राजनीति

नेसपाको विधान अधिवेशन पोखरामा सुरु

भ्रष्टाचार अन्त्यका लागि बलियो संस्था आवश्यक : डा.भट्टराई

नेपाल समाजवादी पार्टी (नेसपा)को विधान अधिवेशन पोखरामा शुरु भएको छ । पोखरामा सुरु भएको नेसपाको प्रथम महाधिवेशनको पूर्व प्रधानमन्त्री तथा नेसपा महाधिवेशन मूल आयोजक समितिको संयोजक डा.बाबुराम भट्टराईले उद्घाटन गरे ।

विधान अधिवेशनको उद्घाटन गर्दै पूर्व प्रधानमन्त्री डा.भट्टराईले भ्रष्टाचार अन्त्यका लागि संस्था बलियो हुनुपर्ने बताएका छन् । संस्था बलियो नहुँदा देशमा भ्रष्टाचार घट्नुको सट्टा झन् बढ्दै गएको उनले बताए । भ्रष्टाचारबारे छानविन गर्ने एउटा बलियो संस्था आवश्यक रहेको उनको भनाई थियो । त्यसले मात्र भ्रष्टाचार नियन्त्रण गर्न सक्ने उनले बताए । अहिलेको अवस्थामा कोहि व्यक्ति कुनै पदमा पुग्दैमा भ्रष्टाचार रोक्न नसक्ने उनले दाबी गरे । 'वर्तमान अवस्थामा कुनैपनि विर पुरुष आएर, कुनैपनि महानेतृत्व आएर देशमा भ्रष्टाचार रोकिनेवाला छैन । संस्थाहरु हाम्रा कमजोर छन्, विधिको शासन कमजोर छ, हाम्रो अर्थतन्त्र कमजोर छ, त्यसैले संस्था नै बलियो निर्माण गरेर जानुपर्छ,’ उनले भने ।

 उनले भ्रष्टाचार गर्दिन र गर्नपनि दिन्न भन्ने नेताले नै ठूलठूला भ्रष्टाचार गरिरहेको आरोप लगाए । नाम नलिई प्रधानमन्त्री केपी शर्मा ओलीतर्फ ईंगित गर्दै उनले भने, 'मुखले म भ्रष्टाचार गर्दिन र गर्नपनि दिन्न भन्ने तर ठूलठूला भ्रष्टाचार आफैले गर्ने, भ्रष्टाचारीलाई खुलमखुल्ला संरक्षण गर्ने प्रवृत्ति देखिन्छ ।’ उनले आफ्नो पर्‍यो भने संरक्षण गर्ने तर फरक पार्टीको पर्‍यो भनेचाहिं समातेर भ्रष्टाचारको मुद्धा लगाउने भइरहेको उनले बताए । यस्तो प्रवृतिले सुशासन कायम नहुने उनले बताए ।

डा.भट्टराईले आफू भने कुनैपनि काण्डमा नपरेको दाबी गरे । आफू भ्रष्टाचार वा कुनैपनि काण्डमापनि नमुछिएको तथा राम्रो गर्न खोज्दा झन् किनारामा पर्दै गएको गुनासो गरे । उच्च ओहोदामा बसेका राजनीतिक नेताहरुको छानविन हुनुपर्ने भन्दै उनले भने, 'त्यो छानविन मबाटै शुरु होस् । राजनीतिक नेतृत्वमा भएका कारण कसैलेपनि छुट पाउनु हुँदैन ।’

डा.भट्टराईले देश यस्तै अवस्थामा रहिरहे संकटमा फस्ने चेतावनी दिए । देशमा वैदेशिक हस्तक्षेप र चलखेल भइरहेको भन्दै उनले भने,'तिनै विदेशीले अहिले लोभीपापी नेताहरुलाई कहिले कुन शक्ति त कहिले कुन शक्तिले प्रयोग गरिरहेका छन् । उनीहरुले कहिले जातिय, कहिले क्षेत्रीय त कहिले के नाममा समाज विभक्त गर्नेछन् र तिनै नेताहरुलाई प्रयोग गरेर देशलाई संकटमा फसाउँछन् ।’

पूर्व प्रधानमन्त्री डा.भट्टराईले आफू सोझो हुँदा दुःख पाएकोसमेत बताए । माओवादी होस् वा मधेशवादी पार्टीसँग एकता गरेर जाँदा होस् आफू दोश्रो भएर अरुलाई सघाईरहँदा उनीहरुबाट सँधै धोका पाएको उनले बताए । मधेशवादी साथीहरु, आदिवासी, जनजाति साथीहरुलाईपनि अगाडि बढाएर आफू दोश्रोमै बस्ने प्रयास गरेँ,उनले भने, 'तर मलाई सँधै धोका भयो । यसले गर्दा आम पार्टी पंक्तिमा बाबुरामले पार्टी बनाउन सक्दैन कि भन्ने भ्रम हुन पुग्यो । तर त्यस्तो अवस्था होईन ।’ उनले सिद्धान्त, बिचार र नेतृत्व राम्रो भएकाले पार्टी ठूलो बन्ने भन्दै त्यसका लागि संकल्प गरिएको बताए ।

मंगलबारसम्म चल्ने विधान अधिवेशनले नया विधान पारित गर्ने बताइएको छ । नया विधानमा यसअघि रहेको संघीय परिषद खारेज गर्ने डा.भट्टराईले जानकारी दिए । वैकल्पिक राजनीतिक शक्ति निमार्णको औचित्य र बैचारिक आधार, बैकल्पिक शक्तिको मूल बैचारिक–राजनीतिक प्रतिबद्धता, बैकल्पिक शक्तिको संगठनात्मक सिद्धान्त र प्रतिवद्धताहरु, आर्थिक विकास तथा समृद्धिको अवधारणा, लक्ष्य र नीतिहरु, लोकतन्त्रको समृद्धीकरण, सुशासन, सुरक्षा तथा अन्तर्राष्ट्रिय सम्बन्ध र नयाँ बैकल्पिक शक्ति निर्माण र समुन्नत समाजवादको अपरिहार्यता लगायतका बिषयमा अधिवेशनमा छलफल हुने उनले बताए । विधान अधिवेशनमा देशका सतहत्तरै जिल्लाका चार सय प्रतिनिधि सहभागी रहेको जनाइएको छ ।

प्रकाशित: ५ कार्तिक २०८१ १९:५६ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App