सप्तरीको राजविराज विमानस्थलमा रात्रिकालीन उडान शुरु भएको छ।
सोमबार राति बुद्ध एयरले काठमाडौं—राजविराज परीक्षण उडान गरेको हो। दैनिक एउटामात्रै उडान हुँदा समस्या भएको जिल्लावासीको गुनासोपछि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले रात्रिकालीन उडान शुरु गरेको हो।
परीक्षण उडानका क्रममा पर्यटनमन्त्री बद्रिप्रसाद पाण्डेसहित नागरिक उड्डयन प्राधिकरणका पदाधिकारीहरु समेत राजविराज पुगेका थिए। रात्रिकालनि उडानका क्रममा राजविराज विमानस्थलमा आयोजित एक कार्यक्रममा बोल्दै पर्यटनमन्त्री पाण्डेले राजविराज विमानस्थल रात्रिकालीन उडान शुरु गर्ने १० औं विमानस्थल भएको र राजविराज सम्पूर्ण दृष्टिकोणले अघि बढ्ने विश्वास व्यक्त गरे। उनले विमानस्थलले आर्थिक, पर्यटकीय दृष्टिकोणले पनि उज्यालो बनाउने बताए।
पोखरामा अन्तर्राष्ट्रिय उडान गर्न चाहेअनुसार नसकिएको भएपनि बिस्तारै अन्तर्राष्ट्रिय उडान गर्ने बताए। कुनैपनि विमानस्थलमा सेवा बिस्तार भएसँगै सेवाग्राहीहरु आउने र अर्थतन्त्र लगायत बहुआयामिक प्रभाव पर्ने बताए। उनले आन्तरिक विमानस्थलहरुमा सोझै यात्रा हुने किसिमले मन्त्रालयले प्रवन्ध गर्न लागिरहेको बताए।
उनले भने, ‘९ वटा एयरपोर्टमा यसअघि नै रात्रिकालीन उडान हुन्थ्यो । यो दशौँ एयरपोर्ट बनेको छ । अब राजविराज छायाँमा पर्नेछैन । यो अहिले देखिएको जुन उज्यालो छ । यो उज्यालोले राजविराजलाई पनि उज्यालो बनाउनेछ । यो एयरपोर्टलाई पनि उज्यालो बनाउनेछ । चलायमान बनाउनेछ । पोखरामा अन्तर्राष्ट्रिय उडान हामीले भनेको जस्तो गर्न सकेका छैनौँ । तर दुई लाख पर्यटक बढेर वर्षमा १० लाख पर्यटक पुगेको छ, पोखरामा । कुनैपनि एयरपोर्टमा स्वभाविक रुपमा सेवा बिस्तार भयो भने सेवाग्राहीहरु आउँछन् । यसले अर्थतन्त्र लगायत बहुआयामिक प्रभाव रहनेछन् । आन्तरिक एयरपोर्टहरुमा सोझै यात्रा हुने खालका प्रवन्धका लागि हामी लागिरहेका छौँ।’
प्रकाशित: २ पुस २०८१ ११:४७ मंगलबार