राजनीति

पार्टी कार्यालय राजनीतिक दलहरुले आफ्नै स्रोतबाट निर्माण गर्नुपर्छ: महामन्त्री शर्मा

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पार्टी कार्यालय राजनीतिक दलहरुले आफ्नै स्रोतबाट निर्माण गर्नुपर्नेमा जोड दिएका छन्।

उनले सत्ता साझेदार दल नेकपा एमालेको पार्टी कार्यालय निर्माणका लागि व्यवसायी मिनबहादुर गुरुङले दिएको ठूलो सहयोगप्रति गम्भीर प्रश्न उठाउँदै एमालेले यसको जवाफ दिनुपर्ने बताए।

महामन्त्री शर्माले व्यवसायीहरुले राजनीतिक दललाई सानो सहयोग गर्न सक्ने भए पनि एक अर्बभन्दा बढीको सहयोगले गम्भीर आशंका पैदा गरेको स्पष्ट पारे। उनका अनुसार यो विषयले दल र निजी क्षेत्रको सम्बन्धका सिमाना र मर्यादा माथि गहिरो छलफलको खाँचो देखिएको छ।

उनले भने, "राजनीतिक दलको कार्यालय आफैं पार्टीका नेता तथा कार्यकर्ताले निर्माण गर्दा अपनत्वको भावना बढ्छ।"

शर्माले एमाले अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले आफैं उपस्थित भएर एमालेको नयाँ केन्द्रिय कार्यालयको शिलान्यास गर्नुका साथै गुरुङले एक अर्ब रुपैयाँको जग्गा दान गरेर भवन बनाइदिने घोषणा गर्दा राजनीतिप्रति प्रश्न उठेको बताए।

"यो केवल एमालेको प्रश्न होइन, समग्र राजनीतिप्रतिको प्रश्न हो। हामी कस्तो राजनीति बनाउँदै छौं ? कस्तो राजनीतिक दल चाहन्छौं ?" उनले थपे।

व्यवसायीले साना रकम सहयोग गर्न सक्ने भए पनि ठूलो रकमको सहयोगले राजनीतिक दलहरुको स्वायत्तता र निजी क्षेत्रको भूमिकामा आशंका उत्पन्न गराउन सक्ने महामन्त्री शर्माको भनाइ छ।

उनले राज्य र निजी क्षेत्रको सहकार्य मुलुकको उन्नति र विकासको लागि महत्त्वपूर्ण भए पनि राजनीतिक दलहरुले पार्टी कार्यालय निर्माण आफैंले गर्नुपर्नेमा जोड दिए।

दशैंको नवमीका दिन प्रधानमन्त्री ओलीले एमालेको नयाँ कार्यालयको शिलान्यास गरेका थिए थियो भने व्यवसायी गुरुङले १० रोपनी १४ आना जग्गा दान गर्नुका साथै भवन निर्माणको जिम्मा लिने घोषणा गरेका थिए।

यस घटनाले एमाले भित्रै असन्तोष उत्पन्न गराएको र धेरै नेताहरुले उक्त जग्गा फिर्ता गरेर आफैं कार्यालय निर्माण गर्नुपर्ने माग गरिरहेका छन्।

प्रकाशित: ३० आश्विन २०८१ १५:५२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App