राजनीति

सांसदकै लेटर हेडमा मनाङेको विज्ञप्ति: पूर्ण पाठ आएपछि आफै अदालतमा उपस्थित हुन्छु

सर्वोच्च अदालतबाट दोषी ठहर भई कैद सजाय सुनाइएका पूर्व मन्त्री राजीव गुरुङ९दीपक मनाङे०ले फैसलाको पूर्ण पाठ आएपछि आफै अदालत उपस्थित हुने बताएका छन्। शुक्रवार एक विज्ञप्ति जारी गर्दै मनाङेले यस्तो प्रतिक्रिया दिएका हुन्। 

सर्वोच्चको फैसलाले सांसद पद गुमाए पनि उनले गण्डकी प्रदेश सभा सदस्यकै लेटर प्याड प्रयोग गरेका छन्।

‘विगत केही दिनयता विभिन्न अखबार र सामाजिक सञ्जालमा मेरो विषयमा लेखिएका समाचार र टीकाटिप्पणी प्रति मेरो गम्भीर ध्यानाकर्षण भएको छ,’ मनाङेले लेखेका छन्,‘सम्मानित सर्वोच्च अदालतमा विचाराधीन मेरो मुद्राको गत कार्तिक २० गते फैसला भएको विषय मैले मेरो तर्फबाट बहस पैरवी गरिरहेका कानुन व्यवसायी मार्फत थाहा पाएको हुँ। सो पश्चात् मेरा कानुन व्यवसायीलाई फैसलाको नक्कल सार्न पठाए तर अदालतबाट फैसलाको संक्षिप्त पाठ तयार नभएको भन्ने जानकारी आयो।’

फैसला आउँदाको दिनदेखि ‘गुणस्तरहीन’ सञ्चार माध्यमबाट तारनतार आइरहेका कलहरूले गर्दा केही समयका लागि आफूले प्रयोग गर्दै आएको मोबाइल बन्द गरेको मनाङेले लेखेका छन्। ‘यही विषयलाई लिएर विभिन्न सञ्चार माध्ययमहरुमा भ्रामक समाचारहरू सम्प्रेषण भइरहेको पाएको छ। यसमा मेरो आपत्ति छ,’ उनले विज्ञप्तिमा लेखेका छन्।

सर्वोच्चबाट फैसलाको पूर्ण पाठ लिखित रूपमा प्राप्त भएपछि अदालतमा स्वयम् उपस्थित हुने मनाङेले उल्लेख गरेका छन्।

प्रकाशित: २३ कार्तिक २०८१ १३:३५ शुक्रबार

#Deepak Managa