राजनीति

सरकार परिवर्तन अहिले होइन, ८४ सालको दसैंपछि: प्रधानमन्त्री

प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकार २०८४ सालको निर्वाचनसम्म कायम रहने दाबी गरेका छन्।

दशैंपछि सरकार परिवर्तन हुने भन्ने अफवाह फैलाइएको भन्दै उनले त्यस्ता भ्रममा नपर्न सबैलाई आग्रह गरे। ६९ औं प्रहरी दिवसको अवसरमा बुधबार काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले २०८४ सालको दशैंपछि मात्रै सरकार परिवर्तन हुने स्पष्ट पारे।

प्रधानमन्त्री ओलीले आफ्नो दुई वर्षे कार्यकाल पूरा भएपछि कांग्रेस सभापति शेरबहादुर देउवालाई सत्ता हस्तान्तरण गर्ने प्रतिवद्धता दोहोर्‍याए।

उनले देउवाको नेतृत्वमा चुनावी सरकार गठन हुने र निर्वाचन सम्पन्न भएपछि मात्र नयाँ सरकार बन्ने उल्लेख गरे। त्यसअघि कांग्रेस-एमाले गठबन्धनको सरकार कायमै रहने उनले दाबी गरे। साथै, वर्तमान सरकार दुई-तिहाई बहुमतको रहेको भन्दै त्यसलाई कमजोर ठान्न नहुने चेतावनी पनि दिए।

प्रधानमन्त्री ओलीले संविधान र लोकतान्त्रिक प्रणालीको रक्षा गर्दै अगाडि बढ्नुपर्नेमा जोड दिए। उनले संविधानमा जनतामा सार्वभौमसत्ता रहेको र जनता नै शक्तिको स्रोत भएको प्रस्ट पार्दै भने, "लोकतन्त्रको मामिलामा कुनै सम्झौता हुन सक्दैन। लोकतान्त्रिक प्रणालीमार्फत जुनसुकै परिवर्तन सम्भव छ। चुनावमार्फत जनताले सरकार परिवर्तन गर्न सक्छन्, तर अलोकतान्त्रिक बाटोबाट परिवर्तन अस्वीकार्य छ।"

दशैंपछि तुरुन्तै सरकार परिवर्तन हुने भन्ने अफवाहप्रति प्रतिक्रिया जनाउँदै ओलीले भने, "कुन दशैंपछि सरकार परिवर्तन हुन्छ ? २०८४ सालको दशैंपछि मात्र चुनावी सरकार गठन हुनेछ, त्योभन्दा पहिला होइन। मैले पहिले नै भनेको छु, शेरबहादुरजीलाई सत्ता हस्तान्तरण गर्नेछु। त्यसपछि चुनाव उहाँको नेतृत्वमा हुनेछ। चुनावपछि जनताले निर्वाचित गरेको सरकार आउनेछ।"

प्रधानमन्त्री ओलीले वर्तमान शासन प्रणालीको कुनै विकल्प नभएको पनि बताए। उनले नेपाल प्रहरीले राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा पुर्‍याएको योगदानको प्रशंसा गर्दै प्रहरीको महत्वपूर्ण भूमिका रहेको उल्लेख गरे।

प्रकाशित: ३० आश्विन २०८१ १९:०२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App