गृहमन्त्री रमेश लेखकले आत्महत्या न्यूनीकरणमा सहयोग पुर्याउन सरकारले एप बनाउने तयारी गरेको बताएका छन्।
सोमबार गृह मन्त्रालय र काठमाडौं विश्वविद्यालयको मानसिक स्वास्थ्य विभागबीच आत्महत्यासम्बन्धी अध्ययन, अनुसन्धान, र नियन्त्रणका लागि भएको समझदारी समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले आत्महत्या न्यूनीकरणका लागि आधुनिक प्रविधिको प्रयोग गर्दै टेलिमेडिसिनमार्फत परामर्श सेवा प्रदान गर्ने र एउटा एप विकास गर्ने योजना रहेको जानकारी दिए।
गृहमन्त्री लेखकले भने, “पछिल्लो तथ्यांकले हामीलाई झस्काएको छ। मात्र २४ घण्टामा ३७ जनाले आत्महत्या प्रयास गरेका छन्। तीमध्ये ११ जनाको मृत्यु भएको छ भने बाँकी २६ जनालाई पुनः आत्महत्याको जोखिम छ। आत्महत्या न्यूनीकरणका लागि अनुसन्धान र प्रविधिको प्रयोग अत्यावश्यक छ।”
समारोहमा गृहमन्त्री रमेश लेखकले आत्महत्याको घटनामा कमी ल्याउन यो सहकार्यले महत्वपूर्ण योगदान दिने विश्वास व्यक्त गरे।
उनका अनुसार काठमाडौं विश्वविद्यालयले आत्महत्याका कारण र समाधानको उपाय पहिचान गर्न अध्ययन गर्नेछ। नेपाल प्रहरीले आत्महत्या गर्न खोजेका व्यक्तिहरूको विवरण विश्वविद्यालयलाई दिने र विश्वविद्यालयले तिनलाई मनोपरामर्श सेवा प्रदान गर्नेछ।
गृहमन्त्री लेखकले आत्महत्याका प्रयासलाई रोक्न र जोखिममा रहेका व्यक्तिहरूलाई सहयोग पुर्याउन आवधिक मूल्याङ्कन गर्न निर्देशन दिए। “प्रत्येक तीन महिनामा आत्महत्या प्रयास गरेका व्यक्तिको अवस्था, परामर्शको प्रभावकारिता, र जोगाइएका व्यक्तिहरूको विवरण मूल्याङ्कन गरिनुपर्छ,” उनले भने।
काठमाडौं विश्वविद्यालयका मानसिक स्वास्थ्य विभाग प्रमुख डा. कुँवरले सरकारले अघि सारेको यो योजना प्रभावकारी हुने विश्वास व्यक्त गरे। “टेलिमेडिसिन प्रविधिको प्रयोगले टाढाका क्षेत्रसम्म मनोपरामर्श पुर्याउन सकिन्छ। गृह मन्त्रालयसँगको सहकार्यले आत्महत्या न्यूनीकरणमा राम्रो परिणाम ल्याउनेछ,” उनले भने।
यस प्रयासअन्तर्गत, आत्महत्या नियन्त्रण र न्यूनीकरणका लागि नेपाल प्रहरीलाई आधारभूत तालिम प्रदान गरिनेछ। साथै, आगामी दिनमा आत्महत्या न्यूनीकरणसम्बन्धी सम्पूर्ण गतिविधि समेट्ने एप विकास गरिनेछ, जसले मानसिक स्वास्थ्यसम्बन्धी सेवाहरू सहज र प्रभावकारी बनाउनेछ।
गृह मन्त्रालयका विपद् महाशाखा प्रमुख डा. टोकराज पाण्डे र विश्वविद्यालयका मानसिक स्वास्थ्य विभाग प्रमुख डा. दीपक कुँवरबीच आज (सोमबार) उक्त समझदारीपत्रमा हस्ताक्षर भएको हो।
प्रकाशित: ८ पुस २०८१ १५:१७ सोमबार