राजनीति

ऋणी नै नभएकी लीला पक्राउ रविलाई भने उन्मुक्ति!

सहकारीबाट ऋण लिएर कम्पनी सञ्चालन गर्ने, सहकारीकै पैसाले सेयर लिने र सहकारीबाट गोर्खा मिडिया नेटवर्क प्रालिका नाममा आएको करोडौं रूपैयाँ खर्च गर्ने राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का अध्यक्ष रवि लामिछानेलाई अनुसन्धान नगरी कहीँकतै ऋणी नदेखिएकी एक महिलाई भने प्रहरीले थुनामा राखेको छ।

कास्की प्रहरीले सूर्यदर्शन बचत तथा ऋण सहकारीको बचत रकम एक महिलाको खातामा गएको भन्दै तिनलाई अनुसन्धानका लागि असोज १४ गते नियन्त्रणमा लिएको हो। तर सोही प्रकरणमा मुछिएका रवि लामिछाने भने सहकारी ठगी नभएको बताउँदै उन्मुक्त भएर हिँडिरहेका छन्।

लामिछाने सञ्चालक रहेको गोर्खा मिडिया नेटवर्क प्रालिले सहकारी रकम डुबाएको प्रमाणित भइसकेको छ। रवि स्वयंले गोर्खा मिडिया नेटवर्कमा गएको रकमको हिस्साको जिम्मेवारी लिने बताइरहे पनि प्रहरीले उनलाई छुन सकेको छैन। बरु उनले प्रहरी महानिरीक्षकले नै ‘क्लिन चिट’ दिइसकेको भन्दै चुनौती दिँदै हिँडिरहेका छन्।आफूलाई ठग प्रमाणित गर्न उनले चुनौती दिँदै आएका छन्।

सूर्यदर्शन सहकारीको रकम अपचलनमा संलग्न रहेको आरोपमा गुल्मी मुसिकोट घर भई हाल ललितपुर बस्ने ३२ वर्षीया लीला पछाईलाई पक्राउ गरेर कास्की प्रहरीको हिरासतमा राखिएको छ। उनी सहकारीकी ऋणी भने होइनन्। रवि लामिछानेकै जस्तो आरोप पनि उनीमाथि छैन। लीलाले सहकारीको रकमबाट ऋण लिएर कम्पनी खोलेको र अपचलन गरेको पनि देखिँदैन। लामिछानेले जस्तो करोडौंको चेक काटेको पनि देखिँदैन। सहकारीको खाताबाट उनको बैंक खातामा रकम ट्रान्सफर भएकै कारण उनलाई पक्राउ गरेर राखिएको छ।

लीलाको खातामा तीन करोड गएको देखिएकाले पक्राउ गरिएको प्रहरीको दाबी छ। कास्की प्रहरीले जारी गरेको विज्ञप्तिमा उनलाई अनुसन्धानका क्रममा नियन्त्रणमा लिइएको उल्लेख छ। तर कास्की प्रहरी लामिछानेको विषयमा भने मौन छ।

सहकारी संस्था बचत रकम दुरुपयोगसम्बन्धी विशेष छानबिन समितिको प्रतिवेदन–२०८१ ले गोर्खा मिडिया नेटवर्कमा सहकारीको रकम लगिएको र त्यो रकम सहकारीमा फिर्ता नभएको भन्दै त्यसका अध्यक्ष गीतेन्द्रबाबु (जिबी) राई, सञ्चालकहरू कुमार रम्तेल, तत्कालीन प्रबन्ध निर्देशक तथा सञ्चालक रवि लामिछाने र सञ्चालक छविलाल जोशीलाई कारबाही सिफारिस गरिएको छ। जोशी पक्राउ पनि परिसकेका छन्। उनी पक्राउ परेपछि लामिछानेले आफू पनि पक्राउ पर्न सक्ने भन्दै आफ्ना कार्यकर्तालाई प्रतिवाद गर्न आग्रह गरेका थिए।

