राजनीति

जिससका स्थायी कर्मचारीलाई सम्बन्धित स्थानीय तहमा खटाउन निर्देशन

काठमाडौं – संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जिल्ला समन्वय समितिका स्थायी कर्मचारीलाई सम्बन्धित जिल्लाका गाउँपालिका÷नगरपालिकामा खटाउन निर्देशन दिएको छ।

मन्त्रालयले देशभरका जिल्ला समन्वय समिति र स्थानीय तहहरुलाई पत्र लेख्दै दरवन्दी भन्दा बढी भए जिल्ला समन्वय समितिका कर्मचारीलाई स्थानीय तहमा खटाउन सकिने भन्ने निर्णय भैसकेकाले आवश्यकता अनुसार कर्मचारी खटाउन निर्देशन दिएको हो।

मन्त्रालयले लेखेको पत्रमा स्थानीय सरकार शासन सञ्चालन ऐन २०७४ को दफा ८५ (३) मा स्थानीय तहमा कार्यरत स्थायी कर्मचारी सो स्थानीय तहमा स्वतः समायोजन भएको मानिने व्यवस्था भएको तथा जिल्ला समन्वय समितिका कर्मचारीलाई सम्बन्धित जिल्लाका स्थानीय तहमा खटाउन सकिने व्यवस्था भएकाले सोअनुसार कार्यान्वयन गर्न आग्रह गरिएको छ। सरकारले स्थानीय तह एवं जिल्ला समन्वय समितिको संगठन संरचना स्वीकृत गरेलगत्तै जिल्ला समन्वय समिति र स्थानीय तहमा बढी भएका कर्मचारी जिल्लाकै अर्काे गाउँपालिका÷नगरपालिकामा पठाउने बाटो खुलेको हो।

संविधानमा अनुसार सरकारले संगठन संरचना स्वीकृत गर्दा जिल्ला समन्वय समितिको संगठन सानो भएको छ । जसको कारण जिल्ला समन्वय समितिमा काम गर्दै आएका कर्मचारी दरबन्दीभन्दा बढी हुन पुगेका छन्। योसँगै अब जिल्ला समन्वय समितिमा काम गर्दै आएका कतिपय कर्मचारी गाउँपालिका वा नगरपालिकामा खटाइनेछन्।

मन्त्रालयका प्रवक्ता रुद्रसिंह तामाङले स्थानीय तह शासन सञ्चालन ऐनअनुसार जिल्ला समन्वय समितिमा दरबन्दीभन्दा बढी भएका कर्मचारी सोही जिल्लाको अर्काे स्थानीय तहमा खटाउन पत्राचार गरिएको बताए। मन्त्रालयका अनुसार कर्मचारी खटाउँदा सदरमुकामबाट सबैभन्दा बढी दूरीमा रहेका आफ्नो जिल्लाका गाउँपालिका वा नगरपालिकामा खटाउनुपर्नेछ। साथै कुनै स्थानीय तहको समेत दरबन्दीभन्दा बढी कर्मचारी भएमा आवश्यकता भएको सोही जिल्लाको अर्काे गाउँपालिका या नगरपालिकामा खटाउन सकिनेछ। मन्त्रालयले कर्मचारी खटाएपछि त्यसको जानकारी मन्त्रालयमा दिन समेत भनिएको छ। मन्त्रालयले स्थानीय तहलाई पठाएको पत्रमा  स्थानीय तहमा समायोजन भएका साविक स्थानीय सेवाका कर्मचारीलाई समायोजन भएको गाउँपालिका या नगरपालिकाको कार्यक्षेत्र भन्दा बाहिर सरुवा, काज सरुवा, वा अन्य कुनै तरिकाबाट काम गर्न नखटाउन समेत भनिएको छ।

प्रकाशित: २७ चैत्र २०७४ ०२:३१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App