राजनीति

सिंहदरबारले मधेसको विकास चाहेन : उपेन्द्र यादव

रौतहट– संघीय समाजवादी फोरम नेपालका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले सिंहदरबारले मधेसको विकास नचाहेको आरोप लगाएका छन्। रौतहट क्षेत्र नम्बर ४ को (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित शेख अबुल कलाम आजादलाई पार्टी प्रवेश गराउँदै नेता यादवले विकासको पर्याप्त सम्भावना भएको मधेसलाई सिंहदरबारले आवश्यक बजेट नदिएको र मधेसको राजस्व लिएर उचित सम्मान नगरेकोले मधेस पछाडी परेको तर्क गरेका हुन्।

देशको सबैभन्दा बढी भ्रष्टाचार र बेरोजगारी प्रदेश २ मा रहेको बताउँदै गरिबी र अशिक्षा पनि प्रदेश २ मा नै बढी सिंहदरबारकै कारण हो भन्ने आरोप नेता यादवले लगाए। मधेसको विकासलाई आफ्नो देशको विकास सिंहदरबारले नमानेकोले मानवीय सूचकांकको सम्पूर्ण आधारमा मधेस पछाडि परेको उनको आरोप छ।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रदेश २ का मुख्यमन्त्री महम्मद लालबाबु राउतले साँसद कलामको फोरममा भएको प्रवेशले सरकार बलियो भएको बताएका छन्। नवप्रवेशी साँसद र सयभन्दा बढी नवप्रवेशीलाई पाटीृमा स्वागत गर्दै मुख्यमन्त्री राउतले हरेकलाई उचित स्थान र सम्मान दिने बताए। मुख्यमन्त्री राउतले प्रदेशमा कुनै पन किसिमको भ्रष्टाचार हुन नदिने प्रतिबद्धतालाई दोहो-याए। विकासको रकमलाई भ्रष्टाचार गर्नेलाई सरकारले नछोड्ने उनको चेतावनी छ। 

प्रदेश २ सरकारमा कृषि, सहकारी तथा भूमिसुधार राज्यमन्त्री योगेन्द्र यादवले ऐतिहासिक समनपुरको विकासको लागि प्रदेश सरकारले सक्दो प्रयास गर्ने बताए। दुई दशकभन्दा लामो समयसम्म नेपाली काँग्रेसका रहेर राजनीति गरेका प्रदेश सभा सदस्य आजादले आफू चार महिनादेखि राजपामा प्रवेशको लागि वार्ता गरिरहेको तर ६ दलको ६ अध्यक्षको भनाइ ६ किसिमको हुने गरेको अवस्थामा आफ्नो सम्मान नगरेको आरोप लगाए। गत स्थानीय तहको निर्वाचनमा राजपाको टिकटबाटै गढीमाई नगरपालिकाको मेयरको प्रत्याशी रहेका आजादले समावेशी स्वरुपको संघीय समाजवादी पार्टीमा आफू प्रवेश गरेको दाबी गरे।

प्रकाशित: २४ चैत्र २०७४ १२:३२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App