राजनीति

मतदातामा छैन उत्साह, चुनावी सभामा ‘बाहिरी नेता’ कै जमघट

तराईंका जिल्लामा यतिबेला धान थन्काउने चटारो छ। यही बेला सुनसरी गढी गाउँपालिका वडा नं. ६ मा मंसिर १६ गते वडाध्यक्ष पदको निर्वाचन हुँदैछ। तर, मतदातामा भने कुनै उत्साह छैन्, उनीहरू बेखरजस्तै छन्।  

***

३० वर्षे ममता साह बुधबार दिउँसो खेतमा धान काट्दै गरेको अवस्थामा भेटिइन् । साह चुनावका बेला ढोग्ने उम्मेदवारहरूले जितेर गएपछि नचिन्ने कथासँग परिचित छिन्। उनी भन्छिन्, 'नेताहरू चुनावका बेला खेतमै आएर पनि गोडा ढोक्छन् तर, चुनाव जितेर गएपछि चिन्दैनन्।’

नेताहरू घरदैलो कार्यक्रममा छन् तर, मतदाता घरमा भेटिँदैनन्। त्यसो त प्रायः यो वडामा धेरैजसो आर्थिक हिसाबले विपन्न परिवारको बाहुल्यता छ। कोही ज्याला मजदुरी त कोही सानो-तिनो व्यापार-व्यवसाय गरेर दैनिक गुजारा टादै आएका छन्। जसले गर्दा पनि उनीहरू प्राय: घरमा भेटिँदैनन् र चुनावप्रति धेरै चासो पनि राख्दैनन्।

सोही वडाकी मतदाताको चिन्ता पेटकै छ । चुनावबारेको जिज्ञासामा उनी भन्छिन्, 'हामी गरिब मान्छे काम नगरिकन खाना नै पुग्दैन, अनि चुनावको के चासो ?’   

सोही वडाकी अन्जु साह यसपटक चनाखो भएर मतदान गर्ने तरखरमा छिन् । उनको विचारमा जनताका लागि मरिमेट्ने नेता कोही छैनन् । ‘हामी अहिलेसम्म कसैले आयोजना गरेको सभामा गएका छैनौँ। कसलाई मतदान गर्ने भनेर निधो पनि गरिसकेको छैनौँ,’ उनले भनिन्, ‘यसपटक जनताका निम्ति हित चिताउने व्यक्तिलाई चुनावमा जिताउने सोच छ ।’

मतदाता घरमा नभेटिँदा चुनावी प्रचारप्रसारमा हिँड्ने उम्मेदवार र नेताहरूलाई पनि सकस छ। ‘प्रायः सबै मतदाता खेतमा मात्र भेटिन्छन्,’ गढी वडा नं. ६ एमालेका वडाध्यक्ष जितनारायण खेरवारले भने, ‘चुनावी कार्यक्रममा कमै मात्र आउने गरेका छन्।’ 

चुनावी सभामा कम मतदाता आउने गरेकोबारे बुधबार कांग्रेस र एमालेका चुनावी प्रचारमा खटिएका नेताहरूबीच कुरा हुँदै थियो। वडा नं. ६ को वडा कार्यालय अगाडि बसेर चुनावी कार्यक्रमकेन्द्रित समीक्षामा जुटेका उनीहरूको निष्कर्ष थियो- यसबेला जनताका लागि चुनावी सभाभन्दा खेतिपाती नै महत्त्वपूर्ण छ। 

२०७९ सालको स्थानीय तहको निर्वाचनमा यहाँ एमालेका षडानन्द उराव जितेका थिए । उनले ७१२ मत ल्याएका थिए। उनको निधनपछि यस वडामा पुन: चुनाव हुन लागेको हो । त्यति बेलाको चुनावमा नेकपा (माओवादी केन्द्र) का कुशेश्वर खेरवारले ४२४ मत ल्याएर दोस्रो स्थान ओगट्दा कांग्रेसका तिलेश्वर चौधरी ४१६ मतका साथ तेस्रो स्थानमा थिए।