सांसद सूर्य थापा नेतृत्वको विशेष छानबिन समितिले सहकारीबाट गोर्खा मिडियामा आएको रकममा जिम्मेवार ठहर गर्दै उनीहरूलाई करबाहीका लागि सिफारिस गरेको हो। ‘सहकारी संस्थामा रहेको बचतकर्ताको रकम अनियमित तवरबाट गोर्खा मिडिया नेटवर्क प्रालिका खातामा आइसकेपछि उक्त रकम खर्च गर्ने, गराउने प्रक्रियामा संलग्न रहेको देखिन आएबाट निज सञ्चालकहरू अध्यक्ष गीतेन्द्रबाबु राई र सदस्य कुमार रम्तेल तथा तत्कालीन प्रबन्ध निर्देशक रवि लामिछाने र सञ्चालक छविलाल जोशी कम्पनीमा साझेदारका रूपमा बहाल रहेको अवधिमा सहकारीबाट कम्पनीमा आएको रकमको हकमा जिम्मेवार रहेको हुँदा प्रचलित कानुनबमोजिम कारबाहीका लागि नेपाल सरकारलाई सिफारिस गर्ने,’ समितिले भनेको छ।

त्यसक्रममा जोशी पक्राउ परिसकेका छन्। असम्बन्धित ती महिला पनि पक्राउ परेकी छन् तर लामिछाने भने आफू ठग नभएको भन्दै कार्यकर्तालाई प्रतिकार गर्न आह्वान गरिरहेका छन्। कास्की प्रहरी स्रोतले दिएको जानकारीअनुसार पक्राउ परेकी लीला पछाई जिबी राईको एक कम्पनीमा सामान्य कर्मचारी थिइन्। तर लीलाका नाममा सहकारीबाट तीन करोड रकम गएको देखेपछि प्रहरीले बयानका लागि पोखरा बोलाएको थियो।

सहकारीबाट गैरकानुनी रूपमा जिबीसँग मिलेमतो गरी बैंक खातामा लगेको खुलेपछि प्रहरीले बयान दिन आएकी लीलालाई पक्राउ गरेको जनाइएको छ। यद्यपि उनका नाममा ऋण देखिँदैन। ‘अनुसन्धानका क्रममा सामान्य कर्मचारीको खातामा तीन करोडभन्दा बढी रकम गएको देखिएपछि बयान लिन पोखरा बोलाएका थियौं। सहकारीको रकम अध्यक्ष जिबीसँगको मिलोमतोमा हिनामिना गरेको आशंका छ,’ एक प्रहरी अधिकारीले भने।

अनुसन्धानका क्रममा उनी जिबीकी नजिकको र विश्वासिलो कर्मचारी भएको खुल्न आएको छ। लीलाका नाममा पोखरामा दुईवटा घरसमेत रहेको बताइए पनि प्रहरीले अहिले नै यसै भन्न नसकिने जनाएको छ।

जिल्ला सरकारी वकिल कार्यालयले एक अर्ब ११ करोड १९ लाख ४३ हजार ४५ रूपैयाँ अपचलन भएको भन्दै जिबी राईसहित १९ जनाविरुद्ध गत वर्षको असोज १८ गते मुद्दा दर्ता गराएको थियो। पोखरा महानगरपालिकाको विज्ञ टोलीले तयार गरेको प्रतिवेदनले भने सहकारीमा १८ हजार सात सय बचतकर्ताको एक अर्ब ३५ करोड ५३ लाख ५४ हजार आठ सय ९८ रूपैयाँ बचत रहेको उल्लेख गरेको थियो।

प्रहरीले लीलालाई प्रतिवादी बनाउने वा नबनाउने भन्ने विषयमा केही जनाएको छैन। गोर्खा मिडिया नेटवर्क प्रालिका नाममा पोखराको सूर्यदर्शन मात्र होइन, काठमाडौंको स्वर्णलक्ष्मी, बुटवलको सुप्रिम, चितवनको सहरा सहकारीबाट समेत रकम गएको थियो। गोर्खा मिडियामा गएको रकम हिनामिना गर्ने क्रममा अधिकांश चेक रवि लामिछानेकै एक हस्ताक्षर प्रयोग भएको सहकारी संस्था बचत रकम दुरूपयोगसम्बन्धी विशेष छानबिन समितिको प्रतिवेदन–२०८१ ले आफ्नो प्रतिवेदनमा उल्लेख गरेको छ।

प्रकाशित: २२ आश्विन २०८१ ०६:५३ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App