राजनीति

माओवादी केन्द्रले काठमाडौंमा आज विरोध सभा गर्दै

प्रमुख प्रतिपक्षी दलनेकपा माओवादी केन्द्रले आज राजधानीमा प्रदर्शन गर्दै छ। भ्रष्टाचार नियन्त्रण र सुशासनको माग गर्दै माओवादीले काठमाडौँमा सरकारविरुद्ध खबरदारी सभा गर्न लागेको हो। 

ओली नेतृत्वको सरकार असफल भएको निश्कर्ष निकालेको माओवादीले सभा मार्फत सरकारका कमजोरी औंल्याउने जनाएको छ। विरोध सभाका लागि नेतृत्वले बिहान ११ बजे सुन्धारामा भेला हुन कार्यकर्तालाई निर्देशन दिएको छ।

 काठमाडौँ मलमा जम्मा भएर  बाजा, झाँकीसहितको  सुरु हुने जुलुस रत्नपार्क, बागबजार, प्रदर्शनी मार्ग हुँदै भृकुटीमण्डपमा पुगेर खबरदारी सभामा परिणत हुने माओवादीले जनाएको छ। 

खबरदारीसभाका सबै जनवर्गीय संगठनलाई कार्यकर्ता ल्याउन उर्दी जारी गरिएको छ। माओवादीका अनुसार आजको सभामा उपत्यका भित्रबाट मात्रै कार्यकर्ता ल्याइने छ। 

सभामा ३० हजार कार्यकर्ता सहभागी गराउने माओवादीले दाबी गरेको छ। सभालाई अध्यक्ष पुष्पकमल दाहालले सम्वोधन गर्नेछन्। सरकारले सय दिन पुर्याउन्जेलसम्म चुप रहेको माओवादी लगत्तै प्रदर्शनमा उत्रिएको हो। 

प्रमुख प्रतिपक्षीका रूपमा माओवादीले खबरदारी नगरे सरकारले नागरिकलाई झनै निराश बनाउने देखिएकाले  विरोध सभा गर्नु परेको उपाध्यक्ष अग्नी सापकोटाले बताए।  राष्ट्रिय सार्वभौमिकता, भौगोलिक अखण्डता, स्वाधीनता र राष्ट्रिय हितको रक्षा एवं प्रवर्द्धनका लागि समेत सरकारलाई खबरदारी गर्न सभा गर्नु परेको सापकोटाको भनाइ छ।

तिहार छठ पर्वपछि देशै भर सभा गर्ने माओवादीले जनाएको छ।  

प्रकाशित: १० कार्तिक २०८१ ०८:२८ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App