राजनीति

ग्रामथानको ४ मतदानस्थल सुरक्षा संवेदनशील

.

.

मंसिर १६ गते हुने मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष पदको उपनिर्वाचनका लागि तोकिएको मतदानस्थलमध्ये चार वटालाई संवेदनशील भनेर छुट्याइएको छ।

जिल्ला सुरक्षा समिति मोरङले मतदानस्थलमध्ये ४ वटालाई संवेदनशील र ८ वटालाई सामान्यको सूचीमा राखेर वर्गीकरण गरेको हो।

ग्रामथानमा १२ वटा मतदानस्थल र २९ वटा मतदान केन्द्र छन्। मोरङका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईले सुरक्षाका दृष्टिकोणले संवेदनशील र सामान्य भनेर मतदानस्थललाई वर्गीकरण गरिएको बताए। वर्गीकरण गरेको मतदानस्थलमा सुरक्षा व्यवस्था त्यसअनुरूप मिलाइने उनले बताए।

विगतका निर्वाचनमा भएका झगडा, विवाद, मतदाता र मतदान केन्द्रको संख्यालगायतलाई आधार मानेर मतदानस्थलको वर्गीकरण गरेको बताउँदै प्रजिअ भट्टराईले भने, ‘यहाँ अति संवेदनशील मतदानस्थल छैनन्। सुरक्षा दृष्टिकोणका आधारमा सबै सुरक्षा निकायबीच समन्वय गरेरै वर्गीकरण गरिएको हो। यहाँ उपनिर्वाचनका लागि एकीकृत सुरक्षा योजना बनाएर लागू गरिएको छ।’

तीन वटा वा सोभन्दा बढी मतदान केन्द्र र धेरै मतदाता रहेका मतदानस्थललाई संवेदनशीलको सूचीमा राखिएको छ। सुरक्षाका दृष्टिकोणले ग्रामथान–१ को लखन्तरीस्थित वीरेन्द्र मावि, ५ को तेतरियास्थित देवी मावि, ६ को रविहाटस्थित पब्लिक मावि र ७ को धोवियारेस्थित गणेश मावि मतदानस्थललाई संवेदनशील सूचीमा राखिएको हो।

वीरेन्द्र माविमा ३ वटा मतदान केन्द्र र २ हजार ५ सय १३ मतदाता छन्। देवी माविमा ५ वटा मतदान केन्द्र र ४ हजार ८ सय ३८ मतदाता, पब्लिक माविमा ४ वटा केन्द्र र ३ हजार ७ सय ५५ मतदाता तथा गणेश माविमा ३ वटा केन्द्र र २ हजार २ सय ५६ जना मतदाता छन्।

त्यस्तै, मतदानस्थलमध्ये ग्रामथान–१ को खुनियाकट्टास्थित बेगन आधारभूत विद्यालयमा १ केन्द्र र ७ सय ७७ मतदाता, २ को वडा कार्यालयमा २ केन्द्र र २ हजार ७२ मतदाता, २ कै झोराहाटस्थित सरस्वती माविमा १ केन्द्र र २ हजार ६२ मतदाता, ३ को भौसाबाडीस्थित राधाकृष्ण आधारभूत विद्यालयमा २ केन्द्र र १ हजार ४ सय ६ मतदाता तथा ३ कै सिद्राहास्थित वाणी माविमा २ वटा केन्द्र र १ हजार ५ सय ४७ मतदाता रहेका छन्।

त्यसैगरी, ग्रामथान–४ को लोहासुरस्थित महेन्द्र माविमा २ केन्द्र र २ हजार ८१ मतदाता, ४ कै मोतीपुरस्थित लोहन्द्रा आधारभूत विद्यालयमा २ केन्द्र र १ हजार ८ सय ९२ मतदाता तथा ७ को बनिगास्थित सरस्वती आधारभूत विद्यालयमा १ केन्द्र र ८ सय ४५ जना मतदाता छन्। ग्रामथानमा जम्मा २६ हजार ४४ मतदाता छन्।

मोरङ प्रहरी प्रमुख एसपी नारायणप्रसाद चिमरियाले आगामी उपनिर्वाचनको सुरक्षाका लागि डिएसपीकै नेतृत्वमा नेपाल प्रहरी परिचालन हुने जानकारी दिए।

उनले उपनिर्वाचनलाई लक्षित गरेर सूचना सङ्कलन गर्ने तथा त्यस अनुसारको सुरक्षा व्यवस्था मिलाउने काम भइरहेको बताए। निर्वाचनलाई शान्तिपूर्ण र भयरहित वातावरणमा सम्पन्न गर्न सबै सुरक्षा निकायबीच समन्वय र सक्रिय भएर लागेको एसपी चिमरियाले बताए।

प्रकाशित: १२ मंसिर २०८१ २०:१२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App