राजनीति

काठमाडौंलाई अझ समृद्ध र बस्न योग्य बनाउँछौं: मेयर शाह

काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले ७७ वटै जिल्लाका नागरिकका लागि बस्न योग्य महानगर निर्माणमा आफ्नो ध्यान केन्द्रित रहेको बताएका छन्। उनले महानगरलाई स्वच्छ, हराभरा र व्यवस्थित बनाउनुपर्नेमा जोड दिए।

तीसौँ महानगर दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले महानगरवासीलाई उत्कृष्ट सेवा दिन निरन्तर खटिरहेका सफाइकर्मी, महानगर प्रहरी, विभागीय प्रमुख, कर्मचारी, र सांस्कृतिक झाँकी प्रस्तुत गर्ने सबैलाई धन्यवाद व्यक्त गरे।

मेयर शाहले काठमाडौंलाई सांस्कृतिक, कलात्मक, र संगीतले भरिपूर्ण सहरका रूपमा परिभाषित गर्दै अझ सुसंस्कृत, समृद्ध र व्यवस्थित बनाउने प्रतिबद्धता व्यक्त गरे।

कार्यक्रममा उपराष्ट्रपति रामसहायप्रसाद यादवले महानगरपालिकाले घरआँगनमै सरकारको अनुभूति गराउँदै उत्कृष्ट सेवा प्रदान गरेको उल्लेख गरे। उनले काठमाडौंलाई संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको केन्द्रीय राजधानी र सांस्कृतिक तथा ऐतिहासिक सम्पदाको केन्द्रबिन्दुका रूपमा चित्रण गरे।

उपराष्ट्रपतिले विश्वसम्पदा क्षेत्रका सांस्कृतिक वैभव र मौलिक पहिचानको संरक्षणमा महानगरले गरेको योगदानको प्रशंसा गर्दै सहरी सुव्यवस्थापन, नदी तथा जल प्रणाली सुधार, हरियाली प्रवर्द्धन, सम्पदा संरक्षण र एकीकृत सहरी विकासलाई महत्त्वपूर्ण उपलब्धि भने।

महानगरकी उपप्रमुख सुनिता डंगोलले पूर्वाधार विकासलाई महानगरको पहिलो प्राथमिकता रहेको र समृद्ध महानगर निर्माणका लागि निरन्तर प्रयास भइरहेको बताइन्।

काठमाडौं महानगरपालिकाको इतिहासतर्फ फर्किदा, १९९६ साल पुस ३ गते स्थापना भएको सफाइ अड्डालाई २०५२ साल मंसिर २९ गते काठमाडौं महानगर घोषणा गरिएको हो।

महानगर दिवसको अवसरले काठमाडौं महानगरलाई सुसंस्कृत, समृद्ध र दिगो विकासतर्फ अघि बढाउने संकल्पलाई थप सुदृढ बनाएको छ।

प्रकाशित: २९ मंसिर २०८१ १५:५३ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App