सत्तारूढ दलहरू नेपाली कांग्रेस र नेकपा (एमाले) पार्टीगत ट्रेड युनियन राख्न नहुनेमा सहमत भएका छन् ।
सिंहदरबारमा बिहीबार बसेको प्रतिनिधि सभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति बैठकमा संघीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धमा विभिन्न दलका प्रमुख सचेतक र सचेतकसँगको छलफलका क्रममा उनीहरू यसमा सहमत भएका हुन् ।
कांग्रेसका प्रमुख सचेतक श्यामकुमार घिमिरेले ट्रेड युनियनलाई पार्टीगत रूपमा राख्न नहुने सुझाव दिएका छन् । 'नेपालको कानुनले सरकारी कर्मचारीले कुनै पनि पार्टीको संस्थागत सदस्य लिन नहुने उल्लेख गरेको छ । ट्रेड युनियनलाई पार्टीगत रूपमा राख्न हुँदैन,' उनले भने ।
एउटा मात्रै आधिकारिक ट्रेड युनियन राख्नुपर्ने र अधिकृत तहभन्दा माथिका कर्मचारीलाई संलग्न गराउन नहुने उनले बताए ।
यस्तै बैठकमा एमालेका मुख्य सचेतक महेश बर्तौलाले निजामती क्षेत्रमा विभिन्न दलका फरक-फरक ट्रेड युनियनभन्दा पनि एउटै ट्रेड युनियन राख्नुपर्ने धारणा राखे । एउटै ट्रेड युनियनमा पनि अधिकृतभन्दा माथिका कर्मचारीलाई राख्न नहुने विषयमा छलफल चलाउनुपर्ने उनले बताए ।
प्रकाशित: ११ पुस २०८१ २०:३८ बिहीबार