राजनीति

एनआरएनएको आन्तरिक विषयमा परराष्ट्र मन्त्री देउवाको हस्तक्षेप, मन्त्रालयमा बैठक आब्हान

फाइल तस्वीर

परराष्ट्र मन्त्री आरजु राणा देउवाले गैरआवासीय नेपाली संघ (एनआरएनए) भित्रको लामो समयदेखि चल्दै आएको विवाद समाधानका लागि पहल गर्ने तयारी गरेकी छन्। यसै सिलसिलामा, मन्त्री देउवाले आज (बुधवार) परराष्ट्र मन्त्रालय, सिंहदरबारमा सरोकारवालाहरूसँग बैठक आयोजना गरेकी छन्। 

बैठक सर्वोच्च अदालतको गत चैत्र महिनामा भएको पहिलो फैसलालाई आधार मानेर बोलाइएको बताइएको छ। उक्त फैसलामा संघभित्रको समन्वय र सहजीकरणमा परराष्ट्र मन्त्रालयले भूमिका खेल्नुपर्ने भनिएको थियो। तर, परराष्ट्र मन्त्रालयले अदालतको दोस्रो फैसलालाई बेवास्ता गरेको भन्दै संघका केन्द्रीय पदाधिकारीहरूले असन्तोष व्यक्त गरेका छन्।

गैरआवासीय नेपाली संघका उपाध्यक्ष रामशरण सिमखडाले परराष्ट्र मन्त्रालयले बोलाएको बैठकको औचित्यप्रति शंका व्यक्त गर्दै यो बैठक संघको आन्तरिक मामिलामा अनुचित हस्तक्षेप हुनसक्ने आशंका गरे। उनले परराष्ट्र मन्त्रालयले संघको स्वायत्ततालाई सम्मान गर्नुपर्ने धारणा राख्दै बैठकको उद्देश्यप्रति गम्भीर आशंका व्यक्त गरे।

गत साउन महिनामा सर्वोच्च अदालतले गरेको दोस्रो फैसलाले परराष्ट्र मन्त्रालयलाई लेखा सम्बन्धी विषयमा मात्र संलग्न रहन निर्देशन दिएको थियो। त्यसका बावजुद मन्त्री देउवाले विवादित पक्षहरूलाई एकै ठाउँमा ल्याउन प्रयास गर्दा नयाँ विवाद र प्रश्नहरू उत्पन्न भएका छन्।

गैरआवासीय नेपाली संघका अर्का उपाध्यक्ष डा हेम राज शर्माले सर्वोच्च अदालतको पहिलो फैसला हाल पुनरावलोकनको प्रक्रियामा रहेको अवस्थामा, सोही फैसलालाई आधार बनाएर बोलाइएको बैठकमाथि कानुनी प्रश्न उठ्न सक्ने तर्क गरे। उनले गैरआवासीय नेपालीहरूको विषयमा परराष्ट्र मन्त्रालयले देखाएको चासो सकारात्मक भए पनि, संघका आन्तरिक विषयहरूमा भन्दा विदेशमा रहेका नेपालीहरूको समस्यामा केन्द्रीत भएर मन्त्रालयले छलफल अघि बढाउनुपर्ने सुझाव दिए।

सर्वोच्च अदालतको दोस्रो फैसलाले वर्तमान अध्यक्ष डा बद्री केसीको कार्यसमितिलाई वैधानिकता प्रदान गरेको थियो। तर, मन्त्री देउवाले केही कर्मचारी र नेपाली कांग्रेसका कार्यकर्ताहरूको दबाबमा सर्वोच्चको पहिलो फैसलालाई आधार बनाउँदै संघको ८१ औं बैठकको निर्णयअनुसार गठित उच्चस्तरीय समितिका सदस्यहरूलाई बैठकमा बोलाएकी छन्।

यस समितिमा संघका अध्यक्ष डा बद्री केसी, संस्थापक अध्यक्ष डा उपेन्द्र महतो, पूर्वअध्यक्षहरू शेष घले, जीवा लामिछाने, देवमान हिराचन, भवन भट्ट, कुमार पन्त,  यस्तै, एनआरएनए अभियान्ताहरू  रामप्रताप थापा, विनोद कुँवर, उमेश कुमार पुडासैनी, जानकी गुरुङ, रविना थापा, र कुल आचार्य रहेका छन्।

प्रकाशित: २१ कार्तिक २०८१ ०८:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App