राजनीति

शिक्षामा सबैको पहुँच बराबर हुनुपर्छः उपराष्ट्रपति यादव

कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादव, सांसद् डा.नारायण खड्कासहित । तस्विरः महेश्वर चामलिङ राई्/नागरिक

उपराष्ट्रपति रामसहायप्रसाद यादवले अहिलेको आधुनिक युगमा आईपुग्दासम्म देशका दुर्गम गाउँघरका बालकालिकाको शिक्षामा पहुँच पुग्न नसक्नु दुःखद् रहेको बताएका छन् । सोमबार चौदण्डीगढी नगरपालिका- ८ स्थित सरस्वति माविको स्वर्ण जयन्ती समारोहको उद्घाटन गर्दै उपराष्ट्रपति यादवले गुणस्तरीय शिक्षाका लागि गाउँगाउँमा खुलेका विद्यालयहरुलाई सक्षम, सबल र पूर्वाधारयुक्त बनाउनुपर्नेमा जोड दिए ।

सहरीक्षेत्रमा शिक्षाको पहुँच सहज भए पनि दुर्गम भेगमा अझै शिक्षा सर्वसुलभ हुन नसकेकोले स्तरोन्नतिका लाग सरकारले ध्यान दिनुपर्ने उनको भनाइ थियो । दुर्गमभेगका कुनै पनि बालबालिका शिक्षाको पहुँचभन्दा बाहिर रहन नहुने भन्दै उनले यसप्रति गम्भीर ढङ्गले लागीहाल्न सरकारलाई उनको आग्रह थियो ।

समाज निर्माणको आधारस्तम्भ र सचेत, सशक्त र आत्मनिर्भर नागरिक बनाउँने माध्यम शिक्षा नै भएको भन्दै यादवले आवश्यक ज्ञान, सही व्यवहार र व्यवहारिक सिपका लागि शिक्षा महत्वपूर्ण हुने बताए । जीवनको कठिन समयमा आईपर्ने चुनौतिहरुको सामना गर्न पनि शिक्षाले नै सिकाउने भन्दै उपराष्ट्रपति यादवले त्यो सँगै समाज र देशको विकास र समृद्धिमा पनि शिक्षा नै अपरिहार्य हुने बताए ।

नेपाली समाजमा महिला (छोरीचेली)लाई कम उमेरमै शिक्षाबाट बन्चित गर्ने गरिएको बताउँदै उनले यसप्रति सबै पक्षको ध्यान जानुपर्नेमा जोड दिए। ‘हाम्रो नेपाली समाजमा छोरीचेलीलाई शिक्षामा पूर्ण अधिकार दिइदैन, यो गम्भीर विषय छ’ उनले भने  ‘छोरीचेली महिला हुन् र महिला आमा पनि हुन् । आमा शिक्षित भए सन्तान दरसन्तान शिक्षित हुने भएकाले उनीहरुलाई पूर्ण शिक्षित बनाउन सबैको ध्यान जानुपर्छ ।’

प्रतिनिधिसभा सदस्य डा.नारायण खड्का र चौदण्डीगढीका पूर्व नगरप्रमुख खगेन्द्र राईलगायतले शैक्षिक सुधारका लागि राज्यले सबै भूगोल र क्षेत्रबासीलाई समान व्यवहार गर्न माग गरेका थिए । 

काठमाडौंदेखि हवाई यात्रामार्फत विराटनगर र त्यहाँबाट सडकमार्ग भएर उनी कार्यक्रम स्थल पुगेका थिए ।  

प्रकाशित: १५ पुस २०८१ १९:४२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App