आगामी मंसिर १६ गते ४४ पदका लागि स्थानीय तह उपनिर्वाचन हुँदैछ। जसमध्ये विशेष चर्चामा छ, काठमाडौंको कीर्तिपुर।
यहाँ पछिल्लो निर्वाचनबाट नेपाली कांग्रेसका राजकुमार नकर्मी निर्वाचित भएका थिए। तर, उनको निधन भयो । यससँगै यहाँ पनि उपनिर्वाचन हुन लागेको हो। कीर्तिपुरमा २० जनाको उम्मेदवारी दर्ता भएको छ। जसमध्ये ११ जनाको दलीय उम्मेदवारी हो भने ९ जनाले स्वतन्त्र रूपमा उम्मेदवारी दिएका हुन्।
२० जनामध्ये ४ जनाको भने विशेष चर्चा छ। नेपाली कांग्रेसका उम्मेदवार कृष्णमान डंगोल, नेकपा (एमाले) का उम्मेदवार डा. सुरेन्द्र मानन्धर, नेकपा (माओवादी केन्द्र) का उम्मेदवार प्रा.डा.शिवशरण महर्जन र स्वतन्त्र उम्मेदवार राजमान मानव विशेष चर्चामा छन्।
उनीहरू प्रचारप्रसार र घरदैलो कार्यक्रममा आक्रामक ढङ्गले लागिरहेका छन्। मतदान हुन ५ दिन मात्रै बाँकी छँदा उनीहरू बिहानदेखि रातिसम्म घरदैलो कार्यक्रममा नै भेटिन्छन्।
***
कांग्रेस उम्मेदवार कृष्णमान डंगोलको दाबी छ, 'यसपटक पनि हामी जित्छौँ, मतदाताले मलाई जिताउँछन्।'
अघिल्लो निर्वाचनमा पनि कांग्रेसले नै जितेको उल्लेख गर्दै उनी थप्छन्, 'जितेर जनताको सेवा गर्ने सोच छ, जनताले वचन पनि दिएका छन्।'
अरु उम्मेदवार पनि कमजोर देखिनुहुन्न नि ? भन्ने जिज्ञासामा उनको जवाफ छ, 'हो धेरै साथीहरू हुनुहुन्छ । तर, जित मेरै हुन्छ। म यसमा ढुक्क छु । जनताको झुकाव पनि म र मेरो पार्टी नेपाली कांग्रेसप्रति नै बढी छ।'
त्यसो त डंगोललाई अघिल्लो निर्वाचनको विरासत जोगाउनुर्ने चुनौती छ । त्यो चुनौती सामना गर्न आफू तम्तयार भएको भनाइ डंगोलको छ। 'अघिल्लो निर्वाचन पनि हामीले नै जितेका हौँ। अहिले पनि जित्छौँ। कामलाई निरन्तरता दिने दायित्व हाम्रै हो,' उनले भने।
एमाले उम्मेदवार सुरेन्द्र मानन्धर आफूले जित्नेमा ढुक्क छन्। उनले कसरी काम गर्ने भनेर कार्ययोजना नै बनाइसकेका छन्। उनको दाबी छ कि गरिएको कामको सकारात्मक परिणाम एक महिनाभित्र देखिनेछ।
'यहाँको समस्याहरू राम्रोसँग थाहा छ। खानेपानी, सडक, शिक्षालगायतकै समस्याहरू हुन्। यसमा काम गर्ने र चाँडै परिणाम दिने सोच छ,' उनले भने, 'यहाँ भनुँ कि एक महिनाभित्र कीर्तिपुरका सडकमा खाल्डो देखिने छैन।'
कीर्तिपुरलाई चिनाउनका लागि केही गर्न पाए हुन्थ्यो भन्ने सानैदेखि लागिरहेको उल्लेख गर्दै उनले दाबी गरे, 'अब आर्थिक, सामाजिक, शैक्षिक, भौतिक हरेक तवरले छोटो समयमै काम गर्ने सोच छ।'
यता माओवादी केन्द्रका उम्मेदवार प्रा.डा. शिवशरण महर्जन कीर्तिपुरका जनताले आफूलाई खोजिरहेको दाबी गर्छन्। कांग्रेस-एमालेलाई पटकपटक जिताएको तर, चाहेअनुरूप काम नगरेको गुनासो आफूलाई जनताले सुनाउने गरेको भनाइ महर्जनको छ।
'मतदाताले माओवादीलाई एकपटक हेर्नुपर्यो भनेका छन्। यसर्थ, यसपटक मेरो जित निश्चितजस्तै हो,' उनले भने।
