धनकुटा– नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालले वैशाख ९ गते पार्टी एकता घोषणा गरेर देशलाई नयाँ युगमा लैजाने बताएका छन्।
‘विशाल जनसमुदायका बीचमा एकीकृत पार्टी घोषणा गर्नेछौं । त्यसपछि नयाँ आर्थिक विकासको युग सुरु गर्नेछौं । सामाजिक न्याय र विकास केन्द्रको निर्माण गर्नेछौं,’ अध्यक्ष दाहालले मंगलबार धनकुटाको पाख्रिबासमा प्राकृतिक स्रोत व्यवस्थापन कलेज उद्घाटन तथा भवन शिलान्यास कार्यक्रममा भने । उनले पार्टी एकीकरण घोषणाका विषयमा बुधबार प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मासँग छलफल गरी अन्तिम निर्णय गर्ने बताए।
उनले भने, ‘एक दशकभित्र नेपाललाई तीव्र विकास भएको देश बनाउन सकिन्छ । अहिले वामपन्थी सरकारले अवसर पाएको छ र यसलाई सदुपयोग गर्नुपर्छ ।’ उनले प्राविधिक, व्यावसायिक र रोजगारमूलक व्यावसायिक शिक्षा नीति कार्यान्वयन भएपछि शैक्षिक बेरोजगार अन्त्य हुने बताए । उनले भने, ‘त्यसपछि पिएचडी गरेर अपमानजनक रुपमा विदेशमा काम गर्न जाने दिन सकिनेछ।’
प्रकाशित: २८ चैत्र २०७४ ०१:१८ बुधबार