राजनीति

खाँडाचक्रमा नियमविपरीतको अधिकृत जिम्मेवारीबाट हटाइए

खाँडाचक्र नगरपालिका।

कालीकोटको खाँडाचक्र नगरपालिकामा नियमविपरीत गरिएको निमित्त प्रमुख प्रशासकीय अधिकृतको नियुक्ति खारेज गरिएको छ।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आर्थिक तथा प्रशासनिक जिम्मेवारी खारेज गर्दै नगरपालिकालाई यसबारे पत्राचार गरेको हो।

मेयर कमलबहादुर शाहीले छैटौं तहका अधिकृत अविराज शाहीलाई सातौं तहमा बढुवा गरी कार्यकारीको जिम्मेवारी दिएका थिए। तर, यो निर्णय नियमविपरीत भएको भन्दै मन्त्रालयले उक्त जिम्मेवारी मंसिर ११ गतेबाट खारेज गरेको हो।

खाँडाचक्र नगरपालिकामा कर्णाली प्रदेशले स्थानीय सेवा ऐन तयार नगरेको अवस्थामा शैक्षिक योग्यता नपुगेका अविराजलाई सातौं तहमा बढुवा गरिएको थियो। प्रदेश सरकारले कार्तिक ६ गते नै स्थानीय तहलाई बढुवा नगर्न निर्देशन दिएको थियो। तर, नगरपालिकाका मेयर शाहीले कार्यपालिकाको एकल निर्णयमार्फत शाहीलाई बढुवाको सिफारिस गर्दै मन्त्रालयमा पठाएका थिए।

निवर्तमान कार्यकारी प्रबलजङ्ग शाहीले आफ्नो अनुपस्थितिको मौका छोपी अविराजले कार्यकारीको सिफारिस आफैंले गरेको आरोप लगाए। यसले न केवल आर्थिक र प्रशासनिक जिम्मेवारी खारेज गरायो, नगरपालिकाभित्रै कर्मचारी विभाजनको अवस्था पनि सिर्जना भएको छ।

समाजसेवी हिक्मतजङ्ग मल्लले प्रशासकीय अधिकृतको नियुक्तिलाई अवैधानिक ठहर गर्दै कानुनको पालना सबैले गर्नुपर्ने बताए। कर्मचारीहरूले यो विवादले प्रशासनिक कामकाजमा असर पुर्‍याएको बताएका छन्।

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले घटनालाई गम्भीर भन्दै अहिले आर्थिक तथा प्रशासनिक जिम्मेवारी मात्र खारेज गरिएको जनाएको छ। अब, कानुनी प्रक्रिया अघि बढाइने संकेत पनि गरेको छ।

मंसिर ७ गते नागरिक दैनिकमा उक्त विषयको समाचार प्रकाशन भएपछि चर्चामा आएको सो विषयलाई लिएर सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंसिर ११ गते आर्थिक तथा प्रशासनिक जिम्मेवारी रद्द सम्बन्धमा खाँडाचक्र नगरपालिकालाई पत्र पठाएको थियो।

अधिकृत छैटौं तहका अविराज शाहीको आर्थिक तथा प्रशासनिक जिम्मेवारी रद्द भएपछि आफूलाई केही थाहा नभएको र पत्रकारहरूले आफैं थाहा पाउनुपर्ने बताए। उनले आफूलाई यस्तो विषयमा नसोध्न अनुरोध गरे।

प्रकाशित: १२ मंसिर २०८१ १८:३७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App