त्यसो त सङ्गठनका हिसाबले कीर्तिपुरमा माओवादी तेस्रो हो। कांग्रेस र एमालेको सङ्गठन माओवादीको भन्दा ठूलै छ। तर, यसपटक भने जनताले सङ्गठनभन्दा पनि व्यक्ति (उम्मेदवार) हेर्ने उच्च सम्भावना रहेको जिकिर महर्जनको छ।
'यसपटक मलाई नै जिताउँछन् जनताले। घरदैलोमा पुग्दा प्रत्येक मतदाताले त्यही भन्नुभएको छ। म ढुक्क छु,' उनले भने।
स्वतन्त्र उम्मेदवार राजमान मानव उत्साहित छन् । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले पनि साथ दिँदा उनको उत्साहले आकास छोएको छ।
यसपछि घरदैलो कार्यक्रमका क्रममा मानवले हौसिँदै भन्ने गरेका छन्, 'जनताले मलाई पनि हर्क साम्पाङ जस्तै बनोस् भन्ने चाहेका छन्। म त्यस्तै बन्न पनि चाहन्छु । तपाईंहरूले साथ दिनुपर्यो।'
उनले मतदाताले राम्रो 'रेस्पोन्स' गरिरहेको बताउँछन्। 'म यहाँ सरसफाइ गर्छु। जनताले पनि त्यो मन पराउनुहुन्छ । फोहोर बढार्न थालेको ११ वर्षको हुँदादेखि हो। अझै बढार्छु। मैले जनतालाई पनि त्यही भनेको छु। उहाँहरूले शुभेच्छा दिनुभएको छ,' उनले भने, 'अब समाजका विभिन्न खाले फोहोर पनि बढार्छु।'
मानवको इच्छा छ, बढार्दै नै मर्न पाउँ ' म फोहोर देख्दा खुसी हुन्छु, बढार्न पाएँ भनेर। समाजलाई पनि सफा गर्नु छ। यो मेरो यात्रामा जनताले मलाई साथ दिन्छन् भन्नेमा ढुक्क छु। यसपटक जित मेरै हुन्छ,' उनले भने।
कसले जित्ला ?
कीर्तिपुरमा अहिले पनि पहिलो र दोस्रो पार्टी क्रमश: कांग्रेस र एमाले नै हुन् । गत निर्वाचनमा कांग्रेसका निर्वाचित मेयर राजुकमार नकर्मीले ९ हजार ४३ मत मत ल्याउँदा एमालेका केशरत्न बज्राचार्यले ५ हजार ५०७ मत प्राप्त गरेका थिए ।
यसलाई आधार मान्ने हो भने एमालेका सुरेन्द्र मानन्धरले चुनाव जित्नका लागि मेहनत गर्नैपर्ने देखिन्छ ।
माओवादी तेस्रो शक्ति हो । माओवादीबाट गत चुनावमा शिवशरण महर्जन नै उम्मेदवार थिए । त्यसबेला उनले जम्मा २ हजार २८० मत प्राप्त गरेका थिए । यसरी हेर्दा उनले अन्य दुई ठूला पार्टीका उम्मेदवार उछिन्नका लागि कडै मेहनत गर्नुपर्ने देखिन्छ ।
यद्यपि, उनलाई माधवकुमार नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) ले सघाउने भनिएको छ । तर, एकीकृत समाजवादीभित्रै यस सन्दर्भमा विवाद छ । अध्यक्ष नेपाल माओवादी उम्मेदवार महर्जनलाई समर्थन गर्ने पक्षमा रहँदा पार्टीका तर्फबाट उम्मेदवार बनेका भानु रिजाल भने चुनावी मैदानमै छन् । उनीहरूबीच विवाद नै छ ।
यता स्वतन्त्र उम्मेदवार राजमान मानवबारे यसै भन्न सकिने अवस्था छैन । अहिले उनको पक्षमा राम्रै माहोल देखिए पनि उनीसँग सङ्गठन छैन । सिर्फ धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले समर्थन जनाएका छन् । बाँकी उनको आधार देखिँदैन ।
यद्यपि, अघिल्लो चुनावमा हर्क साम्पाङसँगै बालेन शाह, गोपाल हमाललगायतको पक्षमा देखिएको 'स्वतन्त्र माहोल'को नतिजालाई भने बेवास्ता गर्न भने सकिँदैन ।
यसर्थ, अहिल्यै केही भन्न सकिने अवस्था छैन । यसका लागि चुनावी मतपरिणाम नै कुर्नुपर्छ ।
प्रकाशित: ११ मंसिर २०८१ १८:१० मंगलबार