राजनीति

पोखरा एभेन्जर्सको भ्रमणले क्रिकेटमय भक्तपुर

प्रत्येक शनिबार आन्तरिक पर्यटकले भरिने भक्तपुर दरबार क्षेत्र शनिबार भने विशेष भिडले भरियो। कारण थियो, नेपाल प्रिमियर लिग (एनपीएल) मा सहभागी पोखरा एभेन्जर्स टोलीको भ्रमण। नेपाली क्रिकेट खेलाडी कुशल भुर्तेलको नेतृत्वमा स्वदेशी तथा विदेशी खेलाडीहरूको टोलीले भक्तपुरका सांस्कृतिक सम्पदा अवलोकन गरेको हो।

टोलीमा २६ जना खेलाडी र प्रतिनिधिहरू सहभागी थिए, जसमा भारतीय र अन्य मुलुकका खेलाडीसमेत रहेका थिए। टोली साँझ ५ बजे भक्तपुर पुगेर करिब एक घण्टा दरबार क्षेत्र र प्रसिद्ध पाँचतले मन्दिर (ङातापोल) को भ्रमणमा व्यस्त रह्यो। दत्तात्रय क्षेत्र भ्रमण गर्ने योजना भए पनि समय अभावले सम्भव भएन।

टोलीलाई भक्तपुर प्रवेशद्वार ‘खौमा’ मा परम्परागत बाजागाजासहित स्वागत गरिएको थियो। नेपाली टोपी र खादा लगाइदिएर टोलीका सबै सदस्यलाई सम्मान गरिएको थियो। धिमे बाजाको तालमा टोलीलाई भक्तपुर परिक्रमा गराइँदा स्थानीय र पर्यटकहरूको उत्साह चुलियो।

नेपाली क्रिकेट खेलाडी कुशल भुर्तेललाई हर्ने आउनेहरूको भिड अझ बढ्यो। धेरैले उनको साथमा फोटो खिच्न र अटोग्राफ लिन चाहना देखाए। केहीले त आफ्नै छातीमा हस्ताक्षर गर्न लगाएका दृश्यले एकघण्टाको भ्रमणलाई रंगीन बनायो।

भक्तपुर नगरपालिका अनुसार शनिबार एकैदिन भक्तपुरमा १ लाखदेखि १.५ लाख आन्तरिक पर्यटक आउने गर्दछन्। दैनिक १ हजारभन्दा बढी विदेशी पर्यटकले पनि भक्तपुर भ्रमण गर्ने तथ्यांक नगरपालिकाले राखेको छ।

नेपाल इको प्यानलको निमन्त्रणामा आएको टोलीले भक्तपुर महोत्सव-२०८१ को प्रचारप्रसारलाई समर्थन गरेको थियो। नेपाल इको प्यानलका सिइओ इञ्जिनियर कृष्णभक्त दुवालले भ्रमणले भक्तपुरका ऐतिहासिक र सांस्कृतिक सम्पदाहरूलाई विश्वसामु चिनाउन मद्दत पुग्ने विश्वास व्यक्त गरे। महोत्सव आगामी मंसिर २८ गतेदेखि पुस २ गतेसम्म आयोजना हुने छ।

टोलीको सम्मानमा जुजु धौ (दही) लगायत परम्परागत परिकारसहित रात्रीभोजको आयोजना गरिएको थियो। पोखरा एभेन्जर्सका प्रोपाइटर मनोबल श्रेष्ठले भक्तपुरको मायाप्रति खुशी व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै माया पाउने आशा व्यक्त गरे।

नेपाल प्रिमियर लिगका खेलाडीहरूको यो सांस्कृतिक भ्रमणले भक्तपुरको पहिचान थप मजबुत बनाउने विश्वास गरिएको छ।

प्रकाशित: २२ मंसिर २०८१ २०:३१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App