ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री दीपक खड्काले लगानीको सुरक्षा र व्यवसायिक वातावरण निर्माणका लागि कानुनी जटिलता हटाउन सरकार गम्भीर रूपमा लागेको बताएका छन्।
बुटवल उद्योग वाणिज्य संघको आयोजनामा बुटवल मण्डपमा सुरु भएको २४औं औद्योगिक व्यापार मेलाको उद्घाटन गर्दै मन्त्री खड्काले निजी क्षेत्रलाई प्रोत्साहन गर्ने र कानुनी अवरोध हटाउन सरकार प्रतिबद्ध रहेको उल्लेख गरे।
उनले भने, ‘व्यवसायीहरूले ढुक्क भएर लगानी गर्न सक्नुहुन्छ, सरकारले लगानीमैत्री वातावरण बनाउन कुनै कसर बाँकी राख्ने छैन।’
कार्यक्रममा सहभागी उद्योगी व्यवसायीहरूले हालसम्म लगानीको उचित सुरक्षा नभएको र व्यवसायिक वातावरण अभावमा उद्योग व्यवसाय विस्तार गर्न कठिनाइ भएको गुनासो राखेका थिए।
मन्त्री खड्काले ती गुनासाहरूप्रति ध्यान दिँदै राजनीतिक स्थिरता कायम हुने र सरकारको पूर्ण कार्यकाल रहने विश्वास व्यक्त गरे। उनले वर्तमान सरकारको कार्यकालमा २८ हजार मेघावाट विद्युत् उत्पादन र १६ हजार मेघावाट निर्यातको लक्ष्य रहेको जानकारी दिए।
लुम्बिनी प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्कीले लुम्बिनी प्रदेशमा औद्योगिक लगानीका लागि ठूलो सम्भावना रहेको बताउँदै प्रदेश सरकारले संघीय सरकार र निजी क्षेत्रसँग सहकार्य गरेर अघि बढ्ने योजना रहेको बताए।
बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेयले स्थानीय तहले उद्योगी व्यवसायीका समस्यामा हातेमालो गर्दै समाधानका लागि साझा एजेन्डा बनाउनु पर्नेमा जोड दिए। उनले बुटवलको मुख्य सडक क्षेत्रमा भूमिगत विद्युतीकरणको व्यवस्था गर्न ऊर्जा मन्त्रीलाई अनुरोध गरे।
बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष हरिप्रसाद अर्यालले मेलाको मुख्य उद्देश्य उद्यमशीलता प्रवर्द्धन, औद्योगिक लगानीका नयाँ सम्भावनाको खोजी र रोजगार सिर्जना रहेको बताए।
‘मेलामा ५ सय स्टल छन्, १६ दिनसम्म सञ्चालन हुने यस मेलामा ५ लाखभन्दा बढी अवलोकनकर्ता आउने र १५ करोड रुपैयाँभन्दा बढीको कारोबार हुने अपेक्षा छ,’ उनले भने। मेलामा कृषि, सेवा, हस्तकला, इलेक्ट्रोनिक्स, गार्मेन्ट, होटल, अटोमोबाइल्स लगायतका १० वटा छुट्टा-छुट्टै पभिलियन रहेका छन्।
नेपाल उद्योग वाणिज्य महासंघ लुम्बिनी प्रदेश अध्यक्ष कृष्णप्रसाद शर्माले सरकार राजनीतिक स्थिरता कायम गर्न र लगानीमैत्री वातावरण बनाउन अझ प्रभावकारी कदम चाल्नुपर्ने आवश्यकता औंल्याए।
उनले भने, ‘राजनीतिक स्थायित्व र लगानीको वातावरण नबन्दा युवाहरू विदेश पलायन भइरहेका छन्, यसलाई रोक्न ठोस योजना चाहिन्छ।’
कार्यक्रममा विभिन्न संघसंस्थाका प्रतिनिधिहरूले यस्ता मेलाहरूले स्थानीय अर्थतन्त्रलाई चलायमान बनाउन महत्त्वपूर्ण भूमिका खेल्ने धारणा राखे। ‘लगानी लुम्बिनीमा, समृद्धि देशमा’ भन्ने नारासहित आयोजना गरिएको मेलाले लुम्बिनीलाई औद्योगिक हबका रूपमा विकास गर्न योगदान पुर्याउने विश्वास व्यक्त गरिएको छ।
प्रकाशित: ३ पुस २०८१ १८:४३ बुधबार