२०७४ सालको निर्वाचनमा गढी वडा नं. ६ कांग्रेसले जितेको थियो। जसले गर्दा यसपटक कांग्रेस ‘कमब्याक’ गर्ने कसरतमा छ। एमाले आफ्नो एउटा भए पनि वडा गुम्न नदिने दाऊमा छ । जनता समाजवादी पार्टीको साथ पाएको माओवादी केन्द्र यसपटक गढी वडा नं. ६ मा जसरी पनि जित निकाल्ने योजनामा छ।  

तीन हजार ६२२ मतदाता रहेको गढी वडा नं. ६ मा यसपटक माओवादी केन्द्रबाट कुशेश्वर खेरवार नै उम्मेदवार बनेका छन्। कांग्रेसबाट तेतर साहु र एमालेबाट सन्तु उराव छन्। यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट कविताकुमारी उराव, जनमत पार्टीबाट सीताराम यादव र राष्ट्रिय स्वतन्त्र पार्टीबाट शशीकुमार साह चुनावी मैदानमा छन्।

प्रतिस्पर्धामा रहेका वडाध्यक्षका उम्मेदवारमध्ये कांग्रेस र एमालेलाई आ-आफ्नैबाट डर रहेको छ । कांग्रेसका स्थानीय नेताबीच तालमेल नभएको र एमालेमा उम्मेदवार छनोटमा असन्तुष्टि छ। दुई ठूला दलका स्थानीय नेता असन्तुष्ट हुँदा र तल्लो स्तरका सबै जनतासँग घुलमिल भएकाले गर्दा आफ्नो पक्षमा सहजै नजिता आउने माओवादी केन्द्रका उम्मेदवार कुशेश्वर खेरवारको आकलन छ।

उनी २०५४ सातमा तत्कालीन सतेरझोडा गाउँ विकास समिति हुँदा एमालेबाट अध्यक्षमा जितेका थिए।  

कांग्रेसले आफ्नो पुरानो विरासत भएको स्थान र गढी वडा नं. ६ मात्र तीन सय हाराहारी क्रियाशील सदस्य भएकाले जित्न सहज हुने आलकन गरेको छ। जिल्ला सचिव वीरेन्द्र साहको दाबी छ, 'सहजै जित्न सकिन्छ ।' एमालेका जितनारायण खेरवारले भने २०७९ सालमा एमालेका उम्मेदवारले ल्याएको मत नै अहिले जित्ने मुख्य आधार भएको बताउँछन्।    

अहिलेसम्म चुनावी सभा गर्ने दलहरूमा कांग्रेस र एमाले अगाडि छन् । कांग्रेसले बुधबार मात्र महामन्त्री गगन थापालाई डाकेर चुनावी सभा गर्‍यो । यसअघि अर्का महामन्त्री विश्वप्रकाश शर्मा, नेता विजयकुमार गच्छदार, ज्ञानेन्द्र कार्की, राजीव कोइराला, उद्वव थापा, कोशी प्रदेशका मन्त्री षडानन्द मण्डललगायतलाई डाकेर चुनावी सभा गरेको थियो।

बिहीबार अन्तिम चुनावी सभामा 'हेवी वेट' नेता बोलाउने तयारी भइरहेको नेता पोष्टकुमार नेपालले बताए ।

राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देन र नेता ज्ञानेन्द्र शाहीले चुनावी सभालाई सम्बोधन गरिसकेका छन्। यस्तै राप्रपा नेपालका कमल थापाले पनि चुनावी सभालाई सम्बोधन गरेका छन्।

माओवादी भने केन्द्रीय नेता झिकाएर चुनावी सभा गर्नुको औचित्य देख्दैन। माओवादी नेता रामकुमार चौधरी अन्तिममा सत्तारूढ दलले जनतालाई प्रभावित पार्न सक्ने चुनौती मात्रै आफूहरूका लागि गाह्रो भएको बताउँछन्।

प्रकाशित: १२ मंसिर २०८१ १९:०१ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App