राजनीति

मौन अवधिको पूर्वसन्ध्यामा कीर्तिपुरमा तीन ठूला दलको सभा, रास्वपा कामपा १६ केन्द्रित

मंसिर १६ गते स्थानीय तह उपनिर्वाचन हुँदैछ । त्यसका लागि शुक्रबारबाट मौन अवधि सुरु हुँदैछ । अर्थात्, भोलिबाट मतदानको दिन (मंसिर १६) सम्म चुनावी प्रचारप्रसार वा घरदैलो कार्यक्रम गर्न पाइँदैन ।

त्यसको पूर्वसन्ध्यामा तीन ठूला दलहरू नेपाली कांग्रेस, नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) ले बिहीबार कीर्तिपुरमा चुनावी सभाको आयोजना गरे । 

कीर्तिपुरमा नगर प्रमुख र दुई वडाध्यक्षको निर्वाचन हुँदैछ । यसपटकको उपनिर्वाचनमा दलहरूले कीर्तिपुरलाई मुख्य मानेका छन् । सङ्घीय राजधानी काठमाडौंको नगरपालिका हुनाले पनि ठूला दलहरूले त्यसलाई प्राथमिकतामा राखेका छन् ।

आज कांग्रेसको चुनावी सभालाई पार्टी महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मालगायतका नेताहरूले सम्बोधन गरे । यस्तै एमालेको सभा सम्बोधनका लागि महासचिव शंकर पोखरेल कार्यक्रम स्थल पुगेका थिए । 

कांग्रेसको चुनावी सभा ।

माओवादी केन्द्रको सभा सम्बोधनका लागि भने अध्यक्ष पुष्पकमल दाहाल आफैँ गएका थिए । साथमा उपाध्यक्ष अग्निप्रसाद सापकोटालगायतका नेताहरू पनि सहभागी थिए ।

नगर प्रमुखमा कांग्रेसबाट कृष्णमान डंगोल, एमालेबाट सुरेन्द्र मानन्धर र माओवादी केन्द्रबाट डा. शिवशरण महर्जन उम्मेदवार छन् । सङ्गठनात्मक शक्तिका हिसाबले क्रमश:कांग्रेस, एमाले र माओवादी केन्द्र छन् ।

एमालेको चुनावी सभा ।

यसअघि कांग्रेसबाट राजकुमार नकर्मी निर्वाचित भएका थिए तर, उनको निधन भएपछि त्यहाँ उपनिर्वाचन हुन लागेको हो । कांग्रेसका नकर्मीले नौ हजार ४३ मत ल्याएर निर्वाचित हुँदा एमालेका उम्मेदवार केशरत्न बज्राचार्य पाँच हजार ५०७ मतमा सीमित थिए ।

माओवादी केन्द्रको चुनावी सभा ।

यता माओवादी केन्द्रबाट भने अहिलेकै शिवशरण महर्जन उम्मेदवार थिए । उनले दुई हजार २८० मत प्राप्त गरेका थिए । यसपटकको निर्वाचनमा कस्तो मतरिणाम आउँछ, हेर्न बाँकी छ । तर, यसपटक के भनिँदैछ भने त्यहाँ उम्मेदवारका व्यक्तित्वले पनि 'भोट प्याटर्न'मा फेरबदल आउनेछ ।

रास्वपा कामपा १६ केन्द्रित

पहिलो, दोस्रो र तेस्रो ठूला दलले कीर्तिपुरमा चुनावी सभा गरिरहँदा चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) भने काठमाडौं महानगरपालिका १६ केन्द्रित भएको छ ।

रास्वपाबाट त्यहाँ रोजिना श्रेष्ठ उम्मेदवार छिन् । रास्वपाका सबै केन्द्रीय नेताहरू वडा नं. १६ मै केन्द्रित भएका छन् । शिशिर खनाल, सोबिता गौतम, विराजभक्त श्रेष्ठ, गणेश पराजुली, असिम शाह, सुमना श्रेष्ठलगायत नेताहरू रोजिना श्रेष्ठलाई लिएर मतदाताका घरदैलो पुगिरहेका छन् ।

रास्वपाको चुनावी अभियान ।

काठमाडौं १६ मै स्वतन्त्र उम्मेदवारका रूपमा मनोनयन दर्ता गराएका प्रकाश पन्तले रोजिना श्रेष्ठलाई नै समर्थन जनाएका छन् । यसलाई रास्वपा नेताहरूले श्रेष्ठ जित्ने एउटा आधार भएको बताउन थालेका छन् ।

अघिल्लो निर्वाचनमा त्यहाँ कांग्रेसका मुकुन्द रिजाल निर्वाचित भएका थिए । उनको निधनपछि त्यहाँ उपनिर्वाचन हुन लागेको छ । कीर्तिपुमा उम्मेदवारी नदिएको रास्वपाले आफ्नो मुख्य चुनावी स्थान काठमाडौं १६ लाई बनाएको छ ।

 

प्रकाशित: १३ मंसिर २०८१ १८:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App