राजनीति

कांग्रेसका नेताहरूसँग संवादमा छौँ : माओवादी नेता पौडेल

प्रमुख प्रतिपक्षी नेकपा (माओवादी केन्द्र) का नेता देवेन्द्र पौडेलले प्रमुख सत्ता साझेदार दल नेपाली कांग्रेससँग निरन्तर संवादमा रहेको बताएका छन् ।

सोमबार (आज) नागरिकसँग संक्षिप्त कुराकानी गर्दै नेता पौडेलले यस्तो बताएका हुन् । कांग्रेस र माओवादी केन्द्रका विभिन्न नेताको तहमा विभिन्न विषयहरूमा छलफल हुने गरेको नेता पौडेलको दाबी छ ।

वर्तमान सरकार धेरै दिन नटिक्ने ठोकुवा गर्दै आएका नेता पौडेलले सरकार ढाल्ने सन्दर्भमा भने आफूहरूको संवाद नभएको बताएका छन् ।

'विभिन्न संवादका क्रममा उहाँहरूलाई हामीले सरकारबारे के छ धारणा भनेर सोधेका हौँ,' नेता पौडेलले भने, 'उहाँहरूले सोचेजसरी चलेको छैन भनेर भन्नुभएको छ । तर, सरकार ढाल्नु हाम्रो प्राथमिकता होइन । यद्यपि, कसरी चलिरहेको छ भन्ने कुरा प्रमुख प्रतिपक्ष भएको हुनाले पनि जानकारीमा राख्नुपर्छ ।'

उनले वर्तमान सरकार ढाल्नका लागि माओवादी केन्द्रले केही नगर्ने बताएका छन् । 'यो सरकार ढाल्नका लागि माओवादी केन्द्रले कुनै पनि भूमिका खेल्दैन । यो सरकार आफैँ ढल्छ । सेटिङ नमिलेर सरकार ढल्छ,' उनले भने ।

वर्तमान सरकार ढलेको खण्डमा तपाईंहरू के गर्नुहुन्छ ? भन्ने जिज्ञासामा उनले भने, 'आवश्यकताअनुसार अगाडि बढ्छौँ, साना दलहरूलाई समेटेर अगाडि बढ्छौँ ।'

प्रकाशित: ८ पुस २०८१ १५:४६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App