राजनीति

सबै मानिस बराबरी हुन्, जन्मँदै कोही ठुलोसानो हुँदैन: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले जातीय विभेद र छुवाछूतलाई समाजको विकासमा बाधक रहेको भन्दै यसको अन्त्यका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन्।

उनले सबै मानिस समान भएर जन्मिने भन्दै जन्मसिद्ध श्रेष्ठताको सिद्धान्तलाई पाखण्डको संज्ञा दिएका हुन्।

नेपाल उत्पीडित जातीय मुक्ति समाजको ३७औँ स्थापना दिवसका अवसरमा बुधबार आयोजित कार्यक्रममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जात, कुलघराना वा सम्पत्तिका आधारमा मानिस ठुलो–सानो हुनु मान्य नहुने धारणा राखे।

‘सबै मानिस बराबरी हुन्। जन्मँदै कोही ठुलो जात वा उच्च कुलको हुन्छ भन्ने कुरामा कुनै सत्त्य छैन,’ प्रधानमन्त्री ओलीले भने।

उनले संयुक्त राष्ट्रसंघको बडापत्र र मानवअधिकार घोषणपत्रले पनि जातीय विभेदलाई अस्वीकार गर्दै आएको उल्लेख गर्दै, समयसापेक्ष कानुनी सुधारको खाँचो औँल्याए।

‘स्टेकहोल्डर र जनप्रतिनिधिहरूको सहभागितामा जातीय छुवाछूतसम्बन्धी ऐनलाई संशोधन गरी समयानुकूल बनाउने तयारीमा सरकार छ,’ उनले थपे।

प्रधानमन्त्री ओलीले असमानता, अन्याय र छुवाछूतजस्ता प्रथाले समाजमा रहेका उत्पीडनलाई झनै गहिरो बनाउने भन्दै समानताको लडाइँलाई अन्तिम बिटमार्न सरकार कटिबद्ध रहेको बताए। ‘जातीय विभेद समाजको ऐजेरु हो। यसको फेदैदेखि उखेलेर फाल्न सरकार तयार छ,’ प्रधानमन्त्री ओलीले भने।

उनले संविधानले समाजमा सामाजिक न्याय र समानताको व्यवस्था गरेको स्मरण गराउँदै यसबारे जनचेतना जगाउन आवश्यक रहेको धारणा राखे। प्रधानमन्त्री ओलीले जातीय उत्पीडनको काँडा उखेल्ने अभियानलाई जनस्तरसम्म पुर्‍याउन सरकार लागिपरेको बताए।

प्रकाशित: ३ पुस २०८१ १५:४० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App