राजनीति

रास्वपाका नेताविरुद्धको अदालतको अवहेलनासम्बन्धी मुद्दा पेसीमा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेताहरूविरूद्ध ‘अदालतको अवहेलना’ मुद्दाको आइतबार पेसी तोकिएको छ । रास्वपा उपसभापति स्वर्णिम वाग्लेसहितका नेताहरू विरुद्ध अधिवक्ता अनुपम भट्टराईले सर्वोच्च अदालतमा दर्ता गराएको निवेदनको सुनुवाइका लागि पेसी तोकिएको हो । उक्त निवेदन न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र बालकृष्ण ढकालको संयुक्त इजलासमा पेसी तोकिएको छ । 

यो मुद्दामा रास्वपाका उपसभापति वाग्ले, प्रवक्ता मनिष झा, सुमना श्रेष्ठ, अशोककुमार चौधरी, विराजभक्त महर्जन, तोसिमा कार्की, असिम शाह, गणेश पराजुली, सोविता गौतमलगायतलाई विपक्षी बनाइएको छ । निवेदनमा अदालतलाई दबाब दिने उद्देश्यले आन्दोलन गर्ने, अभिव्यक्ति दिने, र  भिडलाई उचाल्दै न्याय प्रक्रियामा अवरोध गर्न खोजिएको भन्दै आरोप लगाइएको छ । अदालतको न्याय निरूपण प्रक्रियाको उपहास गरी सभा गर्ने, न्यायपालिकाबारे तथ्यहीन र आधारहीन भ्रम फैलाउने कार्य गरी न्यायपालिकाको गरिमामाथि क्षति पुर्‍याउने काम पनि भइरहेको निवेदनमा उल्लेख छ । 

अधिवक्ता भट्टराईको यो निवेदन सुरुमा सर्वोच्च प्रशासनले दर्ता गर्न अस्वीकार गर्दै दरपिठ गरेको थियो । पछि न्यायाधीश विनोद शर्माको इजलासमा पुगेपछि निवेदन दर्ता गर्न आदेश भएको थियो ।

प्रकाशित: ९ मंसिर २०८१ १२:३१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App