उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले उद्योगको लाइन काट्ने कुरा समस्याको समाधान नभएको बताएका छन्।
बुधबार औद्योगिक व्यापार मेला बुटवल—२०८१ को उद्घाटन गर्दै मन्त्री खड्काले यस्तो बताएका हुन्।
उनले महशुस उठाउनका लागि सरकारले जुनसुकै बाटो अपनाएर पनि उठाउन सक्ने भन्दै लाइन काटेर समस्याको समाधान नहुने बताए। उनले साथै व्यवसायीहरुको इमान्दारिताको आवश्यकता रहेको पनि बताए। उनले बिल लिने र पैसा दिने कुरालाई मुलुकमा चर्चाको विषय बनाइएको बताए। क्षणभरमा सकिने काम १० औं वर्षदेखि अल्झाएर राखिएको उनले बताए।
उनले भने, ‘लाइन काट्नेकुरा समस्याको समाधान होइन। यदी महशुस उठाउनुपर्ने कुरा हो भने उठाउनका लागि सरकारले जुनसुकै बाटो अपनाएर पनि उठाउन सक्छ । म खालि के आग्रह गर्न चाहन्छु भने व्यवसायीहरुको पनि इमान्दारिताको आवश्यकता छ । १० वर्षदेखि किन यो विषय थाँती रह्यो । आज मुलुकमा चर्चाको विषय रहेको छ । जम्माजम्मी कुरा हो, उपभोग गरेको कुरा तिर्नपर्ने । बिल लिने, तिर्ने । जम्मा यति सानो विषय १० वर्षदेखि थाँती रहेर राष्ट्रिय विषय बन्यो । संसदमा चर्चा चल्यो । अचम्म लाग्छ मलाई । व्यवसायी साथीहरुले पनि हामीले तिर्नुपर्ने यति मात्रै हो, हामीले यति मात्रै तिर्छौं, यो चाहीँ होइन है भनेको भए अझ प्रमाणित गर्न सजिलो हुन्थ्यो होला नि । त्यतातिर पनि म व्यवसायी साथीहरुको ध्यानाकर्षण गर्न चाहन्छु । प्राधिकरणको समस्या के हुन्, यसको छानविन गर्न मन्त्रालयले कमिटी नै गठन गरेको छ।’
प्रकाशित: ३ पुस २०८१ १७:१४ बुधबार