्मेवारीको कुरा आउँदा सबै पछि पछि हट्ने । अनि कहाँ बाट समाज अगाडी बढ्छ ?’

प्रकाशित: २६ पुस २०८१ १८:२२ